
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शीतलनिवास स्रोतका अनुसार, पन्तको आज (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुनुहुन्छ । बुधबार नै प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गर्नुभएको छ । उहाँलाई बर्खास्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् २४ सदस्यीय बनेको हो । मन्त्री नियुक्त हुनुभएका पन्त एमालेका समानुपातिक सांसद हुनुहुन्छ ।
गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिनुभएको थियो । यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ ।
पन्त यस्तो बेला शिक्षा मन्त्रालय आउनुभएको छ्, देशभरिका शिक्षकहरू काठमाडौंका सडकमा छन् । २२ दिन बित्यो शिक्षकले सडक छोडेका छैनन् । बरु मन्त्री भट्टराई नै मन्त्रालय छाड्न बाध्य हुनुभयो । शिक्षकले झन् आन्दोलन उत्कर्षमा पुर्याएका छन् । असहज परिस्थितिमा मन्त्री बन्नुभएका पन्तका सामू चुनौतीका चाङ छन् । शिक्षकको समस्या समाधान गर्न प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले असहयोग गरेको भन्दै शिक्षामन्त्री भट्टराईले राजनीनामा दिएको ताजा पृष्ठभूमिमा नवनियुक्त शिक्षामन्त्री पन्तको भूमिका कस्तो रहन्छ भन्नेमा सबैको चासो देखिन्छ । अर्कोतर्फ विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य समितिमा दफाबार छलफलको चरणमा छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन संसद्बाट पारित भएपछि मात्र आन्दोलनबाट पूर्णरुपमा कक्षाकोठामा फर्कने बताउँदै आएका छन् ।
विद्यालय शिक्षामा स्थानीय तहको क्षेत्राधिकार, निजी विद्यालय र शिक्षकको व्यवस्थापनलगायत पेचिला विषय विधेयकमा टुंगो लगाउनु त्यति सजिलो भने छैन । अब सुझबुझपूर्ण ढंगबाट विद्यालय शिक्षा विधेयक टुंगो लगाउन उहाँले के कति भूमिका खेल्न सक्नुहुन्छ भन्ने मात्रै नभएर तत्काल शिक्षकहरूको आन्दोलनलाई कसरी निष्कर्षमा पु¥याएर सन्निकट १२ कक्षाको परीक्षा सञ्चालन गर्नुहुन्छ भन्नेजस्ता गम्भीर कामहरू तत्काल उहाँको अघि छन् ।
यस्तो छ पन्तको पृष्ठभूमि
रघुजी पन्तको पृष्ठभूमि पत्रकारितासँग जोडिन्छ । उहाँले २०३२ सालदेखि पत्रकारिता सुरू गर्नुभएको थियो । उहाँ बुधबार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासंघमा समेत काम गर्नुभएको थियो । २०५१ सालमा उनी प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकारसमेत बन्नुभएको थियो । त्यसपछि उहाँ राजनीतिमा जोडिनुभयो । २०५४ सालको नेपालगञ्ज महाधिवेशनबाट उहाँ एमाले केन्द्रीय सदस्य बन्नुभएको थियो । २०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट पन्त प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । एमालेमा उहाँले केन्द्रीय संस्कृति, जल तथा ऊर्जा विभाग प्रमुख भएर पनि काम गर्नुभएको थियो । एमालेको सातौं महाधिवेशन २०५९ सालमा पनि उहाँ केन्द्रीय सदस्य बन्नुभयो । २०६१ सालमा श्रम तथा यातायात मन्त्री बन्नुभएका उहाँ २०६३ को पुनस्र्थापित संसदमा सदस्य हुनुभयो । उहाँ पार्टीको कानुन, सामाजिक सेवा, प्रचार विभाग हुँदै हाल संस्कृति विभाग प्रमुख हुनुहुन्छ । २०७९ मंसिरको चुनावबाट उहाँ समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
आन्दोलन छाड्न शिक्षकलाई एमालेको आग्रह
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसद्को अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनुभएको छ । बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग भएको छलफलबारे पत्रकारहरूलाई जानकारी दिँदै उहाँले वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उहाँको भनाइ छ ।
उहाँले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्मा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्नसक्ने बताउनुभयो । ऐन कानुन निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताउनुभयो । उहाँले शिक्षकहरूमा शिक्षाप्रतिको जबाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गर्नुभयो । सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरूले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उहाँको भनाइ छ ।
ऐन नलिई नजाने शिक्षकको अडान
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले बुधबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । शिक्षकहरूले बुधबार पनि काठमाडौंको माइतीघर-बानेश्वर सडकखण्डमा नाच्दै-गाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २२ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदासमेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरूको आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिइसक्नु भएको छ । यसले झन् अन्योल बनाएको छ ।
यता, शिक्षकहरू भने विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यसपटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् । आन्दोलनको समय शिक्षकहरूले ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकेका छन् । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । ५५ लाख बालबालिकाको भविष्यमाथि हेलचेक्र्याइँ गरेको भन्दै शिक्षकहरूको आलोचनासमेत हुन थालेको छ । शिक्षकहरूलाई विद्यालय फर्काउन भन्दै अभिभावकहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षणसमेत गराइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच