
पोखरा । यही वैशाख २६ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को शुक्रबार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं’ कन्र्सट भएको छ । फेवा किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा चर्चित गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईंले हजारौं दर्शकबीच आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले ऊनको स्वीटरका गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’लगायत लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो । साथै, सोही दिन प्रसिद्ध लोकगायक स्व.झलकमान गन्धर्वको ९०औं जन्म जयन्तीको अवसर पारेर उहाँले झलकमानलाई समर्पित विशेष प्रस्तुतिसमेत दिनुभएको थियो । झलकमान सारंगी पाठशालाका विद्यार्थीहरूसँग उहाँले ‘बाला जोबन’ गीत गाउनुभएको थियो । सो अवसरमा झलकमानको परिवार र सारंगी पाठशालालाई सम्मानसमेत गरिएको थियो । पाठशालाका बाल कलाकारहरूले सारंगी वादन प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नवकलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुलीलगायतको उपस्थिति थियो ।
कार्यक्रमकै अवसरमा चलचित्रका तीन नयाँ पोष्टरहरू सार्वजनिक गरिएको थियो । अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै चलचित्र ऊनको स्वीटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गर्नुभएको थियो । कलाकार माओत्से गुरुङले आफू सधैं राम्रो ब्यानरको चलचित्रमा काम गर्न चाहने बताउँदै आर्टमाण्डूको अफर सजिलै स्वीकारेको बताउनुभयो ।
निर्देशक नवीन चौहानले आर्टमाण्डूका गीतहरूले जस्तै चलचित्रले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गर्दै वैशाख २६ गते रिलिज मितिको पर्खाइ गर्न आग्रह गर्नुभयो । नायिका परीक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताउनुभयो । यही चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका एलेक्स पारसले दर्शकमाझ प्रत्यक्ष रूपमा आउन पाउनु ठूलो खुशी भएको सुनाउनुभयो । एलेक्सले यसअघि आर्टमाण्डूकै गीत ‘फूलथुंगे रानी’मा अभिनय गरेर चर्चा कमाउनुभएको थियो ।
कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य प्रस्तुतसमेत गर्नुभएको थियो । साथै, पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । अब ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’को अर्को शृंखला यही वैशाख १८ गते धरानमा हुँदैछ ।
चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपांगी मगरलगायत कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच