नेपाली समाज विविधतामा एकता भएको समाज हो । आफैँभित्रका विभिन्न जातजाति, भाषाभाषी, समतल, पहाड, उच्च शिखर, हिमाल र त्यसको प्रभाव, खानपिन, चाडपर्व, रीतिरिवाज र संकृतिको मिश्रण भएको मिश्री जत्तिकै मिठो समाज हो हाम्रो नेपाली समाज । जहाँ युगौंदेखि विभिन्न धार्मिक समुदाय एक आपसमा मिलेर समन्वयकारी ढंगले बस्दै आएका छन् । एकअर्कामा घृणा होइन श्रद्धा, समन्वय र सहयोगमा चलिआएको हो । गोरखकालीमा हरेक अष्टमीमा कालिकालाई शौभाग्य सामग्री टीका, धागो, चुरा, सिंदुर र पोतेलगायत मुसलमानले ल्याउँछन् । यसको लागि अरूको जस्तै चुरेटा मुसलमानको पनि दरबन्दी छ राजाको जस्तै जेठो हाँगाले यो शौभाग्य सामग्री पुर्याउने र तोकिएको दरबन्दी अनुसारको सुविधा प्रतिमास पाउने गरिआएका छन् ।
बौद्ध र हिन्दु एक धार्मिक सिक्काका दुईपाटा हुन्भन्दा हुन्छ । भगवान विष्णुका दस अवतारमध्ये नवौं अवतार बुद्ध अवतारलाई मानिआएका छन् । शिव-पार्वतीलाई आफ्नो कुलदेवताका रूपमा राई लिम्बुहरू विशेषत किरात जातिहरू मान्दछन् भने राई, लिम्बु, सुनुवार, बराम, मगरलगायतले आफ्नो कुलदेवीका रूपमा चण्डीलाई मान्ने र चण्डीपूर्णिमाको दिन सम्पूर्ण पितृहरूलाई प्राणी भोग दिएर÷बलिदिएर वायु बोलाई हामीले दियौँ तिमीहरूले खान पायौ कि पाएका छैनौ ? खायौ कि खाएका छैनौ ? भनेर बेलुका सोध्ने गरिन्छ ।
शाह वंशीय राजाहरू राणाकुँवरहरूले पनि मामाचेली विवाह गरिरहेका छन् । तिनले नजिर श्रीकृष्ण अर्जुनलाई लिए भन्न सकिन्छ । त्यसैले त लोकवेदमा पनि भेटिन्छ ‘क्षेत्री ठकुरीको माम्लो, जसो गर्यो त्यसै राम्रो ।’ यो व्यावहारिक पक्ष हिजो थियो आज पनि चलेकै छ ।
कुलदेवीका नाममा चण्डीनाच, घाटुनाच लाउने र गीत गाउने गरिन्छ । यो पर्व वैशाख पूर्णिमाको दिनमा पर्दछ । गौतम बुद्ध जन्मनुअघिदेखि चण्डीको पूजा गरिआएका चण्डीदेवीका उपासक मगर र बराम समुदायको अध्यावधि बौद्धपूर्णिमाको रूपमा होइन चण्डीपूर्णिमाको रूपमा त्यस दिनलाई लिने हुनाले राता अक्षता लगाउँछन् भने आफूलाई बौद्ध धर्माबलम्बी मान्ने गुरुङ, तामाङ समुदायहरू सेता अक्षता लगाउँछन् । यसरी हेर्दा सांस्कृतिक परम्परा र संस्कारमा झट्ट हेर्दा असमान भिन्नता देखिन्छ भेटिन्छ । केही कुरामा समानता पनि छन् । तथापि सबैमा समानता देखिँदैन र छैन तापनि एकतामा युगौंदेखि रहिआएका छन् । त्यसैले विविधतामा एकता छ हाम्रो समाजमा । यहाँ जातीय दंगा कहिल्यै भएको छैन गर्दैगर्दैनन् । आआफ्ना संस्कार सबैको हुन्छ, त्यसलाई सबैले सम्मान गर्छन् ।
जहाँसम्म बिहेबारीमा फुपूचेला र मामाचेलीको सवाल छ-‘मामा छोरीलाई रोजी रोजी फुपूको छोरालाई खोजी खोजी’ यो लोकवेदमा कायम भइसकेको कुरा हो । तर, यसमा परम्परागत सत्यता, शास्त्रीयता र व्यावहारिकता पनि छ । भगवान् श्रीकृष्णका फुपूको छोरा अर्जुनले कृष्णकी बहिनी (सुभद्रा) विवाह गरेका थिए । यो सोल्टासोल्टीको चलन त त्यतिबेलैदेखि स्थापित भएको रहेछ । यता आएर सुरु गरेको नयाँ चलन त होइन रहेछ नि त । अर्कोतिर व्यावहारिक पक्ष हेर्दा आफ्ना छोरा भएनन् भने सम्पत्तिको बचाऊ र उपभोगका लागि अरूभन्दा त बरु भानिज नै ठीक भयो । भानिज र छोरी सँगसँगै हुर्काएर सियोधागो जोडिदिने अवसर मिलाइदिने चलन पुराना खान्दानी खत्री, क्षेत्री, ठकुरीहरूमा पनि नभएको होइन ।
हाम्रा शाह वंशीय राजाहरू राणाकुँवरहरूले पनि मामाचेली विवाह गरिरहेकै छन् । त्यसैले तिनले पनि नजिर श्रीकृष्ण अर्जुनलाई लिए भन्न सकिन्छ । त्यसैले त भनेका होलान् लोकवेदमा पनि भेटिन्छ ‘क्षेत्री ठकुरीको माम्लो, जसो गर्यो त्यसै राम्रो ।’ यो व्यावहारिक पक्ष हिजो थियो आज पनि चलेकै छ । अझै केही समय चल्ला पनि । तर, आजकल समष्टिगत रूपमा समाजको संरचनामा एकरूपता जस्तो जस्तो लाग्ने तर आफ्नो युगौंको पुख्र्यौली परम्परा पनि छाडिहाल्न नमिल्ने, नसकिने हुनाले अझै कतै कतै विद्यमान छ किनकि कुलको विधानलाई राज्यको विधानले तुरुन्तै खण्डित गर्न सकिँदैन हँुदैन त्यहाँ पनि सम्प्र्रदायको संस्कारमाथिको हमला हुन जान्छ ।
तसर्थ बिस्तारै फुपूचेला मामाचेली विवाहमा कमी हुदैगएको छ तर राज्यको कानुनले भन्दा मानिसले बुझ्दै आए एउटै जीनमा ( वंश) मा विवाह गरिरहँदा जन्मने बालक जिन क्रस गरी जन्माएको बालकको दाँजोमा धेरै कुरामा कमजोर साबित हुन पुगेको बुझेर वैज्ञानिक तथ्यको आधारमा आफ्नैभित्रमा विवाह गर्न छाड्दै गएका छन् । यो वैज्ञानिक प्रमाणिक प्रभाव पनि हो । यसैले संस्कार अर्थपूर्ण रूपमा छाडेको पनि छैन । कडा रूपमा बन्देज गरिएको पनि छैन । यो पनि सामाजिक विधानबाट स्थापित भइसकेको र परम्परा संस्कारमै स्थापित भएकाले बिस्तारै हट्दै जाँदैछ यस्ता कुरामा जबर्जस्ती हुनै सक्दैन । समय लाग्ला तर परिवर्तन भइछाड्छ ।
उपकथा-यस्सै प्रसंगमा उहिलेको कुरा हो फुपूचेला मामाचेलीको बालककालदेखि सँगसँगै खेलेहुर्के । उमेर चढ्दै गयो एकअर्कामा आकर्षण बढ्दै गयो । कुखुरे बैंसको रमाइलो पनि भोगे । मयाप्रेम गहिरो बस्दै गयो । मामाकी छोरी फुपूको छोरा दुवैतर्फ उनीहरूको परिवारमा एकअर्काको कुरा थाहा भयो । औपचारिकता पूरा गर्न दुवैलाई सोधियो एकआपसमा मन पराएको बताए । लगन जुराएर विवाहको काम पनि सकियो । दोस्रो वर्ष गल्ला आयो लाहुरमा जान नापजाँच गरेको १८ वर्षको लक्का जवान केटा आइतबहादुर पनि छानियो । विवाह गरेकी आइतीलाई घरमा एक्लै पारेर आइते लाहुरतिर लाग्यो ।
लाहुर गएको पहिलो साल रिक्रुटको तालिमले एक वर्ष बितेको पत्तै भएन । दोस्रो वर्ष पनि फिटिङ, विभिन्न कोर्समा भाग लिने तालिम पढाइ सिकाइ गर्दैमा बितेको पत्तै भएन । तीन वर्ष लागेको पनि दुई महिना भयो । घरबाट चिट्टीपत्र पनि धेरै भयो नआएको । तैपनि आइतबहादुर फुर्तिलो र धेरैतिर भाग लिने भएकोले खेलकुददेखि अफिसरहरू समेतले उसलाई चिनिसकेका थिए । तक्मा र पुरस्कार पनि भाग लिएपछि पाइहाल्थ्यो । एकदिन कोठामा सरसफाइ गरिरहेको थियो, मनबहादुरले चिठी ल्याएर दियो ।
चिठी लिएर पर छेउमा एक्लै बसेर पढ्यो । खाममा फेरि छाम्यो औंला घुसारेर अर्को पनि सानो चिर्कटो रहेछ निकाल्यो । आइतीले उसकातर्फबाट लेख्न लाएकी रहिछ । घरको चिठीमा आइतीको कुरा केही पनि थिएन तर त्यो सानो टुक्रामा ‘तिमी कहिले आउने हो ? तिम्रो बाटो हेर्दाहेर्दै आँखा टट्टाए, दिन घरको कामले जसरीतसरी बिते पनि रात लामो हुनथालेका छन् । निद्रामा पनि तिमीलाई नै खोजिरहेकी छु । आउने भए चाँडै आऊ नत्र म पनि माइतैतिर गएर बस्छु । लोग्ने नभएको घर, मठ्यांग्रा नभएको गुलेली के काम ? यति कुरा बुझेर त्यहाँ खाई यहाँ चुठ्न आऊ ।’ तिम्रो मया गर्ने आइती ।
पढिसकेपछि एकछिन् आइतेले आँखै देखेन सबैतिर नरमाइलो मात्र होइन दिउँसै अन्धकार भयो । साँझको रोलकलमा बलैले उठेर गयो । रोलकलपछि हिजोअस्ति जस्तो फुर्तिफार्ति नदेखेर अति मिल्ने साथी घनेले भन्यो केहो वस्ताद आज सञ्चो छैन कि के हो ? त्यसो भनेको सुनेर मनेले बीचैमा भन्यो आज घरबाट चिट्टी आयो जिक्री ओइलायो । मनेले भन्यो हो र ? हो नि । यस्तो सबैलाई हुन्छ वस्ताद दुःख नमान । अब हाम्रो पल्टनका पहिला पहिलाकालाई घर बिदा छोड्ने रे जिक्री हामी पनि परिहाल्छौँ कि ? भोलिपल्ट बिहानको खाना खाएपछि हिजो बसेकै रूखको फेदमा बसेर आइते झोक्राइरहेको देखेर कोर्टमास्टरले सोधे ‘ए, आइतबहादुर किन झोक्राएको ? खोइ साब हिजो घरबाट चिठी आयो । मैले पढ्नु त पढ्यो तर कुरा बुझेन ।’ खोइ लेऊ त चिठी ।’
चिठी साबको हातमा राखेर तन्कियो । साबले दुवै चिठी पढेर चिठीको कुरा मैले बुझेँ चिठी धेरै पहिलेको पनि रैछ, तिमी मेरो अफिस कोठामा जाऊ र कागज कलम मागी लिएर आऊ भन्यो । आइते उठेर गयो र एकैछिन्मा कागजकलम लिएर आयो । साबले खुरुखुरु लेखिदिए । घरबिदाको लागि मागपत्र र यो भोलि बिहानको कमानपछि अफिसरले कसैले केही भन्नुछ ? भन्या बेलामा हात उठाउनू म अफिसरलाई सबै कुरा बताइदिन्छु ल यो पत्र लिऊ र गोप्य राख भनेर कोर्टमास्टर गयो । आइतबहादुर पनि त्यो पत्र खोल्तीमा राखेर दिउँसोको क्लासमा गयो ।
भोलिपल्ट सदा झैँ कवाजपछि अफिसरले ‘जवान हो कसैको केही भन्नु छ ?’ भन्यो । आइतबहादुरले हात उठायो । अगाडि आऊ ।
मान्छे मरे पनि मया मर्दैन, मान्छे पर सरे नि सिरानी सर्दैन । कुनै दिनकी सिरानी कुनै दिनकी परानी तर अहिले कुलंगार्नी भए नि आइतबहादुरले आफ्नो धर्म पुर्याएर छाडे । त्यसैले त ऊ जिउँदै मरेर गई । जमिन र जनाना देखेको पाइँदैन लेखेको मात्र पाइन्छ ।
कोर्टमास्टरले पहिले नै उसको चिठीसम्बन्धी जाहेरी दिएका थिए । आइतबहादुरले अगाडि आएर सेलुट ग¥यो । अफिसरले मायालु भावमा नजिक बोलाएर सुटुक्क भने ‘तिमी विवाह गरेर तरुनी स्वास्नी एक्लै छाडेर आएका रहेछौ हो ?’ ‘हो साब’ भन्दै आइते तन्कियो । ल तिमीलाई घरबिदा चाहियो त्यो कुरा मैले बुझेँ । ए माष्टर साब दिउँसो आइतलाई लिएर मकहाँ आउनू । अहिले जाऊ । हस् साब भन्दै आङ तन्काएर बाटो लाग्यो । दिउँसो कोर्टमास्टरको साथ लागेर अफिसरको अफिसमा गयो र बिदा स्वीकृत गराएर छ महिनाको छुट्टीमा घरजान आवश्यक सरसामग्री किनमेल गरेर गुन्टा कसेर आइते लाहुरे शैलीमा आमाबाउ र आइतीलाई भेट्न नेपालतिर जान हिँड्यो ।
आइतबहादुर तीन वर्षमा लाहुरबाट बाउआमा दाजुदिदीलाई अलग्गै र आफ्नी आइतीलाई लगाउने कपडा गहना खानेकुरासमेत छुट्टै अलग्गै झोला भरी सामान लिएर पाँच दिनमा उसको गाउँ गैरीगाउँ आइपुग्यो । घरमा छक्कली दिनमा दुईजना भरिया लिएर पिँढीमा भारी बिसाउन पुग्यो । बाउआमाले रमाएर आशिर्वाद दिए । दाजुदिदी खुशी भए । गाउँले हरर हेर्न आए हर्क माने तर आइती आइपुगिन । बाउआमालाई भनेर ल्याएको लुगा र गहना हातमा राखिदिएर ढोग्यो । त्यसैगरी दाजुदिदी र भाउजू अनि भतिजा भतिजीलाई सिँगारी दियो । गाउँलेलाई मिश्रीका डल्ला फोरेर बाँड्यो । आमाले भात खान बोलाएकोले भित्र भात खान गयो । भरियाहरूलाई भात खाइसकेकाले ज्याला दिएर बिदा गरेपछि बल्ल आइत भात खानभित्र पस्यो ।
भात खाँदै गर्दा आइतले सोधे आमा, आइती खोइत माइत गएकी छ ? होइन बाबु हिजो राति अर्कैसँग हिल्ला लागि रे । किन नि ? जसको सिसोबासो उसैलाई बुझाउन, जुन रूखको बोक्रा हो उही रूखमा टालिदिएछन्, सात महिनाको नानी छरे पेटमा । त्यही भएर गई तेरो भन्ने नाता अब रहेन । भात पनि मन लागी नलागी खाएर उठ्यो । चुठेर हात रुमालले पुछ्दै भन्यो ‘आमै जे भए नि मामाकी छोरी हो, मैले उसैलाई भनेर ल्याएको यो झोला एउटा मान्छेलाई बोकाएर लगेर माइतमा बोलाएर दिएर आउनू भनेर आमालाई झोला सुम्पिदियो ।
आमा एकछिन् अकमक्क परेको देखेर भन्यो, ‘न अनकनाउनू, ऊ अहिले पो अरूकी भई त पहिले त मेरै त थिई नि । त्यसैले उसलाई ल्याएको भनेर झोलाबाट एक-एक सामान झिकेर आमालाई देखाएर टाढा छैन आमा जानुहोस् आजै पु¥याएर आउनुस् । नजिकै छ भन्या होइन ? हो । माइतमा बोलाउनू ।’ आमालाई एउटा साथी लगाएर भोलिपल्ट बिहानै पठायो । आमाले माइतमा बोलाई पठाएर आएपछि झोला दिँदै भनिन् ‘लौ यो तिमीलाई आइतले लाहौरबाटै ल्याएकोले म पु¥याउन आएकी लेऊ’ भनेर एक-एक गरी जब कपडा गहना र खानेकुरा देखाएर हातमा झोलासमेत राखिदिने बित्तिकै गाँवै थर्काउने गरी आइतीले डाको छोडी ।
‘म पापीनीलाई यति धेरै माया र सम्झना गरी ल्याई दियौ तर म अभागिनीलाई यो लेखेकै रहेनछ तर यो जन्ममा मैले जति पाप भोगे नि अर्को जन्ममा तिम्रै दासी हुन पाऊँ’ भनेर रुँदै ओरालो लागी अरू सबै जिल्ल परेर हेरिरहे । एकजना बुढाले भने ‘मान्छे मरे पनि मया मर्दैन, मान्छे पर सरे नि सिरानी सर्दैन । कुनै दिनकी सिरानी कुनै दिनकी परानी तर अहिले कुलंगार्नी भए नि आइतबहादुरले आफ्नो धर्म पुर्याएर छाडे । त्यसैले त ऊ जिउँदै मरेर गई । जिउँदै डढी । यही कुरा आइतले सुनेर धिक्कारेर अर्को घरजम गर्नुपर्ने भयो । जमिन र जनाना देखेको पाइँदैन हुँदैन लेखेको मात्र पाइन्छ बाबै हो । अब जुन लेखेको छ त्यही पाउँछौ’ भन्दै घरतिर गए । सबै हो बा हो भन्दै आ-आफ्नो बाटो लागे ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम