
काठमाडौं । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना लगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाले सरकारको ध्यान बिजुली बजारतिर केन्द्रित गराएर मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रदर्शन गरेको छ । राप्रपाले वर्तमान व्यवस्थाविरुद्ध काठमाडौंको बिजुली बजारमा प्रदर्शनको स्थान तय गरेको थियो । तर, सरकारी सुरक्षा संयन्त्रलाई छक्याएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्र तोड्ने भनी घोषित आन्दोलनका क्रममा सरकारको ध्यान बिजुलीबजार, बानेश्वरतर्फ केन्द्रित गराएर राप्रपा नेताहरूले सिंहदरबारभित्रै पम्प्लेटसहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर बानेश्वर प्रवेश गर्ने आशंकाका बीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर, शीर्ष नेताहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरे ।
आइतबार दिउँसो करिब १ बजेतिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतले आफूहरूलाई कार्यालयबाट बाहिर निस्किन नदिइएको सूचना बाहिर ल्याएका थिए । त्यतिबेला शाहीसहित सांसदहरू धु्रवबहादुर प्रधान, दीपकबहादुर सिंह र विना जैसवाल संसदीय दलको कार्यालयमा थिए । आन्दोलनको दिन भएकाले सिंहदरबारभित्र र बाहिर दुवैतिर सुरक्षा तैनाथी बढाइएको थियो । राप्रपा संसदीय दलको कार्यालयभित्रै प्रहरी प्रवेश गरेको थिएन । ज्ञानेन्द्र शाही र प्रहरी अधिकारीबीच केहीबेर कुराकानीपछि अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू सिंहदरबार छिरेका थिए । संसदीय दलको कार्यालयमा केही समय बसेपछि उनीहरू निर्वाध ढंगले कार्यालयबाट निस्किएर सिंहदरबारको बाहिर निस्किने गेटतर्फ लागेका थिए । त्यसैक्रममा सिंहदरबारभित्रै नेताहरूले पम्प्लेट झिकेर देखाउन थाले । अध्यक्ष लिङ्देनले ‘तीनकुने घटनाको न्यायिक छानविन आयोग गठन गर्’ भन्ने नारा लेखिएको पम्प्लेट बोक्नुभएको थियो । बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दीपक सिंह लगायतले पनि पम्प्लेट निकालेर देखाए ।
निषेधित क्षेत्रमा राप्रपा नेताहरूले देखाएको पम्प्लेट प्रहरीले तत्कालै खोसेर च्यातेको थियो । त्यसपछि उनीहरूलाई सिंहदरबार गेटबाटै प्रहरी नियन्त्रणमा लिइयो । नियन्त्रणमा लिने क्रममा केही नेताले गणतन्त्रविरोधी नारा लगाएका थिए । प्रहरीले नियन्त्रणमा लिनुअघि लिङ्देनले सरकारको नजिकै गएर सुनाउनका लागि सिंहदरबारभित्रै प्रदर्शन गरिएको प्रतिक्रिया दिनुभयो । हुन त राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेको थियो । त्यसपछि शनिबार गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर निषेधित क्षेत्र तोडेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । राप्रपाका नेताहरू पक्राउका सम्बन्धमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहोराले भन्नुभयो, ‘पर्चा–पम्प्लेट वितरण र नाराबाजी गर्न खोजेपछि नियन्त्रणमा लिएका हौँ ।’ पक्राउ परेका तीन नेता लिङ्देन, तामाङ र शाहीलाई प्रहरी परिसर भद्रकालीमा राखिएको थियो । प्रहरीले राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई पनि पक्राउ गरेको छ । डिएसपी हरि खतिवडा नेतृत्वको टोलीले सिंहदरबार परिसरबाट कटुवाललाई पक्राउ गरेको हो । कटुवाल प्रदेश-१-०२७ च ९८६२ नम्बरको गाडीमा थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ । डिएसपी खतिवडाको टोलीले घेराबन्दी गरेर कटवाललाई पक्राउ गरेका हुन् ।
राप्रपाका नेता तथा कार्यकर्ताहरूले बानेश्वर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरानजिक पुगेर कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न सचेत गराएको थियो । निषेधित क्षेत्र तोडेमा कारबाही गर्ने प्रहरीको चेतावनीपछि प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गरेका थिए । राप्रपा नेताहरूले सामूहिक गिरफ्तारी दिने बताए पनि प्रदर्शन क्षेत्रमा शीर्ष नेताहरू देखिएनन् । नेता विक्रम पाण्डे नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म पुगे पनि लगत्तै फर्किनुभएको थियो । प्रदर्शनमा शीर्ष नेताहरू नदेखिएको भन्दै प्रदर्शनकारीहरू असन्तुष्ट देखिएका थिए ।
सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको प्रतिक्रिया दिनुभएको छ । सिंहदरबारबाट प्रहरीले पक्राउ गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘सरकारले बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने, स्वाभाविक अधिकारलाई खुम्च्याउँदै लगेको छ । र, जनताबाट सरकार झन् झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ । त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरौँ भनेर हामीले प्रतिकात्मक रूपमा कार्यक्रमको आयोजना गरेका छौँ ।’ उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणाको रिहाइको मागसमेत गर्नुभयो । लिङ्देनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया जनाएपछि सिंहदरबार गेटमा नाराबाजीसमेत गर्नुभएको थियो । सरकारले निरंकुश शैली अपनाएको आरोप लगाउँदै पक्राउ परेपछि लिङ्देनले भन्नुभयो, ‘निरंकुश सरकारले गर्ने यही काम हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण छैन । हामी सबै थुनिन तयार छौँ ।’
सिंहदरबारबाटै निषेधित क्षेत्र तोडेर देखायौँ : सिंह
प्रतिनिधिसभा सांसदसमेत रहनुभएका राप्रपाका नेता दीपक सिंहले आफूहरूले सिंहदरबारमै निषेधित क्षेत्र तोडेर देखाएको बताउनुभएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सिंहदरबारभित्रै प्रदर्शन गर्नुभएका सिंह पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुग्नुभएको थियो । बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनबाट सिंहले भन्नुभयो, ‘हामीले अस्ति नै भनिसकेका थियौँ, निषेधित क्षेत्र तोड्छौँ । हामीले त प्रधानमन्त्री बस्ने कार्यालय, गृहमन्त्री बस्ने कार्यालय, सिंहदरबारबाट तोडिकन देखाइदिएका छौँ ।’ विद्यमान व्यवस्थाविरुद्ध आयोजना गरिएको प्रदर्शन पार्टी उपाध्यक्ष विक्रम पाण्डेले बिजुली बजारमा सम्बोधन गर्दै समापन गर्नुभएको थियो । प्रदर्शन समापन गरेर उपाध्यक्ष पाण्डेसहितका नेताहरू सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदलाई छुटाउने पहल गर्ने भन्दै प्रहरी परिसर भद्रकालीतर्फ लागेका थिए ।
सडकमा दंगा टोली
राप्रपाको प्रदर्शनलाई लक्षित गरी आइतबार सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान भएका थिए । उक्त सडकमा ब्यारिकेड राखेर बाटो बन्द गरिएको थियो । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएको थियो । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको थियो । सिंहरदबारभित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गरिएको थियो ।
आन्दोलनले सर्वसाधारणलाई सास्ती
नेपाल शिक्षक महासंघ र राप्रपाको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा प्रदर्शन गरेपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको थियो । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरूको आन्दोलनसँगै आइतबार राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन थप जटिल बनेको हो ।
राजतन्त्रबारे स्टाटस नहटाउने रास्वपा लुम्बिनी प्रदेश सभापतिको अडान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिनुभएको छ । रास्वपाका नेताहरूका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर केन्द्रीय नेताहरूले पाठकलाई फोन गरेका थिए । फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा लेखेको र नहटाउने जवाफ दिएको नेताहरूको भनाइ छ । लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले रास्वपाभित्र तरंग पैदा गरेको छ । पाठकले केही दिन अगाडि राजतन्त्रको विरासत छोरा वा छोरी जो भए पनि राजा वीरेन्द्रको वंशभित्र रहनुपर्ने भनेर फेसबुकमा लेख्नुभएको थियो । नेताहरूका अनुसार रास्वपा नेतृत्वले राजतन्त्रलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक नगर्दा समस्या भएको छ । पछिल्लो समय राजावादीहरूले आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् । रास्वपाको नेतृत्व राजावादीको गतिविधिप्रति मौन रहँदै आएको छ ।
गणतन्त्र खतरामा छ भन्ने भाष्य बनाउन खोजियो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि कुनै किसिमको खतरा नरहेको दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र सुदृढ हुँदै गएको जिकिर गर्दै भन्नुभयो, ‘गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन । गणतन्त्र खतरामा परेको भाष्य नै ठिक छैन । जनमत गणतन्त्रकै पक्षमा रहेकोले आत्तिहाल्नुपर्ने अवस्था छैन । शनिबारको बैठकमा प्रधानमन्त्रीज्यूले गणतन्त्रका विषयमा कुरा उठाउनुभएको हो । गणतन्त्रका विषयमा कसैको दुई मत छैन, पहिलादेखि नै सहमति छ । गणतन्त्र खतरामा छ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरा छ भन्ने देखिँदैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच