
काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले आज (आइतबार)देखि घरेलु भूमिमा बंगलादेशसँग पाँचदिवसीय शृंखला खेल्ने भएको छ । अखिल नेपाल कबड्डी संघ (एएनकेए)ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै बंगलादेशसँग नेपालको पाँचदिवसीय शृंखला खेल्ने घोषणा गरेको हो । वैशाख १२ गते शुक्रबारसम्म हुने शृंखलाका खेलहरू सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा हुने भएका छन् ।
कबड्डी संघका महासचिव अरविन्दकुमार झाले कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा बंगलादेशसँग शृंखला खेल्न लागेको उल्लेख गर्नुभयो । नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ । नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो । त्यतिबेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक हात पारेको थियो । त्यसपछि पहिलोपल्ट बंगलादेशसँग नेपालले खेल्न लागेको हो ।
बंगलादेश कबड्डी संघसँग हरेक वर्ष तीनवटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ । यसअघि नै नेपाली पुरुष टोलीले भने बंगलादेश भ्रमण गरिसकेको छ । उक्त पाँच खेलको शृंखलामा बंगलादेशले चार-एकको जित निकालेको थियो । यस शृंखला एसिया कबड्डी महासंघको मान्यतामा हुन लागेको हो । कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट शृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले जनाएको छ ।
संघले पछिल्लो दुई वर्षयता नियमित रूपमा नेपाली पुरुष र महिला कबड्डी टोलीलाई मूलपानीमा बन्द प्रशिक्षणमा राखेको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ । नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारीमा पनि छ । यसैको तयारी स्वरूप नेपालले बंगलादेशसँग शृंखला खेल्न लागेको हो । उक्त शृंखलाको पहिलो खेल वैशाख ७ गते, दोस्रो वैशाख ८ र तेस्रो खेल वैशाख ९ गते हुनेछन् । त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ । वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ । शुक्रबार संघले पत्रकार सम्मेलनमाफ्त् आगामी एक वर्षका लागि सञ्चारकर्मी तथा मोडल विभूषा बस्नेतलाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच