
भक्तपुर । भक्तपुर अस्पतालको परिसरमा साझा स्वास्थ्य सेवाले फार्मेसी सञ्चालन गर्न खोजेको विषयलाई लिएर अस्पतालका चिकित्सक तथा कर्मचारीहरू आन्दोलित भएका छन् । फार्मेसी राख्नका लागि अस्पतालको संरचना भत्काउन लागिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । मंगलबार उनीहरूले अस्पताल गेटमा नाराबाजीसहित धर्ना दिँदै ‘अस्पताल शान्ति क्षेत्र हो’, ‘अस्पताल मास्न पाइँदैन’, ‘सिटी स्क्यान कि व्यापार चाहिन्छ ?’ भन्ने नारासमेत लगाएका थिए ।
साझा स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरू फार्मेसी पुनः सञ्चालन गर्न मंगलबार नगर प्रहरीको सहयोगमा भक्तपुर अस्पतालको गेट नजिक अस्थायी टहरा बनाउन पुगेका थिए । उनीहरू अस्पतालको पर्खाल भत्काएर फार्मेसी सञ्चालन गर्ने प्रयासमा जुटेपछि अस्पताल प्रशासन र चिकित्सक–कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
साझाका कर्मचारी दीपक दाहालका अनुसार २०५५ सालमा भक्तपुर अस्पताल परिसरमा स्थापना भएको साझा फार्मेसी पछिल्लो समय बन्द भएको थियो । तर, २०८१ साल फागुन ११ गते भक्तपुर नगरपालिका र साझा स्वास्थ्य सेवाबीच नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालको गेटनजिकै अस्थायी टहरा बनाएर फार्मेसी सञ्चालन गर्न पाइने उल्लेख छ । उक्त सम्झौताअनुसार मासिक ३० हजार रुपैयाँ वा औषधि बिक्री रकमको दुई प्रतिशत (दुवैमध्ये जुन बढी हुन्छ) भाडा तिरेर पाँच वर्षका लागि फार्मेसी सञ्चालन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सो जग्गा नगरपालिकाको स्वामित्वमा रहेको र साझालाई भाडामा दिएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालले किन र के को लागि अवरोध गरेको हो आफूलाई थाहा नभएको समेत उहाँले बताउनुभयो ।
तर, अस्पताल प्रशासनले भने उक्त जग्गा अस्पतालकै स्वामित्वमा रहेको दाबी गर्दै आएको छ । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार २०३५ सालमै नगर पञ्चायतले सो जग्गा अस्पताललाई प्रदान गरिसकेको छ । उहाँले एउटै अस्पताल परिसरभित्र दुईवटा फार्मेसी सञ्चालन गर्नु स्वास्थ्य मन्त्रालयको मापदण्डविपरीत हुने स्पष्ट पार्नुभयो । डा. भट्टले भन्नुभयो, ‘अस्पतालभित्र सरकारी स्वीकृतिबिना अर्को फार्मेसी राख्न पाइँदैन । यहाँ पहिलेदेखि अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा छ ।’
अस्पतालको पर्खाल भत्काइएको र चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अस्पतालमा आउने सेवाग्राहीहरू मर्कामा परेका छन् । बिहान नै अस्पतालमा सवारी प्रवेश रोकिएको र फार्मेसी क्षेत्र अवरुद्ध हुँदा अस्पतालमा औषधि वितरणसमेत प्रभावित भएको थियो । सेवाग्राही संगीता घिमिरेले भन्नुभयो, ‘सार्वजनिक अस्पतालमा यस्तो झमेलाले बिरामीलाई सास्ती भएको छ । भित्र फार्मेसी बन्द छ, बाहिर आन्दोलन छ । औषधि किन्न बाहिर जानुपरेको छ ।’
साझा स्वास्थ्य सेवाले सम्झौताअनुसार फार्मेसी सञ्चालन गर्न पाउने अडान लिएको छ भने अस्पताल प्रशासन र चिकित्सक कर्मचारीहरूले त्यसको कडा विरोध जनाइरहेका छन् । अहिलेसम्म कुनै समझदारीमा पुग्न नसकेको दुवै पक्षले जनाएका छन् । नगरपालिका, अस्पताल प्रशासन र साझा बीचको यो विवाद तत्काल समाधान नभए भक्तपुर अस्पतालको नियमित सेवा प्रभावित हुने र बिरामीहरू मर्कामा पर्ने देखिएको छ । स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले सहजीकरण नगरे स्थिति जटिल बन्ने संकेत देखिएको छ ।
फार्मेसी सञ्चालनको नाममा अस्पताल परिसरमा विवाद चुलिनु अस्पतालको स्वास्थ्य सेवा र बिरामीका हितविपरीत देखिएको छ । सरकारी अस्पतालको जग्गा स्वामित्व र सञ्चालन मापदण्डबारे स्पष्ट नीतिगत निर्णय नहुँदा यस्ता विवाद बारम्बार हुँदै आएका छन् । तत्काल दुवै पक्षलाई वार्तामा ल्याई सहमतिको उपाय खोज्नु आवश्यक देखिन्छ । नत्र अस्पतालमा सेवा अवरुद्ध भई सर्वसाधारण बिरामीहरू मारमा पर्ने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच