
काठमाडौं । भारतको जम्मु-कश्मीरको पहलगाममा आतंकवादी समूहले दुई दर्जन बढी पर्यटकको क्रूर हत्या गरेको छ । पहलगामको बाइसारण घाटीमा मंगलबार आतंककारी समूहले एक नेपालीसहित कम्तीमा २६ जनाको हत्या गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनीहरूको क्रूर अमानवीय तरिकाले गोली हानी हत्या गरिएको थियो । आतंककारीले हिन्दूहरूलाई छानीछानी हत्या गरेको समाचारमा उल्लेख छ । यो पछिल्ला केही वर्षहरूमा जम्मु कश्मीरमा सर्वसाधारणलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो आतंकवादी हमला हो । बाइसारण घाटी ‘मिनी स्विट्जरल्याण्ड’को रूपमा चिनिन्छ । यो क्षेत्र पैदल वा घोडाबाट मात्र पहुँच हुनसक्ने विकट स्थान हो ।
आक्रमणमा केही घाइतेसमेत भएका छन् ।
घाइतेहरूलाई हेलिकोप्टर र स्थानीय घोडाबाट उद्धार गरिएको थियो । आतंकवादीहरूको स्केच सार्वजनिक भएको छ, जसमा असिफ फौजी, सुलेमान शाह र अबु तल्हा समावेश छन् । उनीहरूलाई पाकिस्तानी भनिएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानमा आधारित लश्कर-ए–तैयबा समूहसँग सम्बन्धित ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ । हमलाले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ । घटनापछि कश्मीरका केही भागहरू बन्दको आह्वान गरिएको छ । आक्रमणकारीहरू सैनिक पोसाकमा थिए ।
ज्यान गुमाउनेमा २४ भारतीय र बाँकी एक नेपालीसहित विदेशी छन् । हमलामा संयुक्त अरब इमिरेट्सका एक पर्यटकको पनि हत्या गरिएको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी भ्रमण रद्द गरेर भारत फर्किनुभएको छ । गृहमन्त्री अमित शाहले घटनास्थलको निरीक्षण गर्नुभएको बिबिसी हिन्दीले जनाएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले सशस्त्र बलहरूलाई आतंकवाद-विरोधी अभियान बढाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय अनुसन्धान एजेन्सीले पहलगाममा अनुसन्धानका लागि टोली पठाएको छ । पहलगामका पहाडहरूमा स्थायी रूपमा सेना र अर्धसैनिक बल तैनाथ गरिएको समाचारमा उल्लेख छ ।
आक्रमणका दोषीलाई कडा सजाय दिने प्रतिक्रिया
समाचार एजेन्सी एएनआईका अनुसार केन्द्रीय गृहमन्त्री अमित शाहले आतंकवादी हमलाका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भारत आतंकवादको अगाडि कहिल्यै नझुक्ने बताउनुभएको छ । आक्रमणका दोषीहरूलाई कडा सजाय दिइने उहाँले बताउनुभयो । राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नहुने उहाँको भनाइ छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोडिने बताउनुभएको छ । रक्षामन्त्री राजनाथ सिंहले आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै कडा कारबाहीको चेतावनी दिनुभएको छ । वित्तमन्त्री निर्मला सीतारमण पनि आफ्नो अमेरिका र पेरु भ्रमण छोट्याएर भारत फर्किनुभएको छ ।
पाकिस्तानी सेना प्रमुखको टिप्पणीको चर्चा
जम्मु-कश्मीर घटनाको एक साताअघि पाकिस्तानी सेना प्रमुख जनरल सैयद असीम मुनिरले एक सार्वजनिक कार्यक्रममा भारत र हिन्दूहरू विरुद्ध कडा टिप्पणी गर्नुभएको थियो । असीम मुनिरले भन्नुभएको थियो, ‘हाम्रा पुर्खाहरूले सोचेका थिए कि हामी हिन्दूहरूभन्दा हरेक कोणबाट फरक छौँ, हाम्रो रीतिरिवाज, हाम्रो धर्म, हाम्रो सोच, सबै कुरा उनीहरूभन्दा फरक छ । हामी दुई राष्ट्र हौँ, एउटा होइन । हामीले यो देशको लागि धेरै त्याग गरेका छौँ, हामीलाई थाहा छ यो देश निर्माण गर्न हामीले कति संघर्ष गर्नुपरेको थियो ।’ उहाँको अभिव्यक्तिलाई पनि घटनासँग जोडेर हेर्ने गरिएको छ । अल्लाहले कल्माको आधारमा संसारमा केवल दुई राज्यहरू सिर्जना गरेको उहाँको भनाइ थियो । एउटा मदीना र अर्को पाकिस्तान मात्रै रहेको उहाँले बताउनुभएको थियो ।
घटनाको विश्वभरबाट निन्दा
घटनाको विश्वभरबाट निन्दा भएको छ । अमेरिकासहितका देशहरूले हमलालाई कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणपछि विश्वभरका शीर्ष नेताहरूले आक्रमणको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री केर स्टार्मर र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । युरोपेली संघ र संयुक्त राष्ट्रसंघले पनि घटनाको कडा निन्दा गरेका छन् । ट्रम्पले प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई बर्बर आक्रमण भन्नुभएको छ । साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसलाई आतंकवादी हमला भनेको छ र यसको कडा शब्दमा निन्दा गरेको छ । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले भयानक आक्रमणको कडा निन्दा गर्नुभएको छ । युएईले पनि एक विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई आपराधिक कार्य भनेको छ र यसको कडा निन्दा गरेको छ । भारतस्थित इरानी दूतावासले विज्ञप्ति जारी गर्दै आक्रमणको कडा निन्दा गरेको छ ।
ओली-मोदीबीच फोन संवाद- आतंकवादविरुद्ध एकजुट हुने प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरुद्धमा एकजुट हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै दुवै नेताबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको जनाएका जनाउनुभएको छ । भारतीय विदेश प्रवक्ता जैसवालका अनुसार नेपालका प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा जम्मु-कश्मीरको पहलगामस्थित बैसारन मिडोजमा भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको थियो । ‘प्रधानमन्त्री ओलीले हमलामा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो र आतंकवादविरुद्ध लड्न नेपाल भारतको साथमा सधैँ रहने बताउनुभयो,’ जैसवालले भन्नुभयो । फोन संवादका क्रममा भारतका प्रधानमन्त्री मोदीले पनि उक्त हमलामा एक नेपाली नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको थियो । ‘प्रधानमन्त्री मोदीले यो दुःखद घटनाका दोषीहरूलाई कडा कारबाही गरिने र आतंकवादविरुद्धको लडाइँमा भारत अडिग रहेको कुरा स्पष्ट पार्नुभयो,’ जैसवालले लेख्नुभएको छ ।
पाकिस्तानको प्रतिक्रिया- घटनामा हाम्रो संलग्नता छैन
पाकिस्तानले पनि घटनामा दुःख व्यक्त गरेको छ । ‘भारतले गैरकानुनी रूपमा कब्जा गरिएको जम्मु– कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौँ,’ पाकिस्तानले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले पहलगाममा भएको घटनामा आफ्नो देश संलग्न नभएको बताउनुभएको छ । कश्मीरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको संज्ञा दिँदै उहाँले आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम सजिलो भएको टिप्पणी गर्नुभयो । बरु उहाँले पाकिस्तानको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाउनुभयो । भारत विभाजन भई पाकिस्तान बनेदेखि नै दुवै देशले कश्मीरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन् । कश्मीरमा दशकौँदेखि भारत सरकारविरुद्ध विद्रोह चल्दै आएको छ । दिल्लीले कश्मीरमा सक्रिय विद्रोहीहरूलाई पाकिस्तानले सहयोग दिने आरोप लगाउने गरेको छ । तर, पाकिस्तान उक्त आरोप अस्वीकार गर्छ ।
स्थानीय के भन्छन् ?
पहलगाममा पर्यटक प्रहरीको रूपमा काम गर्ने एक स्थानीयले आक्रमण हुँदाको अवस्थाबारे जानकारी दिएका छन् । उहाँले समाचार एजेन्सी एएनआईलाई भन्नुभयो, ‘दिउँसो २.४० बजे, म पर्यटकीय स्थलबाट १०० मिटर तल थियौँ । त्यही क्षणमा हामीले दुईपटक गोली चलेको आवाज सुन्यौँ र त्यसपछि गोली चल्न थाल्यो । हामी घटनास्थलमा पुग्यौँ र तीनजना घाइतेलाई सुरक्षित रूपमा जेएमसी अस्पताल पुर्यायौँ । यो पहाडी क्षेत्र हो र सरकारी अधिकारीहरू पुग्दासम्म उद्धार भइसकेको थियो ।’ घटनास्थलमा उपस्थित अर्का स्थानीय गुलजार अहमदले समाचार एजेन्सी पिटिआईलाई भन्नुभयो, ‘हामी स्ट्याण्डमा उभिरहेका थियौँ र ग्राहकहरू मिनी स्विट्जरल्याण्डतिर लागे । दिउँसो २ः४५ बजे अचानक भागदौड मच्चियो । मानिसहरू यताउता दौडन थाले । हामीले सोध्दा थाहा भयो कि गोली चलाइएको थियो । मानिसहरू खाली खुट्टा दौडिरहेका थिए । तल बस्ने मानिसहरू त्यहाँबाट फर्कन थाले । त्यतिबेला तल दुईदेखि तीन सय मानिसहरू उपस्थित थिए । आतंकको वातावरण सिर्जना भएको थियो ।’ आक्रमणले जम्मु–कश्मीरको पर्यटनलाई निकै असर गर्ने उहाँले बताउनुभयो ।
दशकौँदेखिको द्वन्द्व, १० हजार बढीको मृत्यु
सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरी दशौँ हजारको ज्यान गइसकेको छ । ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुईटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भएका थिए । भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ । भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि, यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् । पछिल्लोपटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो ।
हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए । त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो । भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवर्धन गरिरहेको छ । गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्यांकहरूले देखाएका छन् ।
आमासँग घुम्न गएका बुटवलका सुदीप पनि हमलामा मारिए
जम्मु-कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली ज्यान गुमाउनेमा एक नेपाली पनि परेका छन् । पहलगाममा भएको घटनामा परेर नेपाली नागरिक रूपन्देहीका सुदीप न्यौपानेको ज्यान गएको हो । बुटवल उपमहानगरपालिका-१४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार उहाँ आफ्नी आमासहित कश्मीर घुम्न जनुभएको थियो । आमा भने घाइते हुनुभएको छ । वडाध्यक्ष न्यौपानेले मृतक आफ्ना भतिज रहेको बताउनुभयो । उहाँका अनुसार सुदीप र अरू आफन्त शनिबार नेपालबाट हिँडेका थिए । ‘सुदीप आफ्नी आमा अनि पोखरा बस्ने बहिनी र ज्वाइँलाई समेत लिएर गएका थिए । बाँकी तीनजना सकुशल छन् भन्ने आएको छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच