
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एकपछि अर्को संकट थपिँदै गएको छ । सरकार गठन भएको १० महिना पूरा नहुँदै सरकारको आयुबारे तीव्र बहस भइरहेको छ । संसद्का प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सात बुँदे सत्ता साझदारीको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसदेखि विपक्षी नेताहरू सरकारको आयुमाथि प्रश्न उठाउने गरी प्रकट भएका छन् । सत्ता नेतृत्वकर्ता नेकपा एमाले अरू कुनै पनि दलले सरकारको कामलाई लिएर बचाउ गर्नसक्ने अवस्था देखिँदैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमाथि एकपछि अर्को गरी समस्या र संकट थपिँदै गएको छ । ओली नेतृत्वको सरकारलाई संकटमा पुर्याउन झण्डै एक दर्जन कारण सतहमा देखिएका छन् ।
१. शिक्षक आन्दोलन
राजधानी काठमाडौंमा तीन हप्तादेखि जारी शिक्षकहरूको आन्दोलन ओली नेतृत्वको सरकारको लागि तत्कालीन र सबैभन्दा ठूलो संकट हो । नेपाल शिक्षक महासंघको नेतृत्वका विभिन्न २२ बुँदे माग राखी शिक्षकहरू काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा विधेयक रहेको छ । विधेयक नलिई आन्दोलन नरोक्ने शिक्षकहरूको अडान छ । शिक्षकहरूको आन्दोलनकै कारण कक्षा १२ को परीक्षा नौ दिन पर सरेको छ । एसइई परीक्षा सकिएको महिनादिन बढी हुँदा पनि कपी जाँच हुन सकेको छैन । शिक्षकहरूको आन्दोलन उत्कर्षमा पुगिरहेकै बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि सरकार थप दबाबमा परेको छ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच टसल बढ्दै गएको छ ।
२. कांग्रेसभित्रै विकल्पको खोजी
सत्ता साझेदार दलको मुख्य घटक नेपाली कांग्रेसभित्रैबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प खोजी हुन थालेको छ । कांग्रेसभित्रको ठूलो पंक्ति सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीका कार्यशैलीप्रति तीव्र असन्तुष्ट छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य शेखर कोइराला सरकारका काम कारबाहीप्रति सार्वजनिक रूपले आलोचना गर्न थालेका छन् । कांग्रेसबाट सरकारमा सहभागी कतिपय मन्त्रीहरू नै सत्ता साझेदारीको बलियो वातावरण नबनिरहेको टिप्पणी गर्न थालेका छन् । समग्रमा कांग्रेसमा ओलीसँग असन्तोष राख्नेहरूको संख्या बढ्दै गएको छ । यही बेला कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणले विभिन्न आशंका उत्पन्न भइरहेका छन् । यद्यपि, देउवा कुनै राजनीतिक भेटघाटको लागि नभई स्वास्थ्य उपचारको लागि जानुभएको हो ।
३. विपक्षीको घेराबन्दी
नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले घेराबन्दी सुरु गरेको थियो । कांग्रेस-एमाले गठबन्धन तोड्न र ओली नेतृत्वको सरकार ढलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर प्रयास गरिरहनु भएको छ । सरकारमाथि दबाब बढाउन प्रचण्डले आफू नेतृत्वमा विपक्षी मोर्चा नै गठन गर्नुभएको छ । विपक्षी मोर्चामा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),नेकपा एकीकृत समाजवादी (नेकपा एस),महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत दलहरू रहेका छन् । संसद्मा सरकारविरुद्ध यी दलहरू एकताबद्ध भएर विरोध गर्ने गरेका छन् । नयाँ वर्ष २०८२ मा नयाँ सरकार बन्ने अभिव्यक्ति दिनुभएका प्रचण्ड विपक्षी मोर्चालाई बलियो बनाएर सरकारमाथि थप दबाब बढाउने रणनीतिमा छन् । केही दिनअघि प्रचण्डले वर्तमान सरकारको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने अभिव्यक्ति दिनुभएको थियो ।
४. राजावादीको सक्रियता
पछिल्ला केही महिनादेखि राजावादीहरूको सक्रियता निकै बढेको छ । पूर्वविश्लेषण र जानकारीका बाबजुद पनि गएको १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए । उक्त हिंसापछि अर्बौँको क्षति भएको छ भने सार्वजनिक सम्पत्तिसमेत जलाइएका छन् । त्यस घटनाबाट सरकारकै आलोचना हुँदा त्यसको केन्द्रविन्दुमा प्रधानमन्त्री ओली नै पुर्नभएको छ । राजवादीहरूले आफ्नो सक्रियता अझ बढाउँदै लगेका छन् । वर्तमान व्यवस्थाविरुद्धको राजावादीको चलखेल प्रधानमन्त्री ओलीको लागि चुनौती बन्दै गएको छ ।
५. आन्दोलनमय सडक
सरकारको नौ महिने कार्यकालमा सडक आन्दोलनै-आन्दोलनले आक्रान्त छ । कहिले राजावादी त कहिले विपक्षी अनि कहिले विभिन्न पेसाकर्मीले सडक तताएका छन् । राजावादीहरूले सडक तताउन छाडेका छैनन् । राजावादी दल तथा संसद्को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ । राजनीतिक आन्दोलनबाहेक शिक्षक तथा विभिन्न पेसागत कर्मचारीहरू पनि सडकमा ओर्लिएका छन् । चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजबीच भएको सहमति कार्यान्वयन नभएको चिकित्सकहरू पनि सडक आन्दोलनमा छन् । माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना जारी रहँदा माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन चलिरहेको छ ।
६. विद्या भण्डारीको कसरतले एमालेभित्रैबाट समस्या
प्रधानमन्त्री ओलीका लागि पूर्वराजाको प्रदेश यात्राभन्दा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रदेश भ्रमण बढ्ता टाउको दुःखाइ बन्न पुगेको छ । भण्डारीलाई एमाले अध्यक्ष भएर आफू राजनीतिबाट विस्थापित हुने भय ओलीमा छ । भण्डारीले आफू एमाले अध्यक्ष बन्न चाहेको कुरा सार्वजनिक अभिव्यक्तिबाटै पुष्टि हुन्छ । भण्डारीको सक्रियताले झस्किनुभएका ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन नउकास्न कार्यकर्तालाई निर्देशनसमेत दिइसक्नु भएको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूबिनाको एमाले कल्पना नगर्न चेतावनी दिनुभएको छ । शिक्षामन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्रीबाटै असहयोग भएको कुरा नेकपा एमालेभित्रबाटै उठ्न थालेको छ ।
७. भारतसँगको सम्बन्ध
भारतीय समकक्षी नरेन्द्र मोदीसँग गत चैतमा बैंककमा,अनि पोहोर असोजमा न्यूयोर्कमा साइडलाइन भेट गरे पनि प्रधानमन्त्री ओलीले भारत भ्रमणको अवसर अझै पाउनुभएको छैन । ओलीले दिएको नेपाल भ्रमणको निम्तो भारतीय सकमक्षी मोदीले व्यवहारतः सकारेका छैनन् । मोदीको निम्तो ओलीले पाउनुभएको छैन । बैंककमा एक्लाएक्लै तुलनात्मक सौहार्द वार्ता भयो भनिए पनि नतिजामा त्यो देखिन सकेको छैन । सरकार बनेदेखि नै कांग्रेस नेतृसमेत रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा पटक-पटक भारत गएर ओलीको भ्रमणबारे बिलौना गर्दा समेत त्यसले सार्थकता पाउन सकेको छैन । चौतर्फी घेराबन्दी र संकट आइलाग्दासमेत प्रधानमन्त्री ओली समस्या समाधान गर्नेभन्दा झन् बनाउनेतिर उद्यत देखिनुभएको छ । पार्टीको भ्रातृसंगठन युवासंघलाई सार्वजनिक मञ्चबाटै केही दिनअघि ओलीले बाघ बन्न निर्देशन दिनुभयो । शिक्षकहरूको आन्दोलन समाधान गर्नेभन्दा प्रधानमन्त्री टसल लिन खोजिरहनु भएको छ । शिक्षक आन्दोलनलाई प्रधानमन्त्री ओलीले दुःख पाउनु नपर्ने र सडकमा गएर सुत्नै नपर्ने टिप्पणी गर्नुभयो । चैत १५ गते भएको राजावादीको प्रदर्शनअघि पनि उहाँले हल्का टिप्पणी गर्नुभएको थियो । झापासहित विभिन्न स्थानमा शक्ति प्रदर्शन गरिरहेको एमालेले आज संघीय राजधानी काठमाडौं केन्द्रित शक्ति प्रदर्शन गर्दै छ ।
सभापति फर्केपछि अर्को तरिकाले अघि बढ्छौँ : उपसभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारका कमीकमजोरी र काम गर्ने शैलीलाई सच्याउनुपर्ने बताउनुभएको छ । कांग्रेस र एमालेबीच पूर्वसहमतिअनुसार नै अघि बढ्ने दाबी गर्दै भन्नुभयो, ‘सरकारका कमी कमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ तर कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि र जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ, त्यसमा दायाँबायाँ हुँदैन । सरकारका काम कारबाहीबारे छिट्टै गम्भीर छलफल हुँदै छ, सभापति फर्किसकेपछि हामी अर्को तरिकाले अघि बढ्नेछौँ ।’
सरकार पूर्णरूपमा असफल : माओवादी केन्द्र
प्रमुख प्रतिपक्षी दल माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरूपमा असफल भइसकेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार असफल भइसकेको दाबी गर्नुभएको छ । सरकारको कुशासन र नालायकीका कारण जनता निराश र आक्रोशित रहेको जिकिर गर्दै सापकोटाले भन्नुभयो, ‘जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामी सलबलाइरहेका छन् । सरकार पूर्णरूपमा फेल भइसकेको छ ।’ माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सत्ता लम्ब्याउने कलाविहीन नाटकको संज्ञासमेत दिएको छ ।
नीति तथा कार्यक्रम १९ वैशाखमा पेस हुने
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेण्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पार्नुभएको हो । त्यस्तै, आगामी जेठ २ गतेबाट प्री–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेण्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । सभामुख घिमिरेले छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच