
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रशस्त सम्भावना र वातावरण रहेको बताउनुभएको छ । कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ढकालले भन्नुभयो, ‘नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रूपमा लिने गरिएको पाइन्छ । विदेशमा बसेर विदेशको विकास र प्रविधि देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरूलाई भन्न चाहन्छु । यदि साँच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।’ आफू बागलुङबाट आएर मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको उदाहरण दिँदै उहाँले मिहिनेत, लगनशीलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि भएको बताउनुभयो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले कम्पनीमार्फत् लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभयो । कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको जानकारी गराउँदै त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा गैरआवासीय नेपालीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले बागलुङबाट कतारमा रहेका बागलुङवासीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा विशेष धन्यवाद दिँदै कोषमा १५ लाख रुपैयाँ सहयोगको घोषणासमेत गर्नुभयो । कार्यक्रममा बागलुङबासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच