
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७७ वर्षमा प्रवेश गरेको छ । वि.स.२००६ वैशाख १० गते भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सदस्यहरूमा नीरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । लेलिन जयन्तीको अवसरमा पुष्पलाल श्रेष्ठको अगुुवाइमा निरंकुश शासनको अन्त्य, किसान मजदुरको अधिकार, सामन्तवाद र साम्राज्यवादविरोधी नवप्रजातन्त्रका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेकपाको ७७औँ स्थापना दिवस मुलुकमा क्रियाशील विभिन्न कम्युनिष्ट घटकहरूले मंगलबार छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन् । ७६ वर्षको अवधिमा कम्युनिष्ट पार्टीबीच विभाजनको शृंखला चल्दै आएको छ । अहिले दर्जनबढी सानाठूला कम्युनिष्ट घटकहरू अस्तित्वमा रहेका छन् ।
२०७४ सालको आमनिर्वाचनमा एमाले र माओवादीबीच चुनावी गठबन्धन र कालान्तरमा पार्टी एकता गरी नेकपा बनाइए पनि लामो समय टिक्न सकेन । बरु, नेकपाभित्रकै कलहका कारण एमालेमा समेत विभाजन भएर माधव नेपाललगायत नेताले एकीकृत समाजवादीको गठन गरे । अर्को कम्युनिष्ट धारको नेतृत्व गर्ने माओवादी पनि टुटफुटबाट गुज्रिरहेको छ । पार्टी स्थापनाको झण्डै आठ दशकको दौरान सत्ता स्वार्थ, शक्ति संघर्ष तथा नेतृत्वको टकरावले धुजाधुजा बनेको नेकपाको भविष्य अन्धकार रहेको वाम राजनीतिक विश्लेषकहरूको जिकिर छ । कम्युनिष्ट नेताहरूमा देश बनाउने स्पष्ट दृष्टिकोण तथा समाजवादी विचारधारा नहुँदा नेपालको कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेको विश्लेषण भइरहेको छ । नेपालका कम्युनिष्ट घटकहरूको टुटफुटको शृंखला हेर्दा पार्टी विभाजन गर्न कुनै विशेष मुद्दा नै चाहिँदैन । सामान्य व्यक्तिगत स्वार्थको लागिसमेत कम्युनिष्ट पार्टीहरू विभाजन हुने गरेको विगतमा प्रशस्तै उदाहरण छन् । तर, कम्युनिष्ट पार्टीका नेताहरूले वाम एकताको दुहाइ भने छोड्दैनन् । ७७औँ कम्युनिष्ट स्थापना दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम गरेका कम्युनिष्ट नेताहरूले एकताको आवश्यकतामा जोड दिए तर एक-अर्काप्रतिको आरोपप्रत्यारोप गर्ने प्रवृत्तिलाई भने छोड्न सकेनन् ।
कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र हुँदै छ : ओली
मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ्न नदिन पार्टी फुटाएर हिँडेको आरोप लगाउँदै भन्नुभयो, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ एमालेलाई भनेर, एमालेमै पसेर अघाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ भन्दै हिँडे । १३ वर्ष यही पार्टीको लिडरसिपमा बसे, कोही १५ वर्ष यही पार्टीको लिडरसिपमा बसे । निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछौँ भनेर हिँडे । जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ ।’ विरोधीहरूले पार्टीलाई सिध्याउँछौँ भनेर कतिपय लागेको भए पनि एमाले अहिले नसकिने दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सिद्धिँदैन, एमालेको आन्दोलन समाप्त हुन सक्दैन, कमजोर पनि हुन सक्दैन ।’ आफूले पार्टी एकता गर्न चाहेको भए पनि एकता भाँड्नका लागि दुरुपयोग गरिएको उहाँको आरोप छ । पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाउनुभएका ओलीले भन्नुभयो, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ ।’
विगतमा जस्तो सिद्धान्तहीन एकता गर्दैनौँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको आवश्यकता वाम आन्दोलनलाई फेरि एकताबद्ध गर्नुभएको बताउनुभएको छ । मंगलबार नेकपाको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहेको स्पष्ट पार्नुभएको हो । कम्युनिष्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्नुभएका अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनले विभाजन, घात-प्रतिघात र बलिदानबीच यात्रा तय गरेको स्मरण गराउँदै भन्नुभयो, ‘आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु हो । हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्याउने प्रक्रियामा छौँ । हामी एकताको झण्डा बोकेका छौँ, न छोडेका छौँ, न छोड्नेछौँ ।’ लेनिनको जन्म जयन्तीकै दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो ।’
कम्युनिष्ट नेताहरूका कारण राजनीतिमा विकृति भित्रियो : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभएको छ । उहाँले कम्युनिष्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनुभयो । कम्युनिष्ट पार्टीले मुलुकमा भएका निरंकुशता विरुद्धको सबै आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरू निष्ठावान् हुनुपर्ने जनाउँदै कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गरी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा एमालेका मान्यता सही सावित : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पु¥याएको जिकिर गर्नुभएको छ । महासचिव पोखरेलले दलहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देशभित्रै लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको जिकिर गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही सावित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन् । संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको छ । नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको छ ।’
कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको जिकिर गर्नुभएको छ । मुलुकमा देखिएका विद्यमान समस्या समाधानका लागि कम्युनिष्टहरू बीचको एकता अपरिहार्य रहेको उहाँको दाबी छ । यथास्थितिवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने उहाँको भनाइ छ । कम्युनिष्ट पार्टीहरूसँग एकता र धु्रवीकरण प्रक्रियाअघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने श्रेष्ठको जिकिर छ । यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको भन्दै श्रेष्ठले सरकार यथास्थितिवादको मुख्य बाहकको रूपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमन विरुद्धको लडाइँलाई सफल पार्न सकिने तर्क गर्नुभयो ।
सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन : भुसाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले माओवादी सत्ताको लोभबाट बाहिर निस्किन नसकेको आरोप लगाउनुभएको छ । नेकपा स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा भएको कार्यक्रममा महासचिव भुसालले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको जिकिर गर्नुभयो । कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् भन्दै प्रश्न गर्नुभएका महासचिव भुसालको आरोप छ, ‘मैले पटक-पटक भन्ने गरेको छु, कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । त्यो अरू नालायक भए लायक भएर देखिन्छ, अरू लायक भए त्यसको महत्व नै रहँदैन । अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ, माओवादी केन्द्र । माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच