
काठमाडौं । “यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ ।
एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न खोजिएको भने होइन । अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको जोखिम पनि बढ्दै गइरहेको छ । विगतका अनुभवहरुका आधारमा सम्भावित महामारीको विश्लेषण यहाँ गर्न खोजिएको हो ।
डेङ्गु
केही दिनअगाडि समकक्षीहरुसँग बसिरहेको बेला लामखुट्टे अघिपछि गरिरहेको थियो । मनसुन भित्रिसकेको त छैन तर लामखुट्टे सक्रिय हुनु केही अस्वाभाविक तर बढी चिन्ताको विषय भने पक्कै मान्नु पर्दछ । स्मरण रहोस्, सन् २०१९ मा धरानमा डेङ्गु अचानक फैलँदा नेपालमा मनसुन प्रवेश गरिसकेको अवस्था थिएन । अर्थात् त्यो बेला बेमौसमी झरी पर्दा लामखुट्टेको अस्वाभाविक वृद्धि अनि एकपछि अर्काे जिल्ला हुँदै डेङ्गु अन्तत्वोगत्वा काठमाडौंसम्म आइपुग्दा काठमाडौंवासीले पहिलोपटक डेङ्गुको ठूलो चुनौतीको सामना गर्नु परेको थियो । आधिकारिक तथ्याङ्कलाई हेर्ने हो भने हाल केही वर्षयता लगभग १२ महिनाजसो डेङ्गु देखिन थालेको छ ।
ठूलो र लामो महामारीको रुप लिने हो भने मनसुन सुरु भएदेखि नै डेङ्गु फैलन थाल्ने गरेको अनि कुनै निश्चित ठाउँमा प्रकोपको रुप लिँदा भने ‘पोष्ट मनसुन’ अर्थात् दसैँ-तिहार पछि डेङ्गु देखिने गरेको लेखकको अनुभव छ । सन् २०२२ मा डेङ्गुले काठमाडौंमा विनाशकारी महामारी निम्त्याएको थियो । यो सन् २०१९ पछि तीन वर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो महामारी थियो । नेपालको तथ्याङ्कलाई हेर्ने हो भने दुईदेखि तीन वर्षको अन्तरालमा डेङ्गुले प्रकोप/महामारीको स्वरुप लिने गरेको छ । प्रत्येक महामारीसँगै भाइरसको सङ्क्रामकता, आक्रमकता र जटिलता पनि बढ्दै गएको देखिन्छ । यसर्थ पनि अब काठमाडौंमा डेङ्गुले कुनै पनि समयमा नयाँ महामारीको लहर निम्त्याउन सक्ने प्रबल सम्भावनालाई नकार्न सकिँदैन । र, त्यो विगतको भन्दा अझ बृहत् नहोला भन्न सकिँदैन । तर, दुर्भाग्य नै भन्नुपर्छ कि हामीले अझ पनि डेङ्गु रोक्ने उपायहरुलाई गम्भीरताका साथ लिने वा नियन्त्रणका लागि पर्याप्त प्रयास गरेको भने देखिँदैन ।
स्क्रब टाइफस
यो रोग ‘ओरिएनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो चिगर माइट नामक किर्नाको टोकाइका कारणबाट हुने कीटजन्य रोग हो । सन् २०१५ मा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसले भएको प्रमाणित भएपछि यसले नेपालमा विशेष चर्चा पाएको हो । कतिपयले २०७२ सालको भूकम्पले गर्दा यो रोग फैलिएको/देखिएको भने तापनि यो ब्याक्टेरिया दुई दशकअगाडि नै नेपालमा देखिइसकेको अध्ययन-अनुसन्धानहरुले देखाएका छन् । तर, धरान घटनाअगाडिसम्म स्क्रब टाइफस नियमित परीक्षणमा समावेश नहुने हुँदा यसको अवस्थाका बारेमा सन् २०१५ अगाडि अनभिज्ञ नै देखिन्छ ।
नेपालमा बर्सेनि विशेष गरेर मनसुन ‘सिजन’मा स्क्रब टाइफसको सक्रियता बढी देखिने गरेको अस्पताल तथ्याङ्कहरुले देखाउँछन् । केहीको उपचारमा ढिलाइ हुँदा वा उपचारका क्रममा मृत्युसमेत हुने गरेको देखिन्छ । विशेषतः गाउँघरतिर अथवा वनजङ्गल जाँदा (घाँसदाउरा काट्न जाँदा) अथवा पछिल्लो समय शहरमा हाइकिङमा जाने बढ्दो प्रचलनले पनि स्क्रब टाइफसको जोखिम बढेको देखिन्छ । कुनै कारणले अग्ला वा ठूला झाडीमा वा घाँसेमैदानको सम्पर्कमा आउँदा मानिसमा चिगर माइट टाँसिने अनि त्यसले टोक्ने गर्दछ र स्क्रब टाइफस रोगको सम्भावना बढेर जाने गर्दछ । अहिले पनि धेरैले ज्वरोलाई बेवास्ता गर्दा स्क्रब टाइफसले जटिल अवस्था लिएको देखिन्छ । स्क्रब टाइफससम्बन्धी जानकारीलाई अझै प्रभावकारी रुपमा प्रचार गर्नुपर्ने खाँचो छ ।
हैजा
दुई दशकअगाडि काठमाडौंमा हैजाका बिरामी नियमित जस्तो देखिन्थे । नियमित मात्र होइन मनसुन सुरु भएसँगै अस्पताल नै भरिभराउ हुने गर्दथ्यो । घण्टा बित्न नपाउँदै ४०/५० जना अस्पताल भर्ना हुन आउने गरेको लेखकको अनुभव छ । हाल त्यो भयावह अवस्था छैन तर हैजालाई नेपालमा इतिहासमा सीमित राख्न सकेको अवस्था पनि छैन । काठमाडौंमा अहिले पनि हैजा नियमित जस्तो देखिने गरेको पाइन्छ । केही वर्षपहिले हैजाका कारणले नवलपरासीमा केही बिरामीको मृत्यु भएको थियो । हैजा कडा भएको अवस्थामा पनि तुरुन्तै उपचार पाए मृत्युको सम्भावनालाई घटाउन सकिन्छ । तर, भौगोलिक रुपमा विकट एवं दुर्गम ठाउँहरुमा जटिल प्रकृतिको हैजा देखिए त्यसबाट व्यक्तिको मृत्यु पनि हुने सम्भावना रहन्छ । किनभने त्यस्ता ठाउँबाट बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म समयमा ल्याउन कठिन हुने गर्दछ । जस्तै, सन् २००९ को अप्रिल-जुलाई महिनामा जाजरकोटमा १११ जनाको हैजाका कारण ज्यान गयो । जाजरकोटमा धेरै पटक हैजा दोहोरिएको पनि देखिन्छ । अर्थात् हामीले यो घटनाबाट पाठ सिकेको वा गम्भीर भएको देखिँदैन ।
हाल हैजा फैलने तरिका वा स्रोतमा पनि केही फरक देखिन थालेको छ । हैजा मुख्यतया पानी अनि सङ्क्रमित खानेकुराबाट फैलने गर्दछ । पछिल्लो समय मानिसहरु पानी र खानेकुरामा केही हदसम्म सजक हुन थालेका देखिन्छन् । तर, बजारमा पाइने कतिपय जारका वा बोतलमा राखिएका पिउने पानीमा नियमितजसो कोलिफोर्म भेटिएका खबर आइरहेका छन् । अर्थात् यसलाई दिसा मिसिएको पानी घरघर पुग्ने गरेको सङ्केतका रुपमा लिन सकिन्छ । यस्ता पानी निर्मलीकरण गरेर नपिउने भएकाले हैजाको जोखिम बढेको हो । त्यस्तै केही दिनयता झिङ्गा पनि यत्रतत्र देखिन सुरु भएको छ । झिङ्गा पनि हैजा फैलाउने एक माध्यम हो । विगतमा झिङ्गाबाट रोग फैलिन्छ भनेर नियमित रुपमा जानकारीहरु प्रवाह भइरहन्थ्यो, तर आजभोलि यस्तो प्रचारमा कमी आएको छ । त्यस्तै व्यावसायिक पानीको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा हैजाको जोखिम यथावत् देखिन्छ र यसबाट प्रकोप/महामारीको सम्भावनालाई बढाएको छ ।
जापानिज इन्सिफलाइटिस
लामो समयको अन्तरालपछि नेपालमा गत वर्ष जापानिज इन्सिफलाइटिस अस्वाभाविक रुपमा बढेको थियो जसका कारण कम्तीमा १४ जनाको ज्यान गएको थियो । यो अघिल्लो वर्षको भन्दा दोब्बर थियो । त्यस्तै यस भाइरसबाट ६० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । यसबाट जापानिज इन्सिफलाइटिसले ‘स्टेप ल्याडर’ तरिकाले पुनः देखिने गर्दै गइरहेको देखिन्छ । त्यसो भए “के यो वर्ष पनि सङ्क्रमित र मृत्युदरको सम्भावना छ त ?” भन्ने प्रश्न गम्भीर रुपमा देखा परेको छ । यो प्रश्नको उत्तर केही हदसम्म बर्सेनि बढ्दो सङ्क्रमणको कारण र फैलन रोक्ने पूर्वतयारीको अवस्थाले तय पनि गर्नेछ । यो भाइरसविरुद्ध प्रयोग भएका खोपको प्रभावकारिताको अवधि वा खोपले निरन्तरता पाए/नपाएको जानकारी पनि महत्वपूर्ण हुनेछ । जापानिज इन्सिफलाइटिस फैल्याउने लामखुट्टे मनसुनमा सक्रिय भइरहेको अवस्थाको सङ्केत गत वर्ष देखिएको जापानिज इन्सिफलाइटिस बिरामीको सङ्ख्याबाट पनि अनुमान गर्न सकिन्छ । यसर्थ यो वर्ष पनि विगतको वर्षभन्दा फरक हुने सम्भावना कमै छ ।
श्वासप्रश्वास सङ्क्रमण
बर्सेनि मनसुनको मध्यतिर श्वासप्रश्वास सङ्क्रमण विशेषत फ्लु भाइरसको लहर देखिने गर्दछ । विगतको अनुभवलाई आधार मान्ने हो भने फ्लु भाइरसले बेलाबेलामा महामारीको रुप समेत लिने गरेको देखिन्छ । कोभिड-१९ अगाडि ‘एचवानएनवान पिडिएम ०९’ नामक फ्लु भाइरस प्यानडेमिक घोषणा भएको थियो । सन् १९१८ मा पनि ‘स्पेनिस फ्लु’ को नामले चिनिने फ्लु भाइरसले अनुमानित पाँच करोड मानिसको ज्यान लिएको तथ्याङ्क छ । हुन त नेपालमा यसलाई ‘भाइरल’ वा सामान्य रुघाखोकीका रुपमा लिने चलन भए तापनि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिकाको स्वास्थ्यलाई जटिल बनाउने गरेको देखिन्छ । फ्लुविरुद्ध उपलब्ध खोपले सङ्क्रमणलाई जटिल हुनबाट रोक्न धेरै हदसम्म सहयोगी हुने गर्दछ । फ्लु सक्रिय भएको अवधिभरि बाहिर वा सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने तथा घरमा आएपछि राम्ररी साबुनपानीले हात धुने बानीले पनि सङ्क्रमण रोक्न धेरै हदसम्म सहयोगी हुनेछ । यस्ता जानकारीहरु विभिन्न सञ्चारका माध्यममार्फत निरन्तर जानकारी दिने अनि विद्यालयमा पनि विद्यार्थीलाई अनिवार्य सिकाउन सके अझ प्रभावकारी हुनेछ ।
अज्ञात वा आयातित सङ्क्रामक रोग
नेपालमा हाल पनि औँलामा गन्न सक्ने सरुवा रोगलाई वा सङ्क्रमणलाई नियमित परीक्षणमा समावेश गर्ने गरिन्छ । यसर्थ पनि अधिकांश बिरामीमा ज्वरोका कारण पत्ता लाग्ने गरेको पाइन्न । नेपालीहरु हरेक हप्ता हजारौँको सङ्ख्यामा रोजगारीका लागि विदेश जाने गर्दछन् । त्यहाँबाट नेपालमा पहिला नदेखिएका सङ्क्रमणहरु भित्रिन सक्ने जोखिम उच्च हुने गर्दछ । कोभिड-१९, अफ्रिकी मलेरिया, चण्डीपुरा भाइरस जस्ता भाइरसहरु नेपालमा पछिल्लो समय भित्रिएका केही रोगहरुका नाम हुन् । जिका भाइरस, निपाह भाइरस, क्यासिनुर फोरेस्ट डिजिज (मङ्की ज्वरो), मर्स कोरोना भाइरसजस्ता सङ्क्रामक रोगहरु छिमेकी देश भारत वा मध्यपूर्वका देशहरुमा देखिँदै आइरहेका छन् जुन नेपालका लागि पनि जोखिम मान्नु पर्दछ ।
यी सङ्क्रमणहरु नियमित परीक्षणको सीमितताले गर्दा नेपाल भित्रिएका वा भित्रिनसकेका भनेर यकिन भने गर्न सकेको छैन । हाल नभित्रिएको रहेछ भने पनि आगामी दिनहरुमा भित्रिँदैन भन्ने कुनै आधार पनि देखिँदैन । यी उल्लिखित रोगहरु पनि हावाजन्य वा कीटजन्य सङ्क्रमणहरु नै भएकाले मनसुन सिजनमा फैलन सक्ने जोखिम रहन्छ । तसर्थ हाल उपलब्ध नियमित परीक्षणबाट पत्ता नलागेका सङ्क्रमणलाई थप परीक्षणको व्यवस्था गर्नु उचित हुनेछ । किनभने हाल यी पुष्टि हुन बाँकी रहेका सङ्क्रामक रोगले भोलि प्रकोप वा महामारीको रुप नलेला भन्न सकिँदैन । यसको बलियो उदाहरणका रुपमा सन् २००४ मा एकजनामा पुष्टि भएको डेङ्गु भाइरस हाल आएर नेपालका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा खडा हुनु नै हो ।
अन्तमा, सङ्क्रमणले महामारीको स्वरुप लिइसकेपछि आत्तिने अनि सकिएपछि बिर्सने बानी हाल पनि यथावत् नै देखिन्छ । कोभिड-१९ र सन् २०२२ को डेङ्गु महामारी यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । मनसुन अगाडि विगतका अनुभव तथा उपलब्ध स्रोतसाधनका आधारमा योजना बनाउने अनि मनसुन सुरु भएसँगै योजनाको कार्यान्वयन पक्षलाई लागू गर्नुपर्दछ । माथि उल्लिखित सङ्क्रामक रोगहरु आगामी दिनहरुमा (मनसुनमा) प्रकोप/महामारीका रुपमा देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
(सरुवा रोगविज्ञ डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच