
काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार बिहान साढे ९ बजेदेखि सुरु हुनुपर्ने खेलमा टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले एक अंक बाँडेका छन् । यससँगै नेपाल र अफगानिस्तानको चार खेलबाट चार अंक रहृयो । तर, नेट रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको छ । यसअघि दुवै टोलीले युएई, हङकङ र ओमानलाई पराजित गरेका थिए ।
नेपालले युएईलाई पाँच रन, ओमनलाई आठ विकेट र हङकङलाई नौ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान आठ विकेट र युएईलाई १८० रनले पराजित गरेको थियो । आफ्ना पछिल्ला तीनवटा खेलमा विजयी भएका दुवै टोली शनिबार आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर, मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो । योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा स्थान बनाएको छ । प्रतियोगिताको च्याम्पियन बनेको अफगानिस्तानलाई ट्रफी हस्तान्तरण गरिएको छ ।
नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक मोडमा आइपुगेका थिए । नेट रनरेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो । नेपाल, ओमान, युएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउण्ड रोबिनका आधारमा भइरहेको छ र विजेता टोली आइसिसी यू-१९ विश्वकपमा पुग्ने प्रावधान थियो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आइसिसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा युएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिताअघि नेपाल र अफगानिस्तान यू-१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान दुई-एकले विजयी भएको थियो ।
अहमदजाई ‘प्लेयर अफ द टुर्नामेन्ट’
आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्रको छनोट प्रतियोगिताको ‘प्लेर अफ द टुर्नामेन्ट’ अफगानिस्तानका खालिद अहमद हुनुभएको छ । उहाँले प्रतियोगिताभर सर्वाधिक २०२ रन बनाउनुभयो । खालिद अफगानिस्तानका दायाँहाते ब्याटर हुनुहुन्छ ।
सपना थियो, भाग्यले साथ दिएन : प्रशिक्षक गौचन
नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेको तर भाग्यले साथ नदिँदा पूरा हुन नसकेको बताउनुभएको छ । शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन,’ उहाँले भन्नुभयो ‘जीवन यस्तै हो, कहिले सुख हुन्छ, कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’ त्यस्तै, शक्तिले अफगानिस्तानसँगको खेलमा उच्च मनोबलका साथ खेलेर जित निकाल्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो ।
‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेका थियौं, हराउन सक्छौं भन्ने थियो,’ उहाँले भन्नुभयो, ‘बिहान पानी परेर रोकिएपछि पनि खेल भएमा खेलेर जित्छौं भन्ने थियो ।’
खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका थिए । खेल रद्द भएपछि समर्थकले क्यान, एसिसी र आइसिसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका थिए । समर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो । त्यसपछि प्रहरीहरूले होहल्ला गर्ने समर्थकहरूलाई विस्तारै मैदानबाट बाहिर पठाएका थिए ।
फाइनल खेल नहुनु दुःखद भयो : कप्तान भट्ट
नेपाली यू-१९ टोलीका कप्तान नरेन भट्टले फाइनलमा पुगेर पनि खेल्न नपाउनु दुःखद भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘टिम राम्रो थियो, हामी जित्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा थियौं । तर, वर्षा हाम्रो हातभन्दा बाहिरको कुरा रहृयो । फाइनल खेल्न पाइएन यो दुःखद हो ।’ टिमका खेलाडीले क्याम्पदेखि राम्रो प्रदर्शन गर्दै आएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्याम्पदेखि नै सबैले राम्रो गरिराखेका थिए । यसअघिका खेलमा राम्रो प्रदर्शन गरिरहेका थियौं । एकदम टिम राम्रो थियो । तर, फाइनल खेल्न पाइएन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच