
नवलपरासी । पश्चिम नवलपरासीका केही सामुदायिक वनहरूले खोल्साखोल्सी व्यवस्थापन कार्य सुरु गरेका छन्।
देशभरिमै लुम्बिनी प्रदेशले सुरुवात गरेको सामुदायिक वनहरूमा खोल्साखोल्सी व्यवस्थापन कार्य नवलपरासीका सामुदायिक वनहरूले सुरुवात गरेका हुन्।
पश्चिम नवलपरासीको बर्दघाटस्थित संसारकोट हरियाली सामुदायिक वन समूहले खोल्साखोल्सी व्यवस्थापन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। वन संरक्षणसँगै प्राकृतिक स्रोत साधनको दिगो उपयोगलाई प्राथमिकता दिँदै समूहले करिब १४०० घनमिटर नदीजन्य पदार्थ व्यवस्थापन गर्न सफल भएको समूहका अध्यक्ष कमल पराजुलीले बताउनुभयो।
समूहका अध्यक्ष पराजुलीका अनुसार प्राविधिकको सहयोगमा बनाइएको कार्ययोजना डिभिजन वन कार्यालयबाट स्वीकृत भइसकेको छ। उक्त व्यवस्थापनबाट प्राप्त स्रोत साधनले स्थानीय पूर्वाधार विकासमा टेवा पुर्याउनुका साथै समुदायको आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। स्थानीय सरकार र सामुदायिक वन समूहबीचको समन्वयमा नदीजन्य पदार्थको नापजाँच तथा बिक्री प्रक्रिया अघि बढाइएको छ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले लुम्बिनी प्रदेश सरकारद्वारा ल्याइएको खोल्साखोल्सी व्यवस्थापन कार्यक्रमको प्रशंसा गर्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो।
श्रेष्ठका अनुसार यस कार्यक्रमले स्थानीय सरकारको राजस्व वृद्धिसँगै निर्माण सामग्रीको सुनिश्चितता पनि ल्याउनेछ। सामुदायिक वन समूहले निकालेको आम्दानीको केही प्रतिशत स्थानीय सरकारलाई दिने व्यवस्था रहेको छ, जसले स्थानीय सरकारलाई थप सशक्त बनाउनेछ।
लुम्बिनी प्रदेश सरकारद्वारा लागू गरिएको 'वनक्षेत्र भित्रका खोलाखोल्सी व्यवस्थापन कार्यविधि २०८०' र त्यसको 'पहिलो संशोधन २०८१' मार्फत दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिइएको छ।
संसारकोट हरियाली सामुदायिक वन समूहको यो पहलले वन संरक्षण र स्रोतको सदुपयोग दुवैमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यसले अन्य सामुदायिक वनहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच