
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गर्नुभएको छ । दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेष्टिभल उद्घाटन गर्दै उहाँले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूको स्वास्थ्य तपाईंमात्र होइन, हाम्रो पनि चिन्ताको विषय हो, देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’ मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत् नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु ।’
उहाँले नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरूलाई कम्तीमा पनि एकपटक अवश्य नेपाल भ्रमण गर्न आग्रह गर्दै नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्र रहेको बताउनुभयो । पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरूमा दुर्ई देशबीच सहकार्य गरी अघि बढ्न सकिने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो ।
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, युएई, नेपाली समाज युएईलगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरूको संयुक्त पहलमा पहिलोपटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
राजदूत क्षेत्रीले नेपाल फेष्टिभल-२०२५ मा नेपालको सांस्कृतिक विविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभूषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र घनिष्ठ बनाउँदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुर्ई देशका जनताबीच जोड्ने सेतुका रूपमा कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि युएईमा रहेका सबै नेपालीलाई आहृवान गर्नुभएको थियो । गैरआवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागिता रहेको बताउनुभएको छ ।
वैशाखमा आठ अस्पतालमा १५ सेवा थप गरिँदै
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसियुको सेवा विस्तार गर्नेछ । वीरको आइसियुमा नौ शøया थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ ।
त्यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दैछ भने जलन वार्ड, सिमुल्टेसन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले पिआइसियु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ भने नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ । धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकैसाथ थाल्नेछ ।
मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पताललाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएकोमा चैतमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत त्यसलाई निरन्तरता दिइएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्, स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भइरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच