
नमागिएको सल्लाह :
वैशाख ११ गते लोकतन्त्र दिवस । २०६२/०६३ सालको दोस्रो जन आन्दोलन सफल भएको बीस वर्ष पूरा भएको दिन । विसं २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ र २०६१ माघ १९ मा बल प्रयोग गरी शासनसत्ता हातमा लिएर निरंकुश शासन सुरु गरेका थिए । समयले किनारा लगाई सकेका तुलसी गिरिजस्ता सहयात्रीका साथ निरंकुश शासन सञ्चालन गर्ने दुष्प्रयास गरेका थिए । आफैंले आफैंलाई कार्यकारी प्रमुख घोषणा गरेर आफू निर्विकल्प रूपमा सक्षम रहेको सन्देश दिन खोजेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध संसदवादी सातदलले आन्दोलन घोषणा गरेका थिए । संसदवादी दलको आन्दोलन त्यति प्रभावकारी हुन सकेको थिएन । तत्कालीन शासकहरूलाई दमन गर्न सफल भइन्छ कि भन्ने आशा पलाएको अवस्था थियो तर सशस्त्र द्वन्द्वरत माओवादी पक्षले साथ दिएपछि आन्दोलन सफलतातर्फ उन्मुख भएको थियो ।
सात दल र द्वन्द्वरत माओवादी पक्षबीच बाह्रबुँदे समझदारी भएपछि २०६२ चैत २४ बाट सुरु भएको आन्दोलन २०६३ वैशाख ११ गते १९ दिनमा निष्कर्षमा पुगेको थियो । आन्दोलनको सफलताको कारण राजाबाट विघटित प्रतिनिधिसभा पुनस्र्थापित भएको थियो भने राजतन्त्र विस्थापित भएको थियो । जसको कार्यान्वयन २०६३ जेठ ४ गतेको प्रतिनिधिसभाको घोषणाबाट सुरु भएको थियो । राजा ज्ञानेन्द्रको शासनविरुद्ध जनआन्दोलनमा देखिएको जनसहभागिता तत्कालीन अवस्थाको राज्य पक्षको प्रशासकको हैसियतमा सम्झँदा अत्यासलाग्दो थियो । मानिस पूरै गाउँ खाली गरेर शहरमा आएको जस्तो देखिने अवस्था कुनै सुरक्षा कारबाही गरेर नियन्त्रण गर्न सकिने अवस्था थिएन । ग्रामीण क्षेत्रमा पकड भएको माओवादीको भय मिश्रित उर्दीको कारण त्यस्तो व्यापक सहभागिता भएको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
बहुदलीय व्यवस्थापको स्थापनासँगै स्थानीय निकायमा रकम विनियोजन हुन सुरु गरेको हो यो उपलब्धि हो । एमालेले सुरु गरेको आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रम र त्यसपछिका सबै सरकारले फरक नाममा स्थानीय निकायमा रकम विनियोजन गरेको कारण देशभरि नै यस्तो परिवर्तन देखिएको छ ।
राजा ज्ञानेन्द्रले घोषणा गरेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने मानिस नपाएर तत्कालीन अवस्थाका प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतको नाताले भोगेको सास्ति अविस्मरणीय घटना क्रमको रूपमा रहेको छ । अघिल्लो दिनसम्म उम्मेदवारी दिन तयार भएकाहरू उम्मेदवारी दाखिला गर्ने दिन सम्पर्कविहीन भएको कारण तनाव सिर्जना भएको थियो । यसरी आन्दोलनको उभारले स्थानीय चुनावलाई हास्यास्पद बनाइदिएको थियो । आन्दोलनको सफलताको कारण विजय जुलुस मनाइरहेका नागरिकहरू सबै सुखका साधन प्राप्त भए जसरी खुशी मनाइरहेका थिए । आन्दोलनलाई नेतृत्व दिनेहरूप्रति जनतामा अगाध आस्था थियो । राजा र राजावादीहरू भयले दुलाभित्र पसेका थिए । राजावादी हुँ भन्ने हिम्मत कसैमा थिएन ।
राजावादीहरूलाई ज्यान कसरी जोगाउने र भोलिका दिनमा कानुनको कठघराबाट कसरी जोगिने भन्ने चिन्ता थियो । राजाको शासनका प्रमुखपात्र तुलसी गिरि रायमाझी आयोगमा बयान दिन जाँदा थुनामा पर्ने डरले बोरिया बिस्तर र परिवारका सदस्यसँगै लिएर गएको भन्ने तत्कालीन आयोगका अध्यक्षको भनाइबाट पनि तत्कालीन शासकहरू परिवर्तीत शक्तिबाट कति भयातुर थिए भन्ने सहजै अनुमान लगाउन सकिन्छ । आन्दोलनको सफलताको परिस्थिति उल्लासमय र प्रतिगमनको खतराविहीन थियो । नेपाली जनताले आफ्नो सपना साकार भएको दिनको रूपमा लिएका थिए ।
भ्युटारबाट चियाउँदा :
२०६२/०६३ को जनआन्दोलनका दुई दशकमा मात्र १६ वटा सरकार गठन भए । संविधान जारी हुनमै दश वर्ष लाग्यो । पहिलो संविधानसभा संविधान जारी गर्न असफल भएको कारण दोस्रो संविधानसभा गठन गर्नुपर्ने अवस्था बन्यो । संविधान जारी भएका दश वर्षमा आठवटा सरकार बने । यो बीस वर्षमा केही नै काम भएन त ? अहिले समाजमा चलेको केही भएन भन्ने भाष्य नै सही हो त ? म मेरो जन्मेको स्थानको उदाहरणबाट विश्लेषण गर्न चाहन्छु । ओखलढुंगा चिसंखुगढी गाउँपालिकाको छहरे कोइराला गाउँ । बाटाको नाममा धेरै साँघुरा गल्ली । लडिएला कि भनेर जोगिएर हिँड्नुपर्ने अवस्था । पानीका लागि करिब १५ मिनेट हिँडेर कुवामा पुग्नुपर्ने, पालो कुरेर पानी भर्नुपर्ने अवस्था ।
उज्यालोका लागि उदयपुरको कटारीबाट बोकेर ल्याएको मट्टितेलको सहारामा बाल्नुपर्ने टुकी, प्राथमिक शिक्षाका लागि घटीमा एक डेढ घण्टा हिँड्नुपर्ने अवस्था । औषधिमूलोका लागि एक बिहान हिँडेर पुग्नुपर्ने रुम्जाटार अस्पताल अन्यथा धामी झाँक्रीको भर । उच्च शिक्षाका लागि पाँच दिन पैदल हिँडेर तराई झर्नुपर्ने अवस्था । सञ्चारका लागि ओखलढुंगामा आकाशवाणी सेवा, केही सीमित घरमा रेडियो । आजको अवस्था–रुम्जाटारसम्म केही बिग्रेको भए पनि कालोपत्रे सडक, छहरे कोइराला गाउँका हरेक घरमा भाडाको गाडी पुगेर पिकअप गर्ने अवस्था, घरैपिच्छे धारा, केही मिनेटको हिँडाइमा विद्यालय र स्वास्थ्य केन्द्र, हरेक घरमा केन्द्रीय विद्युत् प्रणालीको विद्युत्, जडान गरेको खण्डमा घरघरमै इन्टरनेट, परिवारका हरेक सदस्यका हात हातमा मोबाइल । घरघरमा टेलिभिजन ।
माथिको विवरण नियाल्दा आमूल परिवर्तन भएको महसुस हुन्छ । यो मेरो गाउँको कुरामात्र होइन । देशभित्रकै हो । हाम्रो जिल्ला र गाउँ, नेता नेतृत्व नभएको निम्सरो कोटिको । पञ्चायती व्यवस्थामा शहीदको कारण हेपिएको । बहुदलीय परिवर्तनपछि दरिलो नेतृत्वको अभावको कारण हेपाइमा परेको । यस्तो स्थानमा यस्तो परिवर्तन छ भने डडेल्धुरा, झापा, इलाम, नुवाकोटलगायतका नेताहरूको सर्वकालिक वर्चस्व भएका जिल्लाहरूको अवस्था त धेरै फरक छ । बहुदलीय व्यवस्थापको स्थापनासँगै स्थानीय निकायमा रकम विनियोजन हुन सुरु गरेको उपलब्धि हो यो । एमालेले सुरु गरेको आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम र त्यसपछिका सबै सरकारले फरक नाममा स्थानीय निकायमा रकम विनियोजन गरेको कारण देशभरि नै यस्तो परिवर्तन देखिएको छ ।
नेपालमा शिशु अवस्थादेखि नै लोकतन्त्रलाई कुपोषित गरियो । लोकतन्त्रका मातापिता हुँ भन्नेहरू नै यसलाई आफ्नो स्वार्थ सिद्धिको साधन बनाउँन उद्यत् हुनथाले । राजनीतिलाई सेवाभन्दा व्यवसायको रूपमा लिँदा आजको निराशापूर्ण अवस्था बन्यो । पार्टी नेतृत्व पंक्तिमा नेतृत्वमा पुगेर जनतालाई सेवा प्रवाह गर्नेभन्दा आफूलाई कसरी धन प्राप्त हुन्छ त्यसमा लाग्ने काम भयो ।
पाथिभरा दर्शनको क्रममा जाँदा ताप्लेजुङ जस्तो हिमाली जिल्लाका ग्रामीण क्षेत्रमा देखिएको (कच्ची र अस्थिर अवस्थाको भए पनि) सडक सञ्जालले चकित बनाएको थियो । परिवर्तन नभएको होइन भएको छ । समस्या जुन गतिमा विश्वको प्रगति भएको छ त्यस गतिमा हुन सकेन । जस्ता निःस्वार्थ र देश विकासको दृष्टिकोण भएका नेता र प्रशासक हुनुपर्ने हो त्यो हामीकहाँ भएनन् । लेकतन्त्र यस्तो उन्नत व्यवस्था हो, जसमा लोकहित र लोककल्याणका कुरामात्र गरिन्छ । संविधान, कानुनमा लेखिएका अक्षर र शब्दभन्दा पनि यो एउटा जीवन पद्धति हो । संविधान र कानुनको सदाशयताभन्दा हजारौं गुणा सकारात्मक रूपमा व्याख्या गरिने ग्रहण गरिने परिपाटी हो । जनताले औंलो ठड्याएको अवस्थामा नतमस्तक हुने परिपाटी हो यो । यसलाई जीवन पद्धतिको रूपमा ग्रहण गर्न सक्दा परेको बेलामा त्याग र साहस देखाउँन सक्दा यो प्रणाली अझ निखारिएर जान्छ ।
नेपालमा के भयो ?
नेपालमा शिशु अवस्थादेखि नै लोकतन्त्रलाई कुपोषित गरियो । लोकतन्त्रका मातापिता हुँ भन्नेहरू नै यसलाई आफ्नो स्वार्थ सिद्धिको साधन बनाउन उद्यत् हुनथाले । राजनीतिलाई सेवाभन्दा व्यवसायको रूपमा लिँदा आजको निराशापूर्ण अवस्था बन्यो । पार्टी नेतृत्व पंक्तिमा नेतृत्वमा स्थायी रूपमा कब्जा गर्ने, नेतृत्व हस्तान्तरण नगर्ने, नेतृत्वमा पुगेर जनतालाई सेवा प्रवाह गर्ने, उद्योग धन्धा कलकारखाना खोल्ने वातावरण बनाउनेभन्दा आफूलाई कसरी धन प्राप्त हुन्छ त्यसमा लाग्ने । विलासी जीवन बिताउनेमात्र होइन आफ्नो राजनीतिक वर्चस्व रक्षा गर्न प्रतिनिधि र कार्यकर्ता खरिबबिक्री गर्न अकूत सम्पत्ति आर्जन गर्ने, भर्ना नियुक्तिमा असल र सक्षमको खोजी नगर्ने ।
पहिले नै नियुक्तिका लागि रिसवत उपलब्ध गराउने (प्रिपेड) र नियुक्ति पाइसकेपछि कमाएर रिसवत दाखिला गर्ने (पोष्टपेड) हरूको खोजी गर्ने, यस्ताका लागि बिचौलियाहरू हरेक नेताको शयनकक्षसम्म विनाछेकवार पुग्ने अवस्थाले अहिलेको नेपालको राजनीतिलाई विकृत बनाएको छ । नेतृत्वप्रति आस्थाको सट्टा घृणाभाव बढ्दो छ । माथिको कर्ममा विरासद प्राप्त तीन पार्टीका नेताको आलोपालो खेल्ने म्युजिकल चेयरको खेलले नेपाली जनतालाई वाक्क दिक्क बनाएको छ । पूर्वराजा ज्ञानेन्द्रको फागुनपछिको सक्रियता उनी लोकप्रिय भएको कारण होइन । जनताको निराशाको उपज हो । दुर्गा प्रसाईं जस्ता कुनै हैसियत नभएका उद्धण्ड मानिसको वरिपरि सञ्चार जगत र बुद्धिजीवीहरू अल्मलिने परिस्थिति बन्नु जनतामा चुलिँदै गएको निराशाको संकेत हो ।
यस निराशाको बाढी किनाराविनाको नदी जस्तै गरी बगिरहेको छ । निराशाको बाढी, किनाराविना पनि अहिलेसम्म आफ्नै बाटो र लयमा बगिरहेको छ । जुन दिन निराशाको बाढीले आफ्नो लय बदलिन्छ, त्यो बदलिएको दिन सत्तासीनहरूका लागि त कल्पनातीत हुने नै छ हामी सर्वसाधारण जनताका लागि पनि विपत्तिपूर्ण र कष्टकर हुनेछ । त्यसैले, अहिले म्युजिकल चेयर खेल्नेहरू सावधान बन्नुपर्ने अवस्था हो । देश र राज्य संयन्त्र कसैले कसैबाट पाएको विरासत होइन ।
क्रयविक्रयमा आधारित कथित बहुमत र अल्पमत पनि भ्रमजालमात्र हो । अब पुस्तान्तरण र द्रुत परिवर्तन अनिवार्य छ । लोकतन्त्रकालीन नेपालका नेताहरूमा भ्युटावर बनाउने होडबाजी नै चल्यो, चलिरहेकै छ । ती भ्युटावरबाट टावरका सेवाग्राहीले विविध दृश्य देखेका होलान् । यो पंक्तिकारले भने लोकतन्त्रको बीस तले भ्युटावरबाट निरुद्देश्य जनविष्फोटको मलिन चित्रमात्र देखिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच