
काठमाडौं । लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रम भएको छ । जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको हो । आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलिब्रेसनस्वरूप कार्यक्रम गरिएको एमालेले जनाएको छ । कार्यक्रममा सहभागी हुन देशभरबाट पार्टीनिकट जनवर्गीय संगठनका युवाहरू काठमाडौंमा भेला भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) ले सरकार बनाऊ, सरकार बचाऊ भन्दै नहिँडेको बताउनुभएको छ । नेता-कार्यकर्ताले मिसन २०८४ मा ध्यान दिनुपर्ने बताउँदै उहाँले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरू एमालेविरुद्ध खनिएको बताउनुभयो । ‘यतिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले । अर्को जनपक्षीयताको कारणले लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले । विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभित भएका छन् । दिनैपिच्छे अनेक प्रकार भ्रम फिँजाउन खोजिरहेका छन्,’ उहाँले भन्नुभयो ।
विरोधी तत्वहरूले हरेक कुरामा सरकार जान्छ, सरकार जान्छ भनेर भन्न थालेको बताउँदै लोकतन्त्रमा सरकार लामो कति समयका लागि बन्छ ? भन्दै प्रश्न गर्नुभयो । ‘लोकतन्त्रमा सरकार लामो कति समयका लागि बन्छ ? पाँच वर्ष । अनि यो तानाशाही व्यवस्था त होइन । अधिनायकवाद त होइन । ५० वर्षको वंशको शासन हुन्छ । सय वर्षको हुन्छ । २५० वर्षका लागि हुन्छ । १०४ वर्षका लागि हुन्छ,’ उहाँले भन्नुभयो । एमालेले भनेको स्थिरता लोकतन्त्रको, गतिशीलताको र जनताको अभिमतसहितको स्थिर भएको बताउनुभयो । ‘यतिबेला नेकपा (एमाले) र कांग्रेसको एउटा संकल्पसहित बनेको सरकार हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्छ । यसैकारण एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन । नेकपा (एमाले)ले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौँ । २०७४ को चुनाव भन्यौँ । २०७९ को चुनाव भन्यौँ र २०८४ को चुनाव भनिरहेका छौँ । ढुक्कले मिसन २०८४मा लाग्नुस्,’ उहाँले भन्नुभयो । अहिले संसद्को बनावटअनुसार सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने जे गर्नुपर्छ, ठीक ढंगले एमालेले गर्ने पनि बताउनुभयो । त्यसकारण यसको चिन्ता नगर्नुस, मिसन २०८४ मा ध्यान दिनुस्,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो ।
उक्त कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको थियो । कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको थियो । समावेशी वक्ताहरूमा इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पिएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायत थिए ।
राजनीतिक दुष्चक्रले जनता चिन्तित छन् : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताउनुभएको छ । साथै उहाँले युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताउनुभयो । बिहीबार ‘युथ सेलिब्रेसन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र समृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताउनुभयो । उहाँले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत धु्रवीकरणसमेत गर्न नहुने बताउनुभयो । ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ । अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन । विचारलाई एकीकृत गर्नुपर्दछ र संकल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ’, पोखरेलले भन्नुभयो, ‘जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन् ।’ युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गर्नुभयो । पोखरेलले देश हितका निम्ति दरिलो ढंगले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच