
सूर्यप्रसाद लाकोजु एक सिद्धहस्त लेखक । सुप्रसिद्व साहित्यकार । चिरपरिचित संस्कृतिकर्मी । लेखकीय कर्म र धर्मको गलबन्दीलाई एकसाथ गलामा बेरेर अगाडि बढेको निरन्तर यात्री । उनको व्यक्तित्व बहुआयामिक छ । सबैतिर कलम घुमाउन सक्ने अद्भूत क्षमता छ । सधैँ भद्र, सौम्य र शालीन हुनु उनको अर्को पहिचान हो । जीवनका मोडहरू र मोडभित्रको जिन्दगीलाई राम्ररी बुझेका छन् लाकोजुले । पनौती शहर उनको जन्मथलो र कर्मथलो पनि हो । यही धरामा उभिएर स्रष्टाका रूपमा सक्रिय देखिन्छन् । अक्षरको खेती उनको पेशा हो । अक्षरको खेतीबाट पाठकको हृदयमा सिर्जनाको फूल फुलाउनु उनको नित्य सत्कर्म हो । अक्षरको मार्ग हुँदै भावनाको गन्तव्यमा पुग्नु उनको एकमात्र पवित्र लक्ष्य र विशुद्ध अभिष्ट हो ।
माता हेममाया लाकोजु र पिता विष्णुप्रसाद लाकोजुको प्रसाद बनेर २०३३ सालमा जन्मिए सूर्यप्रसाद लाकोजु । पनौती नगरपालिका वडा नम्बर ७ काभ्रेपलाञ्चोक पहिलो पाइला टेकेको भूमि हो उनको । पनौती शहरले प्राप्त गरेको यही सुपुत्र अहिले निरन्तर लेखन कर्ममा क्रियाशील रहेको छ । साहित्यिक कार्यक्रममा देशभित्र र देशबाहिर पुगिरहने, आमन्त्रण गरिरहने नाम हो सूर्यप्रसाद । थुप्रै कृतिहरू प्रकाशित गरिसकेका थुप्रै मान, सम्मान र पुरस्कारले पुरस्कृत भइसकेका ख्यातिप्राप्त व्यक्तित्व हुन् सूर्यप्रसाद ।
यो कृतिलाई जन्म दिँदा कृतिकारले पनौती शहरलाई केन्द्रभागमा राखेर वा त्यसैको सेरोफेरोलाई कार्यक्षेत्र बनाएका छन् । वर्षैभरि कुन तिथिमा कुन जात्रापर्व पर्छ ? कुन जात्रापर्वको पूजाविधि के हो ? कसरी मनाइन्छ भन्ने तथ्यगत दस्तावेज बनेको छ यो कृति । कृति सङ्ग्रहणीय छ । पठनीय छ ।
आफ्नो मौलिक संस्कृतिको अग्लो र अविनाशी कृतिको रूपमा २०७९ सालमा प्रकाशित कृति हो उनको ‘पनौतीका केही जात्रापर्वहरू’ । देशको पहिचान र समाजको स्वाभिमानको शिर उँचो पार्न सफल यो कृति जब मेरो नजरमा पर्यो तब यसको अप्रेसन नगरी रहन मेरो मस्तिष्कले मानेन । सरल लेखकीय शैली छ । प्राञ्जल भाषाको माधुर्यले झन्कृत र आलंकारिक छ । पढ्न सुरु गरेपछि छोड्नै मन नलाग्ने चुम्बकीय शक्तिको प्रचुरता कृतिको नवीनता हो । मान्छेको जीवनसँग जोडिएका मौलिक संस्कृति र सम्पदाको ऐतिहासिक पाटोभित्रको विचरणले मन आनन्दित हुन्छ र गौरवले छाती ढक्क फुलेर आउँछ । नेपाल तेत्तीस कोटि देवताको पावन भूमि हो । हिन्दुहरूका आदि मानव मनुको जन्मथलो हो । रामायण र महाभारतका पौराणिक पात्रहरूको तपोभूमि र ज्ञानभूमि हो । यही नेपालको राजधानी काठमाडौं मन्दिरै मन्दिरको शहर हो ।
मन्दिरको शहर काठमाडौंबाट नजिकै छ पनौती शहर । ज्यादै सुन्दर र अनुकरणीय छ सबै दृष्टिकोणले । रोशी खोलाको किनारमा अवस्थित पुरातात्विक कलाले भरिपूर्ण पनौती धार्मिक पर्यटकीय शहर हो । काठमाडौं खाल्डोमा आउने प्रकृतिप्रेमी, संस्कृतिका मर्मज्ञहरूले एकपटक पुग्नैपर्ने शहर हो पनौती । पनौती पुगेर त्यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक पर्यटकीय परिकारको स्वाद चाख्नैपर्ने यस कृतिले सुझाएको छ ।
लेखक कति संस्कृतिप्रेमी छन् ? कति राष्ट्रप्रेमी छन् ? कति राष्ट्र राष्ट्रियताको पक्षपाती हुन् ? भन्ने कुरामा यो कृति प्रष्टसँग बोलेको छ । पाँच खण्ड, ३१४ पेज र विभिन्न खण्ड गरी ५२ वटा शीर्षकमा बाह्रैमास मनाइने पनौतीका जात्रापर्वहरूको सविस्तार वर्णन छ । बहुल जाति, भाषा, धर्म, संस्कार र संस्कृतिको मुलुक नेपालको एकताको एकमात्र सूत्र संस्कृति हो । साहित्य संस्कृतिको उपज हो । तसर्थ जहाँ संस्कृतिको रक्षा हुँदैन त्यहाँ समाजको पहिचान रहँदैन । लेखक तथा साहित्यकार सूर्यप्रसाद लाकोजु यिनै मान्यतालाई अवलम्बन गर्दै अगाडि बढेका अक्षरमार्गका अथक यात्री हुन् । त्यसैले त ‘अक्षरमार्ग’ साथी र सारथि दुइटै हो उनको ।
लेखनी धन्दामा लाकोजु लायक मानिन्छन् । उनी लायक, अथक, अटुट र लगनशील भएकैले होला संस्कृतिफाँटका मुर्धन्य व्यक्तित्वहरू तेजेश्वरबाबु ग्वङ्ग, हरिराम जोशी, गणेशराम लाछी, रामसुन्दर देउजाहरूले लाकोजुको सत्कर्म र सत्धर्मलाई सशक्त ढंगले, फराक हृदयले समर्थन गरेका छन् । संस्कृति मानव जीवनको अभिन्न पाटो हो । मान्छेले आफू आफ्नो समाज अनुकूल देवीदेवताको आशिर्वाद प्राप्त गर्न र सामाजिक जीवन के हो ? कसको ? कस्तो हुन्छ ? भन्ने अलग्गै पहिचान देखाउन बनाइएका प्रचलित मौलिक संस्कृति हुन् । मानव समाजका देश र संस्कृति प्राण पनि हुन् । यी दुई चिजमध्ये एउटा रहेन भने अर्को स्वतः समाप्त हुन्छ । त्यस कारण देशको माया गर्ने व्यक्ति निसन्देह संस्कृतिलाई माया गर्छ । सूर्यप्रसाद लाकोजु यस्तो बिरलै व्यक्तित्वमध्ये एउटा सत्पात्र हुन् ।
यो कृतिलाई जन्म दिँदा कृतिकारले पनौती शहरलाई केन्द्रभागमा राखेर वा त्यसैको सेरोफेरोलाई कार्यक्षेत्र बनाएका छन् । यस कार्यक्षेत्रमा फुलेको यो सांस्कृतिक फूलले पूरै देश मग्मगाएको छ । वर्षैभरि कुन तिथिमा कुन जात्रापर्व पर्छ ? कुन जात्रापर्वको पूजाविधि के हो ? कसरी मनाइन्छ भन्ने तथ्यगत दस्तावेज बनेको छ यो कृति । कृति सङ्ग्रहणीय छ । पठनीय छ । हुनत हरेक लेखकका कृतिहरू पठनीय र सङ्ग्रहणीय नै हुन्छन् तर संस्कृतिको महत्वलाई विशेष रूपले पर्गेल्न सकेको यो कृतिले सिङ्गो नेपालकै प्रतिनिधित्व गरेको छ ।
यो पनौतीका नेवार समुदायको मात्र होइन कि हिमाल, पहाड, तराईको अपनत्व छ यस कृतिमा । एउटा जात्रापर्वको बारेमा पढी नटुङ्ग्याउँदै अर्को शीर्षक हेरिहाल्ने खुल्दुली पैदा गर्छ । भाषा सरल छ । बुझिने गरी नेवारी शब्द र वाक्यहरू गठन गरिएका छन् । ऐतिहासिकताको पाटो अझ खोजीको विषय बनेर आएको छ । सांस्कृतिक धरोहरको रूपमा रहेको यो कृतिको दोस्रो संस्करण पनि निस्किनुले यसको उपादेयता, सान्दर्भिकता, महत्व र विशेषता कति छ भन्ने पुष्टि हुन्छ । आगामी दिनहरूमा सूर्यप्रसादको लेखकीय प्रसाद पनौतीबाहिर पनि चाख्न पाइयोस् शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच