
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा सोमबारदेखि सुरु संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति सहरीकरण पनि एक रहेको धारणा राख्नुभएको हो । ‘सहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर, योजनाविहीन सहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध सहरी विकास गनुपर्छ’, एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो सहरी विकास मूल विषय रहेको सो सत्रमा उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री डा. राणाले सहनशील र दिगो सहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित सहरहरूमा लगानी गर्नुपर्ने सुझाउनुभयो । सहरहरू बीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसांख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री डा. राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, डिजिटल डिभाइड जस्ता समस्या देखिएका चर्चा गर्दै डिजिटल डिभाइडका कारण सहरी र ग्रामीण समुदाय बीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन नगर्ने हो भने असमानता बढेर समावेशी वृद्धिलाई नै अवरुद्ध गर्ने बताउनुभयो ।
त्यसैगरी, यस क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले एसिया तथा प्रशान्त क्षेत्र जलवायुजन्य विपद्को अग्रपंक्तिमा रहेको उल्लेख गर्दै हाम्रा सहर र समुदायहरू विनाशकारी बाढी, खडेरी र चरम मौसमी दुर्घटनाहरूको जोखिममा रहेका स्पष्ट पार्नुभयो । ‘पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रूपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रूपमा प्रभावित भइरहेका छन् । त्यसैले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो ।
वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उहाँले बताउनुभयो । मन्त्री डा. राणाले आगामी मे महिनामा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिनुभयो । उहाँले यी सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । ‘अहिलेको युगमा कुनै पनि मुलुकले यस प्रकारका सबै चुनौतीहरू एक्लै समाधान गर्न सक्दैनन् । हाम्रा सामूहिक प्रयासहरूलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य छ’, उहाँले भन्नुभयो । नेपाल समावेशी विकास, क्षेत्रीय सहकार्य र संयुक्त राष्ट्रसंघका मूल्य मान्यताहरूप्रति सदैव प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल हाल युएनस्केपको अध्यक्ष छ । यही कारण मन्त्री देउवाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नुभएको हो । परराष्ट्रमन्त्री डा. राणा आइतबार थाइल्याण्डको राजधानी बैंकक जानुभएको हो । उहाँ २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक, युएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन त्यहाँ जानुभएको हो । मन्त्री राणा अप्रिल २५ शुक्रबारमा स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच