
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करणको फाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन आर्मीले समूह ‘ए’ अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । दुवै खेलमा जित दर्ता गर्ने क्रममा आर्मीले अघिल्लो खेलमा एपिएफलाई पराजित गरेको थियो । दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपिएफ समूह चरणबाट बाहिरिए ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लक्ष्य पछ्याउने क्रममा आर्मीका लागि निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाउनुभयो जुन क्रममा उहाँले ५५ बलमा ८ चौका प्रहार गर्नुभयो । हिमांशु दत्ताले १८ रन बनाउनुभयो । बागमतीको बलिङमा दयानन्द मण्डलले २ विकेट, तिलकराज भण्डारी र आदिल खानले १÷१ विकेट लिनुभयो ।
वर्षाका कारण आउटफिल्ड भिजेका कारण ढिला सुरु भएपछि २६ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले २४.३ ओभरमा ९६ रनमा सबै विकेट गुमायो । बागमतीको ब्याटिङमा सचिन लेखकले सर्वाधिक ३४ रन योगदान दिनुभयो । लेखकले ५३ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो । प्रतीक श्रेष्ठले १५ तथा आदील खानले १० रन बनाउनुभयो । आर्मीको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले सर्वाधिक ५ विकेट लिनुभयो । लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच घोषित हुनुभएका साउदले ६ ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिनुभयो । दुर्गेश गुप्ताले २ विकेट लिँदा तुलबहादुर थापा, सुमित श्रेष्ठ र विशाल सुस्लिङले १/१ विकेट लिनुभयो ।
प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘बी’ अन्तर्गतका खेलहरू सुरु हुनेछन् । मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले चार लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई दुई लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई चार हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच