
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीला कुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन मुद्दा दर्ता भएको छ । नगर प्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इञ्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन गरी हानि नोक्सानी गरेको अभियोगमा मुद्दा दायर भएको हो । उनीहरूविरुद्ध पाँच वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने मागदाबी छ ।
२०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख भरत थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए । सागरनाथ विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी, परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नाम राखिएको थियो । अहिले त्यहाँ निर्माण भएको भरत ताल पर्यटकहरूको आकर्षकको केन्द्र बने पनि तत्कालीन नगरप्रमुख भरत थापाले कानुनमा भएको प्रावधानलाई लत्याएकै परिणामस्वरूप वन मुद्दा लगाउने अवस्था आइपुगेको अधिकारीहरू बताउँछन् ।
वन ऐन, २०७६ को दफा ४९ बमोजिम डिभिजन वन कार्यालय सर्लाहीले अनुसन्धान गरेको थियो । उक्त ऐनको दफा ४९ (छ) मा राष्ट्रिय वन क्षेत्रको रूख वा विरुवा काट्ने, हाँगाबिंगा छिमल्ने, खोटो वा बोक्रा झिक्ने वा कुनै पनि प्रकारले नोक्सानी गरेमा, वन क्षेत्रबाट बग्ने नदीबाट ढुंगा, गिट्टी, बालुवा वा माटो झिक्ने, निकाल्ने वा संकलन गर्ने काम गरेमा वन ऐनसम्बन्धी कसुरको मुद्दा लाग्छ । सागरनाथ वन विकास परियोजनाको १७३ हेक्टर क्षेत्रफलमा बनाइएको भरत ताल, त्यस वरपरका क्षेत्रमा बनाइएको संरचना, वन क्षेत्रमा काटिएको रूख, भएको हानि नोक्सानीमा उनीहरूको संलग्न देखिएपछि अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न मागदाबी गरिएको हो ।
यसअघि नै दायर भएको थियो भ्रष्टाचार मुद्दा
सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी सर्लाहीको बागमती नगरपालिकामा निर्माण गरिएको भरत ताल तथा त्यस वरपरका संरचनालाई केन्द्रित गरेर डिभिजन वन कार्यालय सर्लाहीले अनुसन्धान अगाडि बढाएको थियो । डिभिजन वन कार्यालय सर्लाहीले वन ऐन, २०७६ अन्तर्गत अनुसन्धान अगाडि बढाएपछि नगरपालिकाका जनप्रतिनिधिहरूको भागाभाग भएको थियो । बागमती माछापोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नै दायर गरिसकेको छ । मुद्दा दायरपछि उनी निलम्बनमा छन् ।
अख्तियारले गत जेठ २९ गते नगरप्रमुख थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको हिनामिना भएको भन्दै आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । निलम्बित नगरप्रमुख थापाविरुद्ध यसअघि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पनि आयोगले २०८० चैत २८ गते ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच