
दक्षिण एसियामा पुनः आतंकवादले फणा उठाएको छ । भारतको कश्मीरस्थित अत्यन्त सुन्दर पर्यटकीय गन्तव्य पहलगाममा मुस्लिम आतंककारीहरूले अत्यन्त अमानवीय क्रूर तथा कायर आक्रमण गरी निर्दोष २६ जना पर्यटकहरूको हत्या गरेको घटनाको जति निन्दा गरे पनि कम हुन्छ । ती मारिने पर्यटकमा एकजना नेपाली पर्यटक सुदीप न्यौपानेको पनि ज्यान गुमेको छ । पर्यटकहरूमध्ये हिन्दु वा अहिन्दु छुट्याउँदै हिन्दुहरूलाई जसरी हत्या गरियो त्यसलाई हिंसक पशुकृत्यको चरम उदाहारण मान्नुपर्ने हुन्छ । पहिलो पटक धर्मको पहिचान गरी अलग गर्दै यसरी भएको आक्रमणले हिंसा र आतंकको नयाँ अभ्यास सुरु भएको संकेत दिएको छ । जम्मु-कश्मीरको पहलगामलाई मिनी स्वीजरल्याण्ड भन्ने गरिएको थियो । भारतीय अर्थतन्त्रका लागि, सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन महत्वपूर्ण आधार मानिन्छन् । जम्मु-कश्मीरबाट भारतीय संविधानले प्रदान गरेको विशेष स्थानलाई भारतीय जनता पार्टीको सरकारले खारेज गरेको थियो ।
संविधानमा नै संशोधन गरी धारा ३७० खारेज गरेपछि जम्मु-कश्मीरमा भइरहेका विगतका जस्ता आतंकवादी घटनाहरू कमै सुनिन्थे । तर, विस्तारै नयाँ ढंगले आतंकवाद देखापरेको छ । अमेरिकाको न्यूयोर्कमा भएको चर्चित ट्वीनटावर घटना, भारतकै मुम्बईको घटना र दुई वर्ष पहिले इजरायलको गाजापट्टी क्षेत्रमा भएको निन्दनीय आक्रमण आतंकवादका क्रूर उदाहरणहरू हुन् । आतंकवाद भन्नासाथ क्रूरताको अर्को पाटो हो । निर्दोष मानिसलाई आतंकित पार्दै आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयत्न हो आतंकवादी काम । प्रत्यक्ष हुने युद्धभन्दा पनि क्रूर हुन्छ आतंकवाद । विगतमा आतंकका रूपमा हवाई अपहरण, मानिसहरूलाई बन्धक बनाउने रणनीति, गैरकानुनी ढंगले असुली र कब्जा, हत्या आदि पर्ने गरेका हुन् । तर, न्यूयोर्कको सर्वाधिक व्यस्त शहर, विश्वचर्चित समदूरीका दुई टावर केन्द्रित गरी २००१ सेप्टेम्बर एघारमा अलकायदाले गरेको हवाई विष्फोटन आतंकको नयाँ रूप थियो । जसमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए ।
यसपछि सन् २००८ मा पर्यटन र चलचित्र नगरी मुम्बईस्थित प्रख्यात ताज होटललाई कब्जा गरी इस्लामिक अतिवादीहरूले गरेको निर्मम हत्याको आलो घाउ नसुक्दै भारतकै अर्को पर्यटकीय केन्द्र जम्मु-कश्मीरलाई आतंककारीहरूले लक्षित गरेका छन् । किन यस्तो आतंक फैलाउने काम हुन्छ ? किन मानिस यतिविधि निच काममा उत्रन्छन् ? जति प्रश्न गरे पनि उत्तर पाउन सकिँदैन । पहलगामको घटनालाई अहिले हमास आक्रमणसँग तुलना गरिँदैछ । इजरायलको गाजापट्टीमा २०२३ अक्टोवरमा हमासले आतंकको क्रूर नमुना देखाएको थियो । सांस्कृतिक कार्यक्रममा रमाइरहेका युवायुवतीहरूलाई घेराबन्दी गरी करिब १२ सयको ज्यान लिएका थिए र तीन सयभन्दा बढीलाई बन्दी बनाएका थिए । विनाहातहतियार मनोरञ्जन गरिरहेका निर्दोष नागरिकहरूमाथि यसरी भएको जघन्य आक्रमण र हिंसाको परिणाम अहिले प्यालेस्टाइनहरू भोगिरहेका छन् ।
चारैतिर मुसलमान राष्ट्रहरूले घेरिएको इजरायलले दुई वर्षदेखि हमासविरुद्ध गरेको आक्रमणमा पचास हजार बढीको जीवन समाप्त भएको छ । हमासको आतंकी क्रियाकलापलाई सहयोग गर्नेहरू कति छन् तर दण्डित हुने प्यालेस्टाइनहरूको संख्या लाखौंमा पुगेको छ । यसरी नै पहलगाममा भएको आतंककारी हमलाको प्रत्युत्तरमा कति मानिसहरूको कुन रूपमा जीवन समाप्त हुने हो कसैले भन्न सक्दैन । भारतमा अनेक पटक आतंकवादी आक्रमण भइसकेका छन् । भारत–पाकिस्तानबीचको विवाद र मुसलमान समूहका अतिवादीहरूको निर्मम सोचका कारण हरेक वर्ष सयांैको जीवन समाप्त हुने गरेको छ । पाकिस्तानमा पनि आतंकवादी घटनाहरू नभएका होइनन्, उत्तिकै हुने गरेका छन् । त्यहाँको आतंकवादी प्रयोग इस्लाममा विश्वास गर्नेहरूले इस्लाममा विश्वास गर्नेहरूविरुद्ध नै गरिरहेका छन् ।
केही दिन पहिले बलुचिस्थानमा भएको रेल अपहरण र बन्दक प्रकरण यस शृंखलाको पछिल्लो उदाहरण भएको थियो । सिरिया, अफगानिस्तान, सुडान, बंगलादेश जहाँ पनि आतंक र हिंसा भएका छन् तिनमा इस्लाम धर्मावलम्बीविरुद्ध इस्लाम धर्मावलम्बीहरू नै देखिन्छन् । सिया सुन्नीको विवाद त यथावत् छ । तर, पहिलोपटक हिन्दुहरूलाई छानीछानी मार्ने काम आतंककारीहरूले गरेको हुनाले यो घटनालाई फरक कोणबाट हेर्नुपर्ने देखिन्छ । त्यसमा पनि पहलगाममा घुम्न गएको एकजना नेपालीको समेत हत्या भएको हुनाले कुनै न कुनै रूपमा नेपाल पनि आतंककारीहरूको निसानामा छ भनेर बुझ्नुपर्ने हुन्छ ।
कार्गिल घटनापछि पराजित मानसिकतामा रहेको पाकिस्तानलाई जम्मु-कश्मीरको आततायी कारबाहीको जिम्मेदार भनी भारतले प्रत्यक्ष आरोपित गरेको छ । घटनाको लगत्तै भारतीय सरकारले पाकिस्तानविरुद्ध कडा कूटनीतिक निर्णयहरू गरेको छ । भारतमा रहेका सबै पाकिस्तानीहरूलाई तत्काल भारत छाड्न, पाकिस्तानी कूटनीतिकहरूलाई सात दिनभित्र भारत छाड्न आदेश दिएको छ । पाकिस्तानी उच्चायुक्तको कार्यालयमा रहेका कर्मचारी संख्या घटाउनेदेखि अत्तरी-वगाहा सीमा क्षेत्र बन्द गर्ने निर्णय भारतले गरेको छ । पाकिस्तानी भिसा सबै नै रद्द गर्दै ४८ घण्टाभित्र भारत छाड्न निर्देशन जारी गरेपछि भारत कति गम्भीर छ भन्ने स्पष्ट छ । पाकिस्तानी जनताको जीवनदायिनी सिन्धजल परियोजना सम्बद्ध सम्झौता पनि निलम्बन गरेको छ । सन् १९६० देखि पाकिस्तानी जनतालाई यही नदी सम्झौताबाट सिञ्चाइ र पिउने पानीले धानी रहेको अवस्था छ ।
आतंककारी घटनाको केही पूर्वस्थितिलाई पनि हेर्नुपर्ने हुन्छ । सन् २००८ को मुम्बईकाण्डका मुख्य योजनाकार तहवुर रानालाई अमेरिकाले एक महिना पहिले मात्रै भारतलाई प्रत्यर्पण गरेको थियो । बंगलादेशमा अहिले मुस्लिम अतिवादीहरूको प्रभाव छ । केही दिन पहिले भारतकै पश्चिम बंगाल राज्यको मुर्सिदावादमा भएको हिन्दुविरोधी आक्रमणले पनि भारतभित्र आक्रोश पैदा गरेको थियो । यसभन्दा पनि पाकिस्तानी सेना प्रमुख जेनरल मुनिरको हिन्दुभन्दा मुसलमान किन फरक भन्ने अभिव्यक्तिले पनि हिन्दुविरोधीहरूलाई उकास्ने काम गरेको देखिन्छ ।
यही पृष्ठभूमिमा कश्मीरमा आतंककारी आक्रमण भएको छ । यो आक्रमणलाई भारतले जुन गम्भीरतासाथ लिएको छ, त्यसलाई हेर्दा कुनै पनि क्षणमा भारतपाक युद्ध वा पाकिस्तानविरुद्ध सशक्त कारबाहीको सम्भावना देखिन्छ । नेपालको नागरिकसमेत आतंककारीहरूको निशासनामा परेको हुनाले यसबारे नेपाल सरकार पनि गम्भीर हुनु जरुरी छ । जुनसुकै तर्क र परिणाम भए पनि आतंकवादविरुद्ध रहनेहरू गोलबद्ध हुनुपर्छ र यस्तो जघन्य अपराधलाई दण्डित गर्ने सामथ्र्य राख्नुपर्छ । हामी आतंककारी घटनाको निन्दा गर्दछौं, पहलगाममा मारिएका सबैप्रति श्रद्धा प्रकट गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच