काठमाडौं । सत्ता साझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति देखिएको आक्रोशले सरकारको आयुबारे विभिन्न आशंका उत्पन्न भए । कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सुरुदेखि नै कांग्रेस-एमालेबीचको सत्ता साझेदारीप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको थियो । कोइरालापछि महामन्त्री विश्वप्रकाश शर्मा पनि एकपछि अर्को गर्दै सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभयो । कांग्रेसमा पहिलो वरीयताका महामन्त्री गगन थापा भने एमाले अध्यक्ष ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार सफल बनाउन निरन्तर लागिरहनुभयो । महामन्त्री थापा सरकारका काम कारबाही प्रभावकारी बनाउने भन्दै गठन गरिएको कांग्रेस-एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यसमेत हुनुहुन्छ । महामन्त्री थापाले सत्ता सहकार्यमा देखिएका असमझदारी हटाउन निर्णायक भूमिकासमेत निर्वाह गर्नुभएको थियो । तर, पछिल्लो समय महामन्त्री थापा नै प्रधानमन्त्री ओली र सरकारका काम कारबाहीप्रति रुष्ट बनेपछि सरकारको आयुबारे आशंका उत्पन्न हुन थाल्यो । कांग्रेसभित्रको असन्तुष्टि र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिएपछि सत्ता राजनीतिक थप शंकास्पद बन्न पुग्यो ।
सरकारविरुद्ध सत्ता साझेदार दल कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूबाट आक्रोशयुक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीले बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभयो । तर, बैठकमा कांग्रेसबाट संयन्त्रको संयोजक रहनुभएका उपसभापति पूर्णबहादुर खड्का र सदस्यसमेत रहनुभएका महामन्त्री गगन थापा अनुपस्थित हुनुभयो । सरकारको आलोचना गरिरहेका नेताहरू नै सहभागी नभएपछि बैठक नै बिथोलियो । यद्यपि, संयन्त्रको बैठकले सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुनै असमझदारी नभएको निष्कर्ष निकालेको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक नै प्रभावित भएपछि सरकार ढल्ने आशंकाले थप मलजल पायो । खड्का र थापाको अनुपस्थितिले संयन्त्रको बैठक प्रभावित भएपछि कांग्रेस सभापति देउवासमेत झस्किन पुगेको कांग्रेस नेताहरूको भनाइ छ ।
भोलिपल्ट बिहानै सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको आफ्नै निवास बूढानीलकण्ठमा संयुक्त बैठक बोलाएर एमालेसँगको सत्ता सहकार्यमा देखिएका समस्याहरूबारे छलफल गर्नुभयो । बैठकबाट पनि सभापति देउवाले केही महत्वपूर्ण सन्देश दिनुभयो । देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पूर्वपदाधिकारीले भन्नुभयो, ‘अलिअलि समस्या सत्ता सहकार्यमा पक्कै देखियो । तर, समस्यालाई सच्याएर जानुपर्छ । यसैकारण सरकार तलमाथि हुँदैन ।’ सभापति देउवाले सत्ता सहकार्यमा देखिएको समस्याबारे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीसँग कुरा भइरहेको जानकारीसमेत दिनुभयो । विशेषगरी महामन्त्रीद्वय थापा र शर्माले उठाएका एजेण्डाहरू सम्बोधन गर्नेगरी ओलीसँग सहमति भएको सभापति देउवाले बैठकमा ब्रिफिङ गर्नुभएको थियो ।
मंगलबार प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको थियो । उक्त भेटमा गभर्नर नियुक्ति, नेपाल प्रहरीको एआइजी बढुवालगायत राजनीतिक निर्णयमा सहमति जुटेको सभापति देउवाले बैठकलाई जानकारी गराउनुभयो । राजनीतिक नियुक्तिहरूसहित महत्वपूर्ण विषयलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्नेलगायत काम हुनेमा पनि सभापति देउवाले नेताहरूलाई आश्वस्त पार्नुभएको थियो । पदाधिकारी बैठकमा महामन्त्री थापा र शर्माले पनि सरकारको विकल्प खोज्ने नभएर गति बढाएर लैजानुपर्ने तर्क गर्नुभएको थियो । तर, सरकार टिकाउने नाममा गलत निर्णयहरूमा कांग्रेसले सहमति जनाउन नहुने प्रस्ताव राख्दै महामन्त्री शर्माको तर्क थियो, ‘हामीले सरकारको विकल्प खोजेको होइन । तर, सरकार सञ्चालनमा कमजोरी देखियो, त्यसलाई सच्याएर सरकारलाई सफल बनाउने भन्ने हो ।’ शर्माको प्रस्तावमा महामन्त्री थापाले पनि सहमति जनाउनुभयो । नेताहरूको कुरा सुनेपछि देउवाले देखिएका समस्याहरू समाधान गरेर जानुपर्ने निष्कर्ष सुनाउनुभयो । बैठकमा सभापति देउवाले सत्ता सञ्चालनमा देखिएको समस्या समाधान गर्दै सत्ता सहकार्यप्रति शंका उत्पन्न हुन दिन नहुने प्रष्ट सन्देश दिनुभयो । बैठकपछि पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले विपक्षी दलका नेता प्रचण्डले बोल्दैमा सरकार बन्ने र ढल्ने नहुने निष्कर्ष सुनाउनुभयो ।
कांग्रेस सभापति देउवाको पहलकदमी र निर्णयबाट एमाले नेताहरू भने ढुक्क देखिएका छन् । हुन त सभापति देउवाले निर्णय नफेरेसम्म कांग्रेसको निर्णय नबदलिने आन्तरिक शक्ति समीकरण छ । एमाले नेताहरूका अनुसार मंगलबारको ओली र देउवाबीचको संवादले सत्ता सहकार्यमा देखिएका शंका मेट्ने काम भएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटवार्तालगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको हल्ला आजदेखि समाप्त भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको थियो । महासचिव पोखरेलको दाबी छ, ‘दुई दलबीचको सहकार्य अत्यन्तै बलियो छ भन्ने कुरा स्थापित गरेको छ ।’ एमालेसँगको सात बुँदे सहमतिपछि प्रधानमन्त्रीमा देउवा आफ्नो पालो पर्खेर बस्नुभएको छ । तर, प्रधानमन्त्री ओलीको पालो अझै १४ महिना बाँकी हुँदा समीकरणमाथि नै प्रश्न उठ्न थालेपछि देउवाले सरकारबारे अनावश्यक टिप्पणी नगर्न नेताहरूलाई निर्देशन दिनुभएको हो ।
सरकार परिवर्तनको हल्ला असत्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । शुक्रबार चितवनमा प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरू एकसाथ मिलेर वर्तमान सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको जिकिर गर्दै भन्नुभयो, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरूपमा लागेका छौँ । तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । सबै मिलेर देश बनाऔँ ।’ वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार हामीले केही भनिरहनु पर्दैन यो स्थिर छ । यसले स्थायित्व दिएको छ र दिनेछ । यो धेरै भनिरहनु पर्दैन, कसले के भन्छ भन्ने कुरा छोडिदिनुस् । नेकपा एमाले र नेपाली कांग्रेस यो देशका सबभन्दा पुराना, संघर्ष गरेका, योगदान गरेका, बलिदान गरेका, सबभन्दा ठूला र इतिहास बोकेका पार्टीहरू संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन र देशको विकास गर्न एक भएका हुन् ।’
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताउनुभएको छ । गृहमन्त्री लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्नेक्रममा गृहमन्त्री लेखकले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न निर्देशन दिँदै भन्नुभयो, ‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैहृय हुन सक्दैन । क्षम्य हुँदैन । त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस् ।’ गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने स्पष्ट पार्दै भन्नुभयो, ‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्री सम्मको विरोध गर्न पाइन्छ तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन । च्यात्न पाइँदैन । फाल्न पाइँदैन ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच