
काठमाडौं । शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो । त्यही कारण शिक्षामन्त्रीको पनि जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिनुभएको थियो । परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णयपछि अधिकारीहरू मंगलबार दिनभर छलफलमा थिए । बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको थियो । मंगलबार बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।
तर, नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक-कर्मचारीलाई आहृवान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशनमा रहेको महासंघले चैत २५ बाट शैक्षिक हड्ताल घोषणा गरेको छ । तर, आन्दोलित शिक्षकहरूसँग सहमति प्रयासमा जुट्नुभएकी शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीको असहयोग नपाएपछि सोमबार राजीनामा दिनुभएको छ । कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापानसहित एक हजार ५९१ परीक्षा केन्द्र निर्धारित थिए । परीक्षामा एक हजार आठ सयदेखि दुई हजार कर्मचारी, हरेक केन्द्रमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको थियो । बोर्डले बुधबार परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
अनि पछि हट्यो परीक्षा बोर्ड
परीक्षा सुरु हुन एकदिन मात्रै बाँकी रहँदा पनि करिब १६ सय परीक्षा केन्द्रका अधिकांश केन्द्राध्यक्षहरूलाई परीक्षा बोर्डले अभिमुखीकरण तालिम दिएको छैन । राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूका अनुसार परीक्षा केन्द्र रहेका शैक्षिक संस्थाका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । कतिपय परीक्षा केन्द्रमा शिक्षकहरूले विद्यालयको तालासमेत नखोल्ने चुनौती आन्दोलनरत शिक्षकहरूले दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यही दिन परीक्षा केन्द्रमा प्रश्नपत्र उपलब्ध गराइने भएका कारण केन्द्राध्यक्ष अर्थात् विद्यालयका प्रधानाध्यापकको मोबाइलमा प्राप्त हुने ‘ओटिपी’का आधारमा मात्रै प्रश्नपत्र डाउनलोड गर्न मिल्छ । आन्दोलनरत प्रधानाध्यापक परीक्षा सञ्चालनका लागि तयार नभएकाले परीक्षा सञ्चालनमा समस्या देखिएको थियो । कतिपय विद्यालयका परीक्षार्थीहरूको प्रवेशपत्रसमेत नपुगेका कारण बिहीबारबाट परीक्षा सञ्चालन गर्न चुनौती हुने आन्दोलनरत शिक्षकहरूको भनाइ थियो । तर, परीक्षा नियन्त्रक शर्मा त्यसका लागि पनि बोर्डले अस्थायी व्यवस्थापन गर्ने बताउनुभएको थियो । शिक्षकहरू सहभागी नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षसहित परीक्षा निरीक्षकहरूको व्यवस्थापनका लागि बोर्डलाई चुनौती भएको हो । यसैबीच, नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ । मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टाभित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।
केन्द्राध्यक्षलाई काठमाडौं आउन महासंघको ताकेता
आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापकलगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ । ‘बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको कुरामा ध्यानाकर्षण भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा आग्रह गर्दछौँ ।’
‘१२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन अमान्य’
निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन् । ‘१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ । त्यसमा हाम्रो असहमति छ,’ नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले भन्नुभयो । शिक्षकहरूको आन्दोलनप्रति आफूहरूको पनि समर्थन रहेको भन्दै उहाँले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताउनुभयो । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको बताउनुभएको छ । ‘सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,’ उहाँले भन्नुभयो । कर्मचारी खुसी भए गुणस्तरीय कानुन बन्ने भन्दै उहाँले यसअनुसार ऐन बनाउन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्यका कारण शिक्षामन्त्रीको राजीनामा : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पार्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको प्रति उहाँले असन्तुष्टि जनाउनुभएको हो । उहाँले भन्नुभयोे, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’
पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि उहाँको आरोप छ । ‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘तपाईंहरू पटक-पटक आन्दोलन गर्नुभएको छ, पटक-पटक सम्झौता भएको छ र पटक-पटक धोका भएको छ । योपटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ ।’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताउनुभयो । ‘शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या त होइन । यो त राष्ट्रकै समस्या हो । शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा पनि होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको हो । सम्झौता अनुसारको ऐन बनाइदेऊ भनेको हो,’ उहाँले भन्नुभयो, ‘तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षामन्त्रीले राजीनामा दिनुभयो, यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ । यो सरकार आफ्नै बोझमा दबिएर सिद्धिन्छ । सरकारले बुद्धि पुर्याओस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच