
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रूपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको नेपालमा प्रभावकारी ज्याला नीति तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
श्रमिकहरूको प्रभावकारी ज्यालाका लागि राष्ट्रको आर्थिक विकास र समृद्धिको राष्ट्रिय आवश्यकता पूरा गर्न निजी क्षेत्रलाई अधिकतम परिचालन गरिनुपर्नेमा उहाँको जोड थियो ।
न्यून आर्थिक वृद्धिदर, उद्योग क्षेत्रको संकुचन तथा न्यून उत्पादन तथा उत्पादकत्व जस्ता कारणले व्यवसायमा प्रभाव पारेको उल्लेख गर्दै ढकालले पारिश्रमिक वृद्धिले सिर्जना गर्ने दायित्व तथा सोको व्यवस्थापन निकै चुनौतीपूर्ण रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हालको पारिश्रमिक वृद्धिदरले अर्थतन्त्रको लागत बढ्ने देखिन्छ । त्यसका साथै श्रमिक तथा कामदारलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक भुक्तानी गर्ने क्षमता घट्दै अन्ततः व्यावसायिक गतिविधि नै बन्द गर्नुपर्ने अवस्थामा रोजगारदाता पुग्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन सक्छ । यो विचारणीय पक्ष हो भन्ने मलाई लाग्छ ।’
अध्यक्ष ढकालले आइएलओको ग्लोबल वेज रिपोर्ट २०२४-२५ अनुसार एसिया र प्रशान्त क्षेत्रहरूमा औसत वास्तविक ज्याला अन्य क्षेत्रहरूको तुलनामा छिटो बढेको पनि बताउनुभयो । आइएलओले स्थापनाकालदेखि नै न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी विश्वव्यापी बहसमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले आइएलओले प्रतिपादन गरेको सिद्धान्त र मान्यताको भावनाबमोजिम नेपालले श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ मार्फत न्यूनतम पारिश्रमिक निर्धारणका आधार तथा विधिहरू निर्धारण गरेको बताउनुभयो ।
नेपालमा हालसम्मको पारिश्रमिक वृद्धि परिपाटीलाई हेर्दा अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा पार्ने प्रभावका साथै निजी क्षेत्रको कार्यकुशलतामा पार्ने असरलाई विस्तृत रूपमा विश्लेषण गर्ने पद्धति नरहेको चर्चा गर्दै ढकालले पारिश्रमिकको दिगोपन कायम गर्दै निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा लगानीयोग्य वातावरणको निर्माण गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
निजी क्षेत्रको लगानी विस्तार एवं सुनिश्चित प्रतिफल र असीमित दायित्व सिर्जना नहुने गरी पारिश्रमिक तय गरिनुपर्नेमा रोजगारदाताको सुझाव रहँदै आएको उहाँले जानकारी गराउनुभयो । तीन दिनसम्म चल्ने कार्यशालाको श्रम रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरत सिंह भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच