
झापा । झापाका कतिपय स्थानमा गएराति भारी वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति २ बजेपछि हावाहुरी, मेघगर्जन र चट्याङसहित भएको वर्षाले सामान्य क्षति समेत गरेको छ ।
बिहानपख सुख्खा जमिनमा जमेको पानी अहिले साँझसम्म सुकेको छैन । महाशाखाको रेकर्ड अनुसार झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको छ। धुलाबारी क्षेत्रमा सोभन्दा बढी नै पानी परेको छ । त्यसको रेकर्ड जल तथा मौसम विज्ञान विभागसँग छैन । यद्यपि, सो क्षेत्रमा ८० मिलिमिटरभन्दा बढी नै वर्षा भएको अनौपचारिक रेकर्ड छ ।
पानी पार्ने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै अहिले कोशी प्रदेश पुगेको छ । आगामी तीन दिनसम्म मौसममा फेरबदल भइरहेने महाशाखाले जनाएको छ ।
एक्कसी परेको पानीका कारण आफूले थोरै ठाउँमा लगाएको मकैमा क्षति पुगेको मेचीनगर नगरपालिका (१० निन्दाटोलका रामचन्द्र फुयाँलले बताउनुभयो । उहाँ लगाएको मकै बारीमा अहिले पनि पानी जमिरहेको छ । पानी जमेको ठाउँको मकै घाम लाग्ने बित्तिकै काम नलाग्ने हुने उहाँले बताउनुभयो ।
उहाँका छिमेकी दीपेन्द्र कन्दङ्वाले आफ्नो मकैबारीमा जमेको पानी नाली काटेर हटाइएको सुनाउनुभयो। बारीमा लगाए फर्सी, भिन्डी लगायतका तरकारी पानीले डुबाएको उहाँहरुको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पूर्वका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसँगै पानी परिरहेको छ । यो हप्ताभरिनै मौसममा सुधार नआउने भएकाले मकै, गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन विभागले भनेको छ ।
नेपालको आकाशमा सक्रिय रहेको प्रणाली शनिबारसम्म देशभर फैलिएर जाने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । प्रि–मनसुनयाममा अहिले कतिपय स्थानमा उल्लेख्य वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दुधे ( माइधार बीचमा केहीबेर सवारी आवागमन अबरुद्ध भएको थियो । निर्माणाधीन एसियन हाइवेमा निर्माण गरिएको डाइभर्सन भत्कदा सवारी आवागमन बन्द भएको हो । तत्काल डाइभर्सन बनाएर सवारी सुचारु गरिएको सडक निर्माण कम्पनीले जनाएको छ ।
मेचीनगर -१० को ढाट क्षेत्रमा डाइभर्सन बिग्रदा अपरान्ह सवारी साधनको लाइन नै लागेको थियोे । स्काभेटर प्रयोग गरेर डाइभर्सन मर्मतपछि सवारी साधन सुचारु गरिएको छ। झापाका कतिपय स्थानमा भीषण वर्षा भएपनि कतिपय स्थानमा छारो मर्ने मात्रै पानी परेको छ । झापामा खण्डवृष्टि भएको हो ।
झापा बाह्रदशीका भीम राजवंशीले सो क्षेत्रमा खासै पानी नपरेको बताउनुभयो । 'कतैकतै त ठूलो पानी पर्यो रे१ हाम्रोतिर त त्यसरी पानी परेन' उहाँले भन्नुभयो, 'मैले त पानी परेको बिहान उठ्दा मात्रै थाहा पाएँ ।'
झापाको मौसम अहिले पनि पूर्णरूपमा सफा छैन । आंशिक बदली भएको अवस्था छ। दिनभर खासै घाम लागेन। राति मेघगर्जन, चट्याङ र हावाहुरीसँग पानी पर्ने चिन्ता स्थानीयमा कायमै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच