
काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षमा गठन भएको सुशासन आयोगको औचित्यतालाई लिएर संसद्मा प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको उच्चस्तरीय सुशासन आयोगको औचित्यमाथि सांसदहरूले प्रश्न उठाएका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय अनुशासन आयोग गठन गरेको थियो । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने बताइएको छ । सुशासनलाई लिएर चारैतर्फ प्रश्न उठेको सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा आयोग गठन गर्न अग्रसर हुनुभएको हो । तर, आयोग गठनप्रति सार्वजनिक रूपले आलोचना भइरहँदा संसद्मा समेत आयोगको औचित्यमाथि प्रश्न उठेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहनुभएका सांसद प्रभु साहले सुशासन आयोगको औचित्य के हो ? भन्दै प्रश्न गर्नुभएको हो । प्रधानमन्त्रीकै अध्यक्षमा आयोग गठन गर्नुको कारणबारे सरकारले संसद्लाई जवाफ दिनुपर्ने माग गर्दै सांसद साहले भन्नुभयो, ‘के हाम्रा सरकारी संयन्त्र फेल भइसके ? के सरकारी संयन्त्रमाथि प्रधानमन्त्रीको विश्वास छैन ? प्रधानमन्त्री नेतृत्वमा रहने विभिन्न ५१ वटा निकाय वा संयन्त्र छन् । यदि हाम्रा संयन्त्रमाथि विश्वास छैन भने तिनलाई किन राख्ने ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको उल्लेख गर्दै संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन ? भनेर सरकारलाई प्रश्न गर्नुभयो ।
सहमहामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो ? त्यो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो प्रमाणित गर्न चुनौती दिनुभएको हो । यही वैशाख १२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरासमेत पक्राउ परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको दाबी गर्नुभएको थियो । अध्यक्ष लिङ्देनको उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘पक्राउ गरियो र छोडियो भन्नुभयो । कुन चाहिँ सहमहामन्त्रीको छोराले रक्सीको बोतल बोकेको हो त्यो भन्नुपर्छ । होइन भने क्षमायाचना गर्नुपर्छ र उहाँको भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्छ ।’
पूर्वराजालाई कारबाही गर्न एमाले सांसदको माग
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा.फणिन्द्रराज पाठकलाई कारबाहीको माग गर्नुभएको छ । सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रूपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको जिकिर गर्दै गैरेले भन्नुभयो, ‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधान विपरीतको एउटा वक्तव्य आयो । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ ? यो संवाद सचिवको रूपमा नाम रहेका डा.फणिन्द्रराज पाठक र संवेदना लेख्नका लागि बक्सिने ज्ञानेन्द्र वीरविक्रम शाहलाई नेपालको संविधान र कानुनले तत्काल कारबाही गरियोस् ।’
बोल्दा निरंकुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोल्दा निरंकुश सरकारको नेतृत्वले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समय लिएर बोल्नेक्रममा माओवादी सांसद माधव सापकोटाले कानुन मिच्ने, संविधान मिच्ने जथाभावी गर्ने काम गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘वर्तमान सरकारले आएको दिनदेखि कुलमान घिसिङलाई झम्टनुभयो । हुँदाहुँदा त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई बर्खास्त गर्नुभयो । बोल्न नपाइने निरंकुशता तपाईँहरूसँग जे छ, एकपछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने जथाभावी गर्ने काम सरकारले गरेको छ ।’
पहलगाम हमलाको विरोध
सांसदहरूले गत मंगलबार छिमेकी मुलुक भारतको जम्मु–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको हमलाको विरोध गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । सांसद किरणकुमार साहले आतंकवादी क्रियाकलाप जहिले पनि जुनकुनै स्थानमा हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणसम्बन्धी सरकारको रणनीति के हो ? जानकारी गराउन माग गर्नुभयो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पेस
प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानव अधिकार समितिका सभापतिले आइतबार सदनमा प्रतिवेदन प्रस्तुत गरेका छन् । अर्थसमिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभयो । त्यस्तै, कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गर्नुभयो । शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत् प्राधिकरण ऐन लगायतका ऐनहरूलाई संघीयताअनुकूल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएका छन् ।
प्रधानमन्त्रीको चुनौती : ‘बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न सकिन्छ ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिनुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको दाबी गर्नुभएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिरसमेत गर्नुभएको थियो । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको टिप्पणी गर्दै भन्नुभयो, ‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ । आजकल नीलो रङका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन ।’
कांग्रेस सांसद पक्राउको सूचना सदनमा सुनाइयो
सहकारी ठगी प्रकरणमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना प्रतिनिधि सभालाई जानकारी गराइएको छ । आइतबार प्रतिनिध सभाकी उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको प्रहरीको सूचना पढेर सुनाउनुभएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार निवासबाटै पक्राउ गरेको थियो । यसैबीच, सहकारी ठगीको आरोपमा पक्राउ परेकी सांसद राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । राईलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको हो । राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्वसहसचिव हुन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
व्यवस्था र संविधान विरुद्धका गतिविधि नजिकबाट नियालिरहेका छौँ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्धमा देखिएका गतिविधिहरूबारे सिंगो राष्ट्रियसभा नै गम्भीर बन्न आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यस सन्दर्भमा सिंगो राष्ट्रियसभा नै गम्भीर बन्न आवश्यक ठानेको छु । समयमा कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन् । सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई हामीले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुंग्याउन र नागरिकको समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच