
ए सरकार !
तिमी शिक्षक कुट
लाठी हान र पानी फाल
विद्यार्थीको भविष्यमाथि बुट बर्साऊ
गोली चलाऊ र बोली फेर
भ्यु-टावर चढेर लास हेर
छाती थाप्ने जनता छँदै छन् ।
ए सरकार !
तिमी सपना देखाऊ
ऐंँठन सहने जनता छँदै छन्
काठको घोडा दौडाउ
कागजमा समृद्धि देखाऊ
संविधानको समाजवाद घोक
जनताको रगत चुस
बिचौलियासँग उठ बस
सिंहासन सिंगार
आफू बन र आफ्नालाई सपार
न्यायको मुखमा ताल्चा ठोक ।
ए सरकार !
तिमी कानुन बनाऊ
धारा र दफा देखाऊ
जनताको आवाज थुन
पुलिस पठाऊ र सबैलाई समाऊ
अझै धेरै जेल बनाऊ
जेल बस्ने जनता छँदै छन् ।
ए सरकार !
शिक्षालयमा ताला लगाऊ
स्वास्थ्य संस्था बन्द गराऊ
आफ्नो उपचार गर्न विदेश जाऊ
जनतालाई धामी–झाँक्री छँदै छन्
ए सरकार !
तिमी सत्ता टिकाऊ
रेमिट्यान्स मगाऊ
भत्ता पकाऊ र रमाऊ
करकर गर
अझै कर बढाऊ
तिरिदिने जनता छँदै छन् ।
ए सरकार !
तिमी भ्रष्टाचारमा रमाऊ
नियुक्ति भाग लगाऊ
बिचौलियाको ओछ्यान बनाऊ
कुशासनको शंख बजाऊ
निराशाको मूल फुटाऊ
सपनाको हत्या गर
मलामी जाने जनता छँदै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच