
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्ता समीकरण परिवर्तन नहुनेमा ढुक्क देखिनुभएको छ । बिहीबारसम्म सत्ता समीकरण नै टुट्ने भनेर जोडतोडले चर्चा भइरहेको भए पनि सत्ता साझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमणबाट फर्किएपछि यो विषय साम्य मात्र भएको छैन तत्काल सरकार परिवर्तनको सम्भावना अन्त्य भएको छ । उपचार, कार्यक्रम र पारिवारिक घुमघामका लागि सभापति देउवा बैंकक गएपछि सत्ता गठबन्धन र सरकारको आयुबारे विभिन्न संशय उत्पन्न भएका थिए । राजनीतिक वृत्तमा देउवा नेपाल फर्केलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्लेषण गरिएको थियो । तर, बैंककबाट फर्किनुभएका देउवा र परराष्ट्रमन्त्री एवं देउवापत्नी डा. आरजु राणाले सरकार परिवर्तनको हल्लाको खण्डन गरे । राजनीतिमा चलेको चर्चाविपरीत सभापति देउवाले सत्ता समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । सरकार परिवर्तनको हल्ला राजनीतिक मनोरञ्जनका लागि चलाइएको हल्ला मात्र भएको भन्दै परराष्ट्रमन्त्री राणाले बैंकक बसाइमा राजनीतिक भेटघाट नभएको प्रष्ट पार्नुभयो । मन्त्री राणाले प्रधानमन्त्री ओली र सभापति देउवाबीच निरन्तर कुराकानी भएको अर्को तथ्यसमेत खुलासा गर्नुभयो ।
सत्तारूढ दलको प्रमुख घटक कांग्रेस सभापति देउवाले सरकार परिवर्तनका विषयमा दिएको जवाफले प्रधानमन्त्री ओली उत्साही बन्नुभएको छ । देउवाको सात बुँदे सहमतिप्रतिको प्रतिबद्धताले प्रधानमन्त्री थप ढुक्क देखिनुभएको छ । शनिबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू कांग्रेस सभापति देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गर्नुभएको छ । थाइल्याण्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर । आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आशा मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो त्यो बुझ्दिनँ ।’
प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको दोहो¥याएर स्मरण गराउँदै भन्नुभयो, ‘यो सरकार मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको हो । त्यसकारण हामी आफैँ हल्लाको पछाडि लाग्नुहुँदैन ।’
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्न निर्देशन
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न सांसदहरूलाई निर्देशन दिँदै भन्नुभयो, ‘देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ । आज बोलेका गलत कुराको आजै प्रतिवाद हुनुपर्दछ । बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण बोल्नुपर्छ । निरर्थक, झुट, असभ्य अश्लील, जो केही पार्टीका नाममा र केही व्यक्तिहरूले संसद्भित्र पनि बोल्ने गरेका छन् । त्यस्तो प्रवृत्ति हामी गर्दैनौँ, बोल्दैनौँ ।’
सन्तुलित नीति तथा कार्यक्रम र बजेट आउँछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको जानकारी दिनुभएको छ । नेकपा एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला पार्टी मिलेको उल्लेख गर्दै भन्नुभयो, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’ अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आशामा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताउनुभयो ।
संसद्मा ढ्यापढ्यापे शब्द अनुचित
नेकपा एमाले संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले संसद्मा ढ्यापढ्यापे समय हुने गरेको भन्दै त्यस्तो शब्द उचित नभएको टिप्पणी गर्नुभएको छ । शनिबार संसदीय दलको बैठकमा ओलीले भन्नुभयो, ‘हामी शून्य समयमा बोल्छौँ, विशेष समयमा बोल्छौँ । अर्को एउटा ढ्यापढ्यापे समय भन्ने छ । ढ्यापढ्यापे भन्ने शब्द नै नमिल्दो हो । संसद् जस्तो ठाउँमा ढ्यापढ्यापे थिति बिनाको शब्द नै मिल्दैन ।’ यद्यपि, एमाले सांसदहरूले अहिले ढ्यापढ्यापे समयलाई आकस्मिक शब्द भन्ने गरिएको जानकारी गराएका थिए ।
भारतीय पूर्वराजदूत रञ्जित रेबारे टिप्पणी : ‘बडा अहंकारी, संकीर्ण मनका मान्छे’
प्रधानमन्त्री ओलीले नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेको आलोचना गर्नुभएको छ । नेपालको आफ्नो कुनै पहिचान छैन भन्ने अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्नुभएका ओलीले रेलाई अहंकारी र संकीर्ण मनका मान्छे रहेको उल्लेख गर्दै भन्नुभयो, ‘एउटा राजदूतले भनेको, नेपाललाई होच्याउन खाज्या हो त्यो । ती व्यक्तिमा बडा राष्ट्र अहंकार छ । तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन् । स्वाधीनता भन्ने कुरा बुझ्दैनन् । तिनले आकार मात्रै हेर्छन् । सञ्चो छ कि छैन ? अचम्म लाग्यो क्या । के भन्या-नेपालको के आइडेण्टिटी छ ?’ रेले केही समयअघि भारतको एउटा टेलिभिजन कार्यक्रममा नेपालको आफ्नै पहिचान नभएको टिप्पणी गर्नुभएको थियो । यद्यपि, त्यसलाई भारतकै दृष्टि भने मान्न नहुने प्रधानमन्त्रीको भनाइ छ ।
एमालेलाई उसको भूमिकाबाट च्युत गराउने कोसिस : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई उसको भूमिकाबाट च्युत गराउने कोसिस भइरहेको दाबी गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित मनमोहन अधिकारीको २६औँ स्मृति सभामा वरिष्ठ उपाध्यक्ष पोखरेलले अनेक समस्याहरू छन् भनेर एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको दाबी गर्दै भन्नुभयो, ‘एमालेलाई उसको भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि प्रेरणाको स्रोत र शीतल छहारी बनेर हाम्रो अगाडि उभिनुभएको छ । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन ।’
राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको टिप्पणी गर्नुभएको छ । माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको उल्लेख गर्दै महतले भन्नुभयो, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन । चलिरहेको छ । हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौँ । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भए मात्रै पनि हुनु सही । सके ६० प्रतिशत गरौँला । विद्युत् प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ ।’
मन्त्री र सांसदद्वारा प्रधानमन्त्री ओली सहभागी कार्यक्रम बहिष्कार
लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवं प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली सहभागी हुनुभएको थियो । कार्यक्रममा आफूहरूलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच