
काठमाडौं । जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत-पाकिस्तानबीच तनाव बढेको छ । हमलापछि दुवै देशले एक-अर्काविरुद्ध कडा कदमहरू चालेका हुन् । भारतले सिन्धु जल सन्धि निलम्बन गर्नेलगायत कडा कदम चालेपछि पाकिस्तान पनि प्रतिवादमा उत्रिएको छ । पाकिस्तानले दुई देशबीचका सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गरेको छ । शिमला सम्झौता रद्ध गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । भारतसँगको सबै व्यापार स्थगित गर्दै भारतीय स्वामित्वमा रहेका र भारतीय सञ्चालित सबै एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको डन न्युजले जनाएको छ । भारत-पाकिस्तानले गरेको निर्णयले दुई देशबीच युद्धको खतरा बढेको भन्दै चिन्तासमेत व्यक्त गर्न थालिएको छ ।
यसअघि भारतले भारतले पाकिस्तानविरुद्ध कडा कदमहरू चालेको थियो । सिन्धु जल सन्धि निलम्बनसहित पाँच निर्णय गरेको थियो । पाकिस्तानले सीमापार आतंकवादलाई विश्वसनीय रूपमा समर्थन गर्न बन्द नगरेसम्म निलम्बन लागू रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसका साथै अटारी सीमा पनि बन्द गर्ने निर्णय गरिएको छ । पाकिस्तानी नागरिकको सार्क भिसा पनि रद्द गरिएको छ । पाकिस्तानी नागरिकलाई पहिले जारी गरिएका भिसाहरू रद्द मानिने हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूले ४८ घण्टाभित्र भारत छोड्नु भनिएको छ ।
भारतको विदेश मन्त्रालयले जारी गरेको निर्देशनअनुसार भारतीय नागरिकहरूलाई पाकिस्तानको यात्रा नगर्न कडा सल्लाह दिइएको छ । भारतले हाल पाकिस्तानमा रहेका भारतीयहरूलाई घर फर्कन सल्लाह दिएको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारलाई अवाञ्छित व्यक्ति घोषित गरिएको छ । उनीहरूलाई भारत छोड्न एक हप्ताको समय दिइएको छ । भारतले इस्लामावादस्थित आफ्नो उच्चायोगबाट रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाइरहेको छ । मंगलबार भएको पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । वैसरण उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित रहेको बेला आक्रमण भएको थियो ।
पाकिस्तानमा खतराको घण्टी !
पाकिस्तानको कृषि, पिउने पानी र बिजुली उत्पादनको ठूलो हिस्सा सिन्धु नदीको पानीमा निर्भर छ । विश्व बैंकको मध्यस्थतामा यो सम्झौता १९६० मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयुब खानबीच हस्ताक्षर भएको थियो । सम्झौतामा सिन्धु बेसिनबाट बग्ने ६ वटा नदीहरूलाई पूर्वी र पश्चिमी भागमा विभाजन गरिएको थियो । यीमध्ये, ब्यास, रावी र सतलजलाई पूर्वी नदी मानिन्थ्यो र तिनीहरूको पानी भारतको लागि आरक्षित गरिएको थियो । एकै समयमा, सिन्धु, चेनाब र झेलमलाई पश्चिमी नदी मानिन्थ्यो र तिनीहरूको पानी पाकिस्तानको लागि आरक्षित गरिएको थियो । सन्धि निलम्बन गरेसँगै भारतले पश्चिमी नदी सिन्धु, चेनाब र झेलमको पानी रोक्न सक्छ ।
पाकिस्तानको ८० प्रतिशत खेतीयोग्य जमिन सिन्धु नदी प्रणालीको पानीमा निर्भर छ । पानीको ९३ प्रतिशत सिँचाइको लागि प्रयोग गरिन्छ । पाकिस्तानको राष्ट्रिय आयमा कृषि क्षेत्रले २३ प्रतिशत योगदान पुर्याउँछ, ६८ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । पाकिस्तानका प्रमुख सहरहरू जस्तैः कराँची, लाहोर र मुल्तान सिन्धु र यसका सहायक नदीहरूको पानीमा निर्भर छन् । पाकिस्तानका तारबेला र मंगला जस्ता विद्युत् परियोजनाहरू सिन्धु नदीको पानी प्रयोग गरेर सञ्चालित छन् । सिन्धुको पानी यदि भारतले रोकेमा पाकिस्तानमा खाद्य उत्पादन घट्न सक्छ र जसले खाद्य सुरक्षालाई खतरामा पार्नसक्छ ।
सिन्धु जल सन्धि स्थगित गर्ने भारतको कदमले पाकिस्तानमा खतराको घण्टी बजाएको छ । पाकिस्तानको अस्तित्व सिन्धु नदी प्रणालीमा निर्भर छ । पानी युद्धले पाकिस्तानको अर्थतन्त्र, कृषि र सामाजिक स्थिरतालाई कमजोर बनाउन सक्छ । सिन्धु नदी पाकिस्तानको अस्तित्वको मेरुदण्ड हो । पाकिस्तान संसारको सबैभन्दा सुक्खा देशहरूमध्ये एक हो । पाकिस्तानमा वार्षिक २४० मिमी मात्र वर्षा हुन्छ । २४ करोडभन्दा बढी जनसंख्या भएको पाकिस्तानमा ९० प्रतिशत ताजा पानी सिन्धु नदीमा निर्भर छ । यदि भारतले सिन्धु जल सन्धि रद्द ग¥यो र सिन्धु, झेलम र चेनाब नदीको बहाव रोक्यो भने पाकिस्तानको लागि परिणाम विनाशकारी हुनेछ ।
आतंककारीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइनेछ : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी आक्रमणमा संलग्नलाई कल्पनाभन्दा ठूलो सजाय दिइने बताउनुभएको छ । हमलापछि बिहीबार बिहारको मधुबनीमा आयोजित सार्वजनिक कार्यक्रममा उहाँले भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिने बताउनुभयो । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न नसक्ने उहाँको भनाइ थियो । ‘आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छोड्ने छैनौँ,’ उहाँले भन्नुभयो, ‘आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन । न्याय सुनिश्चित गर्न आवश्यक पर्ने जस्तोसुकै प्रयास गरिनेछ । सम्पूर्ण राष्ट्र यस संकल्पमा एकताबद्ध छ । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ ।’ देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेको उहाँले बताउनुभयो । ‘यो आक्रमण केवल निहत्था पर्यटकहरूमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेका छन्,’ उहाँले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यो आक्रमण गर्ने आतंककारीहरू र षड्यन्त्र गर्नेहरूलाई उनीहरूले कल्पना गर्न सक्नेभन्दा पनि खराब सजाय दिइनेछ । अब आतंककारीहरूलाई ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतंककारी मालिकहरूको ढाड भाँचिदिने छ ।’
भारतले सिन्धु जल सन्धि रोके युद्धको कार्य मानिनेछ : पाकिस्तान
भारतले लिएको कडा निर्णयको प्रतिक्रियामा पाकिस्तानले दुई देशबीचका सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गरेको छ । बिहीबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले १९७२ को शिमला सम्झौता रद्द गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । यदि भारतले सिन्धु जल सन्धि रोके यसलाई युद्धको कार्य मानिने पाकिस्तानले चेतावनी दिएको छ । पाकिस्तानले सार्कअन्तर्गत सबै भिसा निलम्बन गरेको छ । सिख तीर्थयात्रीहरूबाहेक सबै भारतीय नागरिकहरूलाई ४८ घण्टाभित्र स्वदेश फर्कन आदेश दिइएको छ । भारतसँगको सबै व्यापार स्थगित गर्दै भारतीय स्वामित्वमा रहेका र भारतीय सञ्चालित सबै एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको डन न्युजले जनाएको छ । पाकिस्तानले वाघा सीमा पनि बन्द गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तानबीच २ जुलाई १९७२ मा शिमला सम्झौतामा हस्ताक्षर भएको थियो । यो द्विपक्षीय सम्झौतामा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका तत्कालीन राष्ट्रपति (पछि प्रधानमन्त्री) जुल्फिकार अली भुट्टोले हस्ताक्षर गर्नुभएको थियो । यो सम्झौता १९७१ को भारत-पाकिस्तान युद्धपछि भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच