
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख गर्दै समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था रहेको उल्लेख गर्नुभएकाे छ ।
उहाँले प्रधानमन्त्रीसँगको भेटमा शिक्षकका मागका विषयमा दृढता र शिष्टतापूर्वक आफ्ना कुरा राखे पनि परिस्थिति सकारात्मक बन्न नसकेको जनाउनु भएकाे छ। सुवेदीले आफूहरू एकदुई सानातिना मागहरूको लेनदेन गरी फर्किने आन्दोलनमा नआएको स्पष्ट पार्दै विगतका सहमती सम्बोधन हुने ऐन नै मूल्य लक्ष्य रहेको बताउनुभएकाे छ ।
उहाँले आजको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँगको भेटमा भएका सबै कुरा सार्वजनिक गर्ने उल्लेख गर्दै मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहने सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्नुभएकाे छ । अध्यक्ष सुवेदीले शुक्रबार राति ९ बजेपछि प्रधानमन्त्री ओलीसँग दुई घण्टा चलेको भेटवार्तामा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा महासंघको तर्फबाट धारणा राखिएको बताउनुभएकाे छ ।
उक्त भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उहाँको भनाइ छ । यस्तै शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री र सभामुखसँगको भेटमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी हुनुहुन्थ्याे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच