काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नहुने स्पष्ट पारेको छ । हाल विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत् आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको हो । प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता तीन हजार पाँच सय १२ मेगावाट पुगेको छ । जसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत् आयोजना छ सय ६२ मेगावाट, सौर्य ऊर्जा २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना छ सय २३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार एक सय ४९ मेगावाट रहेका छन् ।
आन्तरिक उत्पादन औसतमा एक हजार एक सय ७५ मेगावाट रहेकोमा विद्युत्को उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेको छ । त्यसमा एक हजार पाँच सय ९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको दाबी गरेको छ ।
प्रतिकूल मौसमका कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने, मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत् बन्द हुने अवस्था आउन सक्ने सूचना अग्रिम रूपमा दिइँदै आएको पनि प्राधिकरणले उल्लेख गरेको छ । साथै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको छ । औद्योगिक ग्राहकलाई भने बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको जनाएको छ । प्राधिकरणले नेपालको नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर