
काठमाडौं । पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको एसपी गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो । ‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौँ । ४१ ज्नाविरुद्ध मुद्दा चलाउन सिफारिश भएको छ,’ मिश्रले भन्नुभयो । उहाँका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्था÷कम्पनीविरुद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन् । प्रहरीले कुल दुई अर्ब ३० करोड १४ लाख २९ हजार आठ सय रुपैयाँ बिगो माग दाबी गरेको छ । सभापति लामिछानेको हकमा पाँच करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा तीन करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ । सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो मागदाबी गरेको हो । लामिछाने, जोशी र रम्तेल पुर्पक्षका लागि कारागारमा छन् ।
अब प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दायर गर्नेछ । पर्साका सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपानेले केही दिन अध्ययन गरेर अभियोग तयार गर्ने बताउनुभयो । सम्पत्ति शुद्धीकरणको हकमा भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यसअघि नै अन्य जिल्लामा सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यक्तिहरूको हकमा भने अर्को ठाउँमा मुद्दा चल्दैन । अन्यको हकमा अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिनुभयो ।
रवि लामिछाने र छविलाल जोशी हाल रूपन्देही कारागारमा छन् । उनीहरू चारवटै जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो । जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो । तर, एक करोड धरौटी बुझाएर रिहा भएका लामिछानेलाई पनि उच्चले थुनामा पठाउन आदेश दिएको हो । अन्य कारागारमा रहेका प्रतिवादीहरूलाई यसअघि पर्सा लगेर बयान गराइएको थियो । तर, बयान सकेको लामो समयसम्म पनि अनुसन्धान प्रतिवेदन नबुझाएको भन्दै आलोचना भइरहेका बेला प्रहरीले ढिलो गरी प्रतिवेदन पठाएको हो ।
वीरगञ्जको आदर्शनगरमा रहेको सानोपाइला सहकारीको बचत अपचलन भएको विषयमा यसअघि नै दुईपटक मुद्दा दर्ता भइसकेको थियो । पहिलोपटक २०८० असोज २३ मा ४९ जनाको जाहेरीमा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी गरी १३ जनालाई प्रतिवादी बनाइएको थियो । दोस्रोपटक, १७९ जनाको जाहेरीमा २०८० फागुन २ मा पूरक अभियोगका रूपमा अर्को मुद्दा दर्ता भएको थियो । त्यसमा पनि १३ जनालाई नै प्रतिवादी बनाइएको थियो । पहिला बुझाएको अनुसन्धान मिसिलमा केही कैफियत देखेर फर्काइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच