
स्रष्टा र सृष्टि शुभारम्भ हो भने द्रष्टा र दृष्टि यिनैलाई आडमा राखेर गरिने विकासका सोपानहरू हुन् । स्रष्टा उन्मादित दिव्यत्वको खोजमा अविदितलाई बिउँझाउन दौडिरहेको हुन्छ । अविदितको कुन् गर्तमा पुगेर प्राकृतिक पुनः सिर्जना, सामाजिक नयाँ मार्ग निर्माण, उसले गरिरहेको छलाइ कठोर तपस्याका साथ केलाउने कार्यको स्रष्टा हो समालोचक । स्रष्टापछिको स्रष्टा अर्थात् सृष्टिको पर्यावलोकन गर्ने दृष्टिको स्रष्टा हो समालोचक ।
विश्वभरिकै समालोचकलाई स्रष्टाका आँखाले नियाल्दा दुई खालका-सापेक्षित र निरपेक्षित देखा पर्दछन् । प्रभावपरकतालाई प्राथमिकता दिने र वस्तुतामा विश्वास गर्ने । प्रभावपरक द्रष्टा व्यक्तिमा स्वार्थको मात्रा ज्यादा हुने गर्दछ । यस वर्गका समालोचकहरू स्वार्थनिरपेक्ष रहन नै सक्दैनन् । जीहजुर जस्ता शब्द सम्बोधनमा विश्वास राखेर समालोचक वा द्रष्टा व्यक्तित्व जो असल वा वस्तुतामा विश्वास गर्ने छन् तिनीहरूका हुर्मत लिने काममा यिनीहरू सक्रिय रहन्छन् । यिनीहरू समूहविशेषमा आबद्घ रहेर नभएकालाई वा ! वा !! र भएकाप्रतिका वितृष्णामा नाक खुम्च्याउने स्वभावको संस्कारमा समाहित भई आफूभित्र भएको व्यक्तित्वलाई समेत समाप्त गरिरहेका छन्, गरिरहन्छन् ।
लक्ष्मण गौतमको खोइरो खन्ने पनि नभएका होइनन् । संयोग हो वा कुनै घटनाको तारतम्य अन्तर्यमा छ त्यो त म अहिले भन्न सक्दिन । कुनै साइनो सङ्केत नभएका बेलामा, अनजान अपरिचित बेलामा गौतमको कलमबाट म कविमा गनिएको छु ।
मेरो मूल्याङ्कनमा यसका मार्ग निर्देशक प्रमुख हस्ती हुन् डा.तारानाथ शर्मा । भौतिक रूपमा अहिले उनी हाम्रा सामु नरहे पनि उनको समालोचकीय मुटु भनेको नै प्रभाव र पछिल्लो पुस्ताले चाकडी गरी मेरोपछि लागोस् भन्नेमा रहृयो । उनका धेरै प्रशंसकहरू, समर्थक र अनुयायीहरू यसै धारभित्र अद्यावधि ठूलो सङ्ख्यामा हाम्रा सामु सल्बलाइरहेका छन् । यस इतर शालीन र निरपेक्ष समालोचकीय दृष्टि सजाएर अगाडि बढ्ने र बढेका कम समालोचकीय व्यक्तित्वमध्ये एक हुन् लक्ष्मणप्रसाद गौतम ।
हुन त लक्ष्मण गौतमको खोइरो खन्ने पनि नभएका होइनन् । संयोग हो वा कुनै घटनाको तारतम्य अन्तर्यमा छ त्यो त म अहिले भन्न सक्दिन । कुनै साइनो सङ्केत नभएका बेलामा, अनजान अपरिचित बेलामा गौतमको कलमबाट म कविमा गनिएको छु । आफैंले भन्नु त नहुने चाप्लुसीका भरमा ताना शर्माका ऐतिहासिक ठेलीभित्र घनटाउके अक्षरमा सजिएका निकै व्यक्तिहरू अहिले साहित्यकारका नामनिशानामा छैनन् । त्यस्तै चाकडी चाहने र गर्ने धेरै व्यक्तिका अन्तर्यका ठूला व्यक्तिका इसारामा लागेर म कपन ताना शर्माका घरमा एक भारी आफ्ना कृतिहरू लिएर पुगेँ ।
निकै बेर कुराकानी भए । तँ छैनस् र ? आश्चर्यात्मक प्रश्न पनि गर्न भ्याए ताना शर्माले मलाई । म ढुक्क थिएँ । त्यसको लगत्तै भोलिपल्ट ताना दाजुका पिए जस्तै बनेका अमुक, छुद्र, निकम्मा तर डिग्रीका धनी व्यक्ति त्यस घरमा पुगे । मेरो नाम इतिहासमा कुनै पनि हालतमा नचढाउन उनले चरणस्पर्श गरे । तानाले त्यसलाई सहज स्वीकारे । त्यस्ता भाटले भनेको सुनेर इतिहास लेख्ने, इतिहासमा लेखाउने र नाममा कहलिन चाहने व्यक्तिहरूका बिग्बिगी अहिले अझ बढेका छन् ।
कम समालोचकीय व्यक्तित्वमात्र नेपाली साहित्यिक जगत्लाई चौडा रूपले हेरी परिचयका आधारमा नभई साहित्यिक अन्तर व्यक्तित्व र नैरन्तर्यका आधारमा अगाडि बढेका व्यक्तिका व्यक्तित्व प्रकाशमा रमाउने समालोचकमध्ये एक हुन् लक्ष्मणप्रसाद गौतम । केही समयअघि मात्र जगदम्बा गुठीको संयोजनमा निर्मित भीमकाय नेपाली साहित्यका सबै विधाविशेषलाई समेट्ने कृतिसमेत गरी आठवटा समालोचनात्मक कृतिहरू नेपाली समालोचना भण्डारलाई सुम्पिसकेका प्राडा.लक्ष्मणप्रसाद गौतमको चौडा तालुमा अपवादलाई छाडेर नेपाली साहित्यको सम्पूर्ण भूगोल र चेतना जगत्को आलोक अटाएको छ ।
एउटा कोशग्रन्थ र छवटा सम्पादनका समेत आकारगत र गुणगत दुवै हिसाबले ठूला कृतिका सम्पादनसमेत गरेका वा गरिसकेका लक्ष्मण गौतम साहित्यिक इतिहासकार वा इतिहास लेखक होइनन् । उनी खाँटी समालोचक हुन् । ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ शीर्षक उनको एउटा त्यस्तो कृति हो जसका आधारमा आयोजना गरेको असाध्य ठूलो आयामगत र गुणगत दुवै दृष्टिले माथिल्लो कृतिमा नेपाली कविका तालुमा आलु फलेको गोड्ने गहन दायित्व उनकै काँधमा आयो ।
यस कृतिमा त अझमाथिदेखि तलसम्मका, अतीतदेखि वर्तमानसम्मका, भर्खर सुरु गर्नेदेखि थाकेर विश्राम भर्ने र भरिसकेका सम्मका स्रष्टाका केस्रा केलाउन भ्याएका छन् । तालु खुइलिएर पनि हाम्रा अनुपातमा कलिलै वयका लक्ष्मणको समालोचकीय व्यक्तित्वले जे काम गरेका छन् ती त प्रशंसनीय छन् नै धेरै नयाँ काम अझै गर्न बाँकी छन् । अतीतमा कुनै एक अमुक व्यक्तिले जे भन्यो त्यही सधैँ रहिरहन्छ भन्ने छैन । समयले धेरै फड्का जानेर होस् वा नजानेरै भए पनि मारिसकेको छ । अतीतकै बाटामा त्यसलाई नै मानक बनाएर त्यसमै हिँडिरहने नेपाली कुसंस्कारबाट अबका समालोचकले मुक्त हुनुपर्दछ । यसको महत्तम दायित्व लक्ष्मणका काँधमा आएको छ ।
समसामयिक साहित्य भन्ने शब्दावली जुन समयमा नेपाली साहित्यको प्रचलनमा आयो अब त्यो निकै पुरानो र कामै नलाग्ने भइसकेको छ । त्यसबेला ठीक थियो होला । सायद सबैका लेखन ढाँचा उस्तैउस्तै थिए र थिए होलान् । नाम नेपथ्यमा राखेर सिर्जनाको अध्ययन जो कसैले गरे पनि यो रचना यसको हो भनेर छुट्याउन नसकिने कहालीलाग्दो समय या अवस्था पनि नेपाली साहित्यमा देखा नपरेको होइन । त्यो कालरात अब समाप्त भइसकेको छ । हरेक लेखकहरू आ-आफ्ना अलग व्यक्तित्व-चाहे त्यो विषयका हिसाबले होस्, चाहे संरचना निर्माणका हिसाबले । चाहे शैली प्रयोगका हिसाबले होस् चाहे व्यावसायिक र अव्यावसायिक लेखनका हिसाबले । नेपाली सर्जकका सम्पूर्ण पक्षहरू टड्कारो रूपले चिनिने अलग स्वभावमा विकसित भइसकेको अवस्था छ यो । अब समसामयिक होइन धारका आधारमा, प्रवृत्तिका आधारमा समालोचकीय लेखन विधि विकास हुनु नितान्त आवश्यक भइसकेको छ ।
नवसमालोचकीय पथनिर्माण त्यो समालोचकीय व्यक्तित्व वा हक मनले मात्र गर्नसक्छ जसले समालोचना लेखनलाई नै जीवनगति बनाएको छ, जो व्यक्ति स्वार्थ निरपेक्ष र गुण सापेक्षमा विश्वास राख्दछ, जसलाई लिनुको चासो छैन दिनुमा विश्वास छ, त्यो समर्पित निरपेक्ष व्यक्तित्वको यस क्षेत्रमा वर्तमान नाम हो लक्ष्मणप्रसाद गौतम ।
नव समालोचकीय पथनिर्माण त्यो समालोचकीय व्यक्तित्व वा हक मनले मात्र गर्नसक्छ जसले समालोचना लेखनलाई नै जीवनगति बनाएको छ, जो व्यक्ति स्वार्थ निरपेक्ष र गुण सापेक्षमा विश्वास राख्दछ, जसलाई लिनुको चासो छैन दिनुमा विश्वास छ, त्यो समर्पित निरपेक्ष व्यक्तित्वको यस क्षेत्रमा वर्तमान नाम हो लक्ष्मणप्रसाद गौतम । नयाँधारको समालोचकीय लेखनयात्रामा समाधि कस्न सक्षम व्यक्तित्व वर्तमान परिप्रेक्षमा आनुपातिक रूपले उचाइ प्राप्त व्यक्ति पनि हुन् प्राडा.लक्ष्मणप्रसाद गौतम ।
टिएस इलियडले भनेका छन्-सच्चा सर्जक नै असल समालोचक हो । सिर्जनाको सार तत्व सर्जकले नै ठम्याउन सक्छ तर लक्ष्मणले अहिलेसम्म कुनै पनि विधागत सिर्जना गरेको चाहिँ देखिँदैन । हो भने यो उनका जीवनको कहिल्यै चुकाउन चाहेर पनि नसकिने ऋणात्मक पक्ष हो । केही अपवादलाई छाडेर प्रायः प्राध्यापकहरू सिर्जनात्मक क्षेत्रमा ऋणात्मक नै हुन्छन् । यो शैक्षिक जगत्कै लागि ठूलो घाटाको विषय हो । प्राध्यापन पेशा दल्सी ढुङ्गाको बास हो, सिर्जनात्मक मनोलोक छैन भने । जहाँ चौबीसै प्रहर चिच्याउने मामलामा नै समय खेर फाल्नुपर्दछ । अध्ययनका हिसाबले होस् वा तयारीका हिसाबले । घण्टौँ कक्षामा गएर घोक्रो सुकाउँदै चिच्याउनु पर्दाका पीडाबाट आहत मनोलोक यसै पनि सिर्जनशीलता इतर हुन्छ ।
भलै प्राध्यापकहरू यस क्षेत्रका सिँढी चढ्नुलाई उचाइका गौरव किन नठानुन् तर अर्को बाटोको हिसाबले वा सिर्जन क्षेत्रको चकाचौध मर्करी प्रकाश बल्ने आधारमा चाहिँ एकाध महाकवि देवकोटा जस्ता व्यक्तित्व बाहेकका लागि आत्महत्या नै हो । त्यसैले अधिकांश समालोचक पनि त्यही परम्पराको बुँदा टिपोट प्रथामा समाहित भएकाले सिर्जनात्मक धारमा आएका परिवर्तनका ठीक बिन्दुलाई पक्रने समय नलिई टिपोट प्रथामा नै समालोचकको गर्व फुल्न चाहन्छन् । अहिले नै त नाम नलिऊँ यस्ता समालोचकको नै वर्चस्व रहुन्जेल कैयौं यथार्थका साहित्यिक मूल्याङ्कनका कोसेढुङ्गाहरू वर्तमानका गर्तबाट चिप्लिँदै इतिहासका टोकरीमा फालिन्छन् ।
निकै समय दिने, अपेक्षा राख्दै नराख्ने राखे पनि कम राख्ने त्यो पनि शाब्दिक प्रशंसासम्मकोमा सन्तुष्ट हुुने, सिर्जनात्मक क्षेत्रमा खर्चनु पर्ने समय र स्वभाव पनि नदेखिएकाले लक्ष्मण गौतमको यात्रा यसतिर उन्मुख हुनु नितान्त आवश्यक रहेको समय सङ्केत हो यो । अन्य धेरै असल समालोचकका अनुपातमा युवावस्था, एकदम नगन्यले मात्र नकारात्मक सोच राखे पनि धेरै सर्जक-स्रष्टाका आँखाका नानी, निरन्तरताको बानी, सङ्कल्पका कहानी र साधारणीकृत समसमालोचकीय दृष्टिका लगभग बिहानी भइसकेकाले प्राडा.लक्ष्मणप्रसाद गौतमले अबको नेपाली साहित्यलाई समसामयिकको बिरबल खिचडी पकाइमा नराखेर नयाँ प्रवृत्तिगत खाकाबाट लेखन सुरु गर्नु गराउनु उनकै लागि पनि महत्तम समयबिन्दु हो यो ।
यसबाट नेपाली साहित्यजगत् अन्धपरम्पराको धार, मान्यता र गान्धारीको पट्टी कसाइका सोचबाट त यसै पनि मुक्त हुन्छ नै । समालोचक गौतमको समालोचकीय अग्लाइ पनि निर्विवाद ढङ्गले उत्साहको शिखरमा उक्लन्छ वा आरोहित हुन्छ । माथि उल्लेखित प्रशंसाका कम शब्दलाई चासो नगरी निन्दा वा आलोचनालाई आत्मसात गर्दै यसै क्षेत्रमा समाधि कसेका खण्डमा प्राडा.लक्ष्मणप्रसाद गौतमको समालोचकीय व्यक्तित्वको भोलि कहिल्यै नभरिने र कहिल्यै नरित्तिने साहित्यिक झोली बनेर रहँने छ, रहोस्, जाँगरको ज्योति बलोस् भन्ने अन्तर चाहना राख्दै अहिले कलम बन्द गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच