
शरीर अस्वस्थ भएको निकै दिन भइसकेको थियो । धेरै हिँड्ने आँट पनि थिएन । तैपनि, ओच्छ्यानमा मात्र कति सुत्नु ! इष्टमित्र, साथीभाइलाई भेट्दा मन केही हलुंगो होला कि भन्दै झोलामा पानीको बोतल राखेर घरबाट निस्किएको थिए म त्यो दिन । एक टोलबाट अर्को टोल हुँदै आफ्ना-आफन्त ज-जसकोमा पुगें सबैले एकै प्रकारको भंगीमा प्रदर्शन गरे । सबैको अनुहारमा नैरास्य र छटपटी थियो । कसैलाई उपचारका लागि रुपैयाँको जोहो गर्नुथियो । कसैलाई घरको किस्ता तिर्नु थियो । कसैलाई गाडीको त कसैलाई व्यवसाय गर्न लिएको ओ.डी.को ब्याज । तीमध्ये अधिकांसको छटपटी भने एकै किसिमको मिल्दोजुल्दो थियो- छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया र क्यानाडा पठाउँदा लिएको बैंक र सहकारीको महँगो कर्जाको ब्याज कसरी बुझाउने ? सबैजना बेहाल थिए । हाँस्ने बोल्ने फुर्सद कसैलाई थिएन । यस्तो लाग्यो जस्तो कि, मानिस यहाँ कर्मयोद्धा बन्न होइन, कर्जायोद्धा बन्न मात्र जन्मिएको हो ।
परिस्थितिको तुलोमा तौलिने र अरूहरूभन्दा आफूलाई अब्बल ठहरू गर्ने बिचित्रको स्वभाव हुन्छ मनको । भर्खरमात्र भेटेका आ-आफन्तको परिस्थितिसँग आफूलाई दाँज्दै गरेको मेरो मनले प्रसन्न हुँदै भन्यो- ‘शारिरीक अस्वस्थता भएर के भयो ? आफ्नो मनको शान्ति त भंगभएको छैन !’ अरूहरूको दाँजोमा आफूलाई उत्कृष्ट ठहरू गर्दै, अहंकारको घैंटो भरेर घरतिर लागें ।
बाटोमा भेटिएको एउटा डोकेसँग किनेको हरियो तरकारी उसैले दिएको प्लाष्टिक झोलामा झुन्डाएर बाटो लागे । केहीअगाडि गएपछि शरीर एकाएक असहज हुँदै गयो । हिँड्दै गरेका पाइला सही ठाउँमा टेकिइरहेका थिएनन् । खुट्टा लर्बराउन थाले । चाँडो घर पुग्न गल्लीको छोटो बाटोतर्फ लागे । आँखाअगाडी उड्दै गरेका काला मसिना तारा देखिन थाले । मलाई पाइला चाल्न हम्मे-हम्मे पर्न थाल्यो । जिश्राम गर्न नजिकको बालेन-फलैंचामा गएर बसें । झोलाबाट बोतल निकालेर दुई घुट्को पानी पिए । केहीबेरमा शरीर सहज भएपश्चात् पुनः बाटो लागे । एक सुरमा हिँड्दै गरेको मेरो कानमा एकाएक आफू नजिकै कुकुर भुकेको आवाज ठोक्किन आइपुग्यो ।
साँच्ची, मृत्यु शैय्यामा पुगेको अन्तिम क्षणमा मानिसको कानमा किन खुसुक्क दीक्षामन्त्र र गीताको प्रवचन सुनाइन्छ होला ? त्यसबाट के मानिसले जीवनभर गरेका आफ्ना कुकृत्यबाट उन्मुक्ति पाउँछ ? बेहोसीको अजस्थामा पुगेको ऊ त जीवनको अन्तिम क्षणमा पनि नाफा नोक्सानको हिसाब-किताब र चाहेर पनि प्राप्त गर्न नसकेको अतृप्त कामबासनाको पूर्तिमा नै रुमलिएको हुँदैन होला र ?
पछाडि फर्किएर हेरे । पाँचवटा कुकुर गोलाकार बनाएर मलाई नै भुक्दै थिए । तीमध्येको सबभन्दा मोटोघाटो एउटा कुकुर मेरो नजिकै आइसकेको थियो । भुक्दै गरेका अरू चारोटा पछि-पछि आउँदै थिए । घेरा हालेर भुक्दै गरेका कुकुर देख्दा त्रसित भएको मेरो मुखबाट हैट...भन्दै अनायास एउटा भयानक चित्कार निस्कियो । त्यो चित्कारले तर्सिएका कुकुर चार पाइला पछाडि सरे । आफूभित्र अझै पनि एउटा भयानक जनावर लुकेको अनुभूतिले म आफैं चकित भए । तर, कुकुरलाई त्यति धेरै फरक परेन ।
चार पाइलापछि सरेका कुकुर त्यहीँबाट भुक्दै थिए । मैले एउटा ढुंगा उठाएर कुकुरलाई थर्काउने प्रयास गरे । उनीहरूको भुकाई झन् तीव्र हुँदै गयो । उनीहरूको त्यो भुकाइले छेउको गल्लीबाट भुक्तै आएका अरू दुइटा कुकुर पनि मिसिएर सातवटा भए । कुकुरको संयुक्त भुकाइले त्रसित भएको मैले केही सोच्न पनि सकिरहेको थिइन ।
त्यही बाटो भएर आउँदै गरेको एक जनाले भन्यो-ई भुस्याहा कुकुर यस्तै हुन्, भुकी रहन्छन् । यिनीहरूलाई नजिस्क्याई चुपचाप आफ्नो बाटो लाग्नुहोस्, केही गर्दैनन् । आतंकित हुँदै हतार हतार आफ्नो बाटो लागे । सातवटा मध्ये न्गुर्र गर्दै मेरो पिंडुला नजिक आइपुगेको एउटा कुकुरले हातमा झुन्डाएको तरकारीको झोलामा दाँत गाडेर आफूतिर तान्दा झोलाच्यात्तिएर सबै तरकारी सडकमा छरपष्ट भए । तरकारीको झोला सुं..सुं..गरेर सुंग्दै गरेका कुकुरले खाने योग्य कुनै कुरा नभेटेपछि, ‘यस्तो अखाध्य बस्तु बोकेर हिँड्ने ?’ भन्दै हप्काए जसरी आकाशतिर मुन्टो फर्काएर झन् बेस्सरी भुक्न सुरु गरे ।
शरीरमा कमजोरी छँदै थियो । त्यसमाथि कुकुरको त्रास । मलाई आफ्ना नौ नाडी गलेजस्तो लाग्नथाल्यो । आतंकित भएको मैले पछाडि फर्किएर हेरें । कुकुरका हिंस्रक आँखा म माथि नै अडिएका थिए । मेरो मानसिक र शारीरिक लाचारी यो हदसम्म पुगिसकेको थियो कि, त्यो बेला म ती कुकुरको अगाडी बसेर गवाँ..गवाँ..रुन चाहन्थें र भन्न चाहन्थें, मैले न तिमीहरूको, न त तिमीहरूका बाबुको कुनै बिझाईं गरेको छु, मलाई किन लखेटछौ यसरी !
त्यस्तैमा अलि परतिरको पसलबाट हातमा लठ्ठी लिएर एउटा युवक निस्कियो । भुत्भुताउँदै गरेको उसले भन्दै थियो-‘तीन कुनेमा कत्रो दुर्घटना घटिसक्यो, साला कुकुरहरू, के के न भए जसरी कोको होलो मच्चाउँदै भुकेर समाचार हेर्न पनि नदिने’ भन्दै कुकुरलाई झट्टीहान्यो । घाइते भएको एउटा कुकुर कोंग्ल्यांग-कोंग्ल्यांग गर्दै भागेसँगै सबै कुकुर उसैको पछि-पछि लागे ।
–––––––
लामो सास फेर्दै आफूले आफैंलाई भनें- ‘एउटामात्र कुकुरले पिंडुलामा दाँत गाड्न भ्याएको भए ? र, नाइटोमा चौधवटा सुई लाउनु परेको भए तेरो के हालत हुन्थ्यो होला माइला ?’
मेरो सुरक्षा कवच बनेर आएको त्यो युवकप्रति आभार प्रकट गर्दै उसको पछि–पछि लागेर त्यही पसलमा गएर बसें । कुकुरको लखेट्याइले बढेको सासको चाल मत्थर पार्न बसेको मैले झोलाबाट पानीको बोतल निकालेर घटघटी पिए । शरीर केही हलुंगो भयो । टिभीमा तीनकुनेमा भएको राजावादीको विरोध प्रदर्शनको लाइभ टेलीकाष्ट आइरहेको थियो । टिभी हेर्दै गरेको युवकतिर मुन्टो फर्काएर सोधें-‘राजावादीले विरोध प्रदर्शन गर्दैछन् भन्नेसम्म त सुनेको थिए । के के भयो बाबु तीनकुनेमा ?’
लाइभ टेलिकाष्टमा ध्यान केन्द्रित गरेको युबकले भन्यो- के हुनु बुबा, अघि जम्मा भएका कुकुरले तपाईंलाई जे गरे, तिनकुनेमा पनि त्यस्तै भयो । बीसजना प्रदर्शनकारी गोली लागेर ढलीसके, दुईजनाले मृत्युवरण गरे । अझै के के हुने हो थाहा छैन । छिचिमिराको प्वाँख उम्रिएपछि त्यसको बिनाश निश्चित छ भन्ने कुरा त सुन्नु भएको छ नि बुबा !
युवकले एउटा पौराणिक आख्यान उध्रृत गर्दै भन्यो-उहिले उहिले, धेरै पहिले सत्ययुगमा, कुनै तपस्वी गहन तपस्यामा लीन भएमा स्वर्गका राजा इन्द्रको सिंहासन हल्लिन्थ्यो अरे । इन्द्र यति काँतर र शंकालु थियो कि, तपस्वीको तपस्या भंग नगरेसम्म आफ्नो शासन सत्ता खोसिने डरले सधैंभरि त्रस्त रहन्थ्यो । तपस्वीको तपभंग गर्ने उसको सबभन्दा ठूलो अस्त्र बनेका हुन्थे स्वर्गका सुन्दर अप्सराहरू ।
समयको परिवर्तनसँगै व्यवस्था बदलिँदै गयो । राज्यसत्ताको दुरुपयोग गर्दै गैरकानुनी ढंगले सम्पति आर्जन गर्ने, भ्रष्टाचारमा लीन, मोजमस्तीमा चुर्लुम्म डुबेका आधुनिक इन्द्रले राज्यसत्ता टिकाउन फरक तरिका अपनाउने गर्छन् । विद्रोहको सानो स्वरमात्र पनि कुनै कुनाबाट उठ्यो भने त्यसको नाम निसानासमेत नरहने गरि बर्बरतापूर्वक दमन गर्दछन् । सडक र पार्कमा जम्मा भएर आफ्नो हकअधिकार खोज्न नारा जुलुस गर्ने निमुखा जनतासँग उनीहरू सधैभरि त्रसित रहन्छन् । एक ठाउँमा जम्मा भएका मानिस देख्दा, सत्ता खोस्ने उपक्रममा लागेको ठान्ने डरपोक सत्ताधारीले भोको नाङ्गो रहन बाध्य बनाएका जनतामाथि टियर ग्यास र गोली-गठ्ठाबर्साउने प्रबन्ध मिलाएका हुन्छन् । सत्तामात्र जोगिनुपर्दछ, कोही बाँचोस् या मरोस् उनीहरूलाई कुनै मतलब हुँदैन । त्यही भयो तीनकुनेमा पनि ।
त्यो युवकले भनेका कुरा मनमा गम्दै उठेर घरको बाटो लागे । घर पुग्न बाटो त धेरै बाँकी थिएन । तर, निक्कै टाढा जस्तो लाग्दै थियो । त्यसै पनि बुढेसकालको शारीरिक कमजोरी, त्यसमाथि कुकुरको त्रासले हल्लिएको मन । काम्दै गरेको मेरो शरीर मुस्किलले घर पुगेर ओच्छ्यानमा लम्पसार पर्यो ।
–––––––
रावणले सीताजीको हरूण गरेपश्चात् सीताको खोजीमा भौंतारिँदै हिँडेका श्रीरामले डाँडाको टुप्पोमा उभिएर सुसाउँदै गरेको सल्लोको रुखलाई, ‘तिमीले मेरी सीतालाई देख्यौ कि ?’ भनेर सोध्दा, ‘आफ्नै सुस्याहटले मर्न लागि सकें, सीताको धन्दा !’ भन्ने जवाफ पाएका थिए अरे श्रीरामले !
जगतको स्वभाव उस्तै छ । केही पनि बदलिएको छैन । यहाँ अहिले पनि त्यस्तै हुन्छ । अर्को दिन उज्यालो हुँदासम्म आफ्नै सुसेधन्दामा रुमलिन पुगेको मैले पनि अघिल्लो दिन घटेको तीनकुनेको घटना बिर्सिसकेको थिए । शारीरिक पीडाले छटपटिँदै गरेको मेरो मन कहिले यता, कहिले उता गर्दै आफ्नै बिगतमा घुम्दै थियो ।
त्यस्तैमा, ‘बुबा म खेल्न जान्छु है ! दूधको थर्मस, कफी र चिनी बेडरुमको टेबलमा राखेको छु । बनाएर पिउनु होला’ भन्दै काम गर्ने केटो घरबाहिरू निस्कियो । त्यो केटो, केटोमात्र नभएर मेरो सबथोक हो । ऊ नभए म अपांगसरह बन्नेछु । ऊ मेरो सेवक हो, भान्से हो, घर धन्दा गर्ने धन्दे हो, फूल बिरुवाको हेरचाह गर्ने माली हो । भइपरी आएको सबै काम गर्ने ऊ मेरो सबथोक हो । उसकै भरमा चलेको छ मेरो सिंगो घरसंसार र मेरो दैनिकी ।
दिन ढल्किन लागेको थियो । काम्दै गरेका हातले टेबलमा राखेको दूधको थर्मस खोल्ने प्रयास गरें । बिर्को टसमस भएन । ‘कति कसेर लगाएको होला ?’ भन्दै पुनः खोल्ने प्रयास गरें । थर्मसबाट सी..को आवाजमात्र आयो, बिर्को खुलेन । रुमालले समातेर बिर्को घुमाए । बल्लतल्ल बिर्को खुल्दा केही दूध उछिट्टिएर कार्पेटमा खस्यो । टिस्यु पेपरले पुछे ।
कफीको मग लिएर झ्यालमा गएर उभिए । कफीको गाढा सुबास वातावरणमा फैलियो । मीठो लागेको कुरा रित्तिन केबेर ! मलाई पनि कफीको मग रित्याउन बेर लागेन । रित्तो मग हातमा लिएर उभिएको मलाई के गरांै, के गरौं भयो ? मन पुनः छटपटीन सुरु ग¥यो । ‘खालिदिमाग सैतानका घर’ भन्छन् । केही त गर्ने पर्यो !
त्यस्तै बेला, बुढेसकालमा धर्म-कर्मको कुरा र प्रवचन सुनेर समय बिताउनुपर्छ भन्ने सद्बुद्धि पल्हायेर आयो । टिभी खोले । टिभीमा एकजना शन्तको लाइभ टेलीकाष्ट आइरहेको थियो । भन्दै थिए-‘जीवन कामको कथा हो । धर्तिमा मात्र होइन, स्वर्गमा पनि कामकै खेल चल्छ । अतृप्ति कामको स्वरूप हो । त्यसैले लड्ने योग्यकुनै कुरा यदि छ भने त्यो काममात्र हो । स्वयमको मालिक बन्ने र मोक्ष्य प्राप्तिको चाहना भएका ममाथि विजय प्राप्त गर । त्यति गर्न सक्यौ भनेमात्र स्वर्गको प्राप्ति हुनेछ । तर, यो कुरा बुझ्न जरुरी छ, स्वर्ग र नर्क भनेको ब्रहृमाण्डको कुनै भूगोल होइन । यो कुनै स्थान विशेषको कुरा पनि होइन । जहाँ न कुनै इन्द्र बस्छन् । न कुनै सुन्दर अप्सरा हुन्छन् । न त सोमरसको खोलो नै बगेको हुन्छ । यो मानव चेतनाको स्तरको कुरा हो । छोटकरीमा भन्नुपर्दा, मन प्रसन्न रहेको अबस्थामा मानिस स्वर्गमा हुन्छ । चिन्ता र पीडाले घेरिएको अवस्थामा नरकमा हुन्छ ।’
आहा ! क्या खास्साको प्रवचन ! म यस्तै खाले कुनै प्रवचनको खोजीमा थिए सायद । मेरो मनोकामना टिभीले पुर्याई दिएजस्तो लाग्यो । टिभीलाई धन्यवाद दिँदै बन्द गरेर निकैबेरसम्म घोरिएर बसे । साँच्चिकै हो ! काम यदि शक्तिशाली नहुँदो हो त मृत्यु शैय्यामा पुग्नै लागेको यो असी वर्षे उमेरमा पनि मेरो मनमा बेलाबेलामा किन सम्पत्तिको मोह र रति क्रिडाको चाहना उम्रिन्थ्यो होला ?
समयको परिजर्तनसँगै व्यवस्था बदलिँदै गयो । राज्यसत्ताको दुरुपयोग गर्दै गैरकानुनी ढंगले सम्पत्ति आर्जन गर्ने, भ्रष्टाचारमा लीन, मोजमस्तीमा चुर्लुंम डुबेका आधुनिक इन्द्रले राज्यसत्ता टिकाउन फरक तरिका अपनाउने गर्छन् । विद्रोहको सानो स्वरमात्र पनि कुनै कुनाबाट उठ्यो भने त्यसको नाम निसानासमेत नरहने गरी बर्बरतापूर्वक दमन गर्दछन् । सडक र पार्कमा जम्मा भएर आफ्नो हकअधिकार खोज्न नारा जुलुस गर्ने निमुखा जनतासँग उनीहरू सधैंभरि त्रसित रहन्छन् ।
त्यस्तै बेला, मनमा अनायास एउटा अप्रासंगिक प्रश्न जन्मियो । साँच्ची, मृत्यु शैय्यामा पुगेको अन्तिम क्षणमा मानिसको कानमा किन खुसुक्क दिक्षामन्त्र र गीताको प्रवचन सुनाइन्छ होला ? त्यसबाट के मानिसले जीवनभर गरेका आफ्ना कुकृत्यबाट उन्मुक्ति पाउँछ ? बेहोसीको अवस्थामा पुगेको ऊ त जीवनको अन्तिम क्षणमा पनि नाफा नोक्सानको हिसाब किताब र चाहेर पनि प्राप्त गर्न नसकेको अतृप्त कामवासनाको पूर्तिमै रुमलिएको हुँदैन होला र ?
अनुत्तरित यिनै प्रश्नको सेरोफेरोमा घुम्दै गरेको मेरो मन पुनः एक कप कफी पिउनेमा पुग्यो । कफी होस् कि स्त्री, के फरक पर्छ र, हो त बासना नै !
–––––––
कफीको मग लिएर पुनः झ्यालमा गएर उभिए । घुम्दै गरेको मेरो दृष्टि सडकको पारीपट्टि पुगेर अडियो । सडकको पारीपट्टि लाइन मिलाएर बनेका घरहरू थिए । तीमध्येको एउटा घरको झ्यालमा हिजोसम्म हरियो पर्दा लागेको थियो । आज त्यहाँ पहेलो रङ्गको पर्दा हल्लिदै गरेको देखियो । साठी वर्षपछि एकाएक उस्तै डिजाइनको पहेंलो रंगको पर्दा देख्दा आश्चार्य चकित भएको थिए म ।
एक छेउ हल्लायो भने पूरै हल्लिने माकुराको जालो जस्तै हो मानिसको जीवन । पल्लो घरको झ्यालमा हल्लिँदै गरेको पहेलो रंगको पर्दाले मेरो मनमा एउटा अनौठो हलचल मच्चायो । मानस पटलमा स्थिर भएर बसेका अतीतका अनगिन्ती स्मृतिको मीठो झंकारले शरीर एकाएक रोमाञ्चित हुँदै गयो । त्यस्तैमा, साठी वर्ष पहिले एउटा घरको झ्यालमा लगाएको यस्तै पहेलो रङ्ग र डिजाइनको पर्दापछाडि उभिएर चियाउने एउटा अनुहार मेरा आँखा अगाडि उभिन आइपुग्यो । कफीको चुस्कीलिँदै सम्झिने प्रयास गरे, उसको लिपिस्टिकको रङ्ग पनि कफी जस्तै थियो सायद !
उसको कुममा पहिलोपटक हात राखेको साठी वर्षभन्दा धेरै भइसक्यो । कुनै जवान स्त्रीको शरीर स्पर्श गरेको त्यो पहिलो क्षण थियो । मलाई राम्रैसँग सम्झना छ, अहिले कमजोरीले खुट्टा कामेजसरी त्यो बेला मेरा दुवै हात थरथरी काम्दै थिए । उसको घाँटी र गालामुसार्दै गरेका मेरा हातचिप्लिएर जब जबउसको छातीतिर झर्न खोज्थे आत्तिँदै माथि नै फर्किन्थे । दोहोर्याएर छातीमा पुर्याउनखोज्थे, आत्तिएर फेरिपनि माथि नै फर्किन्थे । पटकपटकको असफलताको परिणामस्वरूप रातो हुँदै गएको मेरो अनुहार पसिनाले भिजेको देख्दा ऊ खित्का छोडेर हाँसेकी थिई ।
एकदिन अम्बाको फेदमा बसेर लैला-मजनुको कथा सुनाउँदै गर्दा मैले उसको गालामा म्वाँइ खाएको थिए । कथा सुनेर हो वा मैले म्वाँइ खाएकाले हो ? ऊ निकै बेरसम्म रोई । अहिले आएर उसको अनुहार नै विस्मृतिको खाडलमा पुरिइसकेको छ । कस्तो थियो उसको अनुहारको रंगरूप र आनीबानी ? होची-अग्ली, मोटी-दुब्ली कस्ती थिई ऊ ? उसको शरीरबाट निस्किने सुन्तलाको जस्तो मीठो सुबास, उसको रसिलो बोली–बचन र सारीको सप्को मुखसम्म पुर्याएर खित्का छोडदै हाँस्ने उसको मनमोहक हाँसोबाहेक केही सम्झना छैन ।
घरमा कोही नभएको मौका पारेर एकदिन उसले मलाई खाजाखान बोलाएकी थिई । त्यो दिन म उसको घरभित्र पस्दा ऊ खाजा बनाउन तल्लिन थिई । उसको पिठ्युँ म उभिएतिर फर्किएको थियो । कति तीखा कान, कति सजग उसको मन मस्तिस्क ! मेरा पदचाप सुनेकी उसले पछाडि नफर्की भनी ‘आई पुग्यौ ?’
‘अँ’ भन्दै चुल्हो नजिक पुगेको मैले लामो चुल्ठोसँग खेल्ने निहुँमा उसको पिठ्युँमा हात घुमाउन सुरु गरे । पिठ्युँमा घुम्दै गरेका मेरा हात तल-तल सर्दै गएर उसको पुष्ट नितम्बसँग खेल्न सुरु गरे । केही सक्पकायेकी उसले पछाडि नफर्की भनी–‘त्यस्तो नगर न ! भित्रैदेखि कस्तो सिरिङ्ग..सिरिङ्ग..हुन्छ ।’
कर गरी-गरी मलाई खाजा खुवाउँदै गर्दा उसको सुन्दर मुहार खुशीले चम्किएको थियो । थरी-थरीका रमाइला प्रसंग निकाल्दै सारीको सप्कोले मुख छोपेर खित्का छोड्दै खुब हाँसेकी थिई ऊ । आफ्ना हातले पकाई-तुल्याई गरेर मलाई खुवाउन पाएकोमा खुब पशन्न थिई ऊ त्यो दिन ।
लगातारको भेटघाट र लामो समयको माया साटासाट पश्चात् एकदिन भनेकी थिई-‘जात पातको उच्च निचको कारण समाजले हाम्रो बिबाह हुन दिँदैन । हिँड, भागेर कतै जाउँ ।’
मैले भने, ‘समाजसँग लडेर यहीं बस्नुपर्छ, भाग्नु हुँदैन ।’
मेरो भनाई सुनेर रिसाएकी उसले भनी-‘असम्भब कुराको आश गरेर बस्नु ठीक हुँदैन । हाम्रो बिबाहमा भाँजो हाल्न मेरा बाबुले तिमीलाई जे पनि गर्न सक्छन् । उनले हाम्रो विवाह रोक्न केसम्म गर्दैछन् भन्ने कुरा मैले आफ्नो कानले सुनेकी छु । तिमीमाथि घट्ने कुनै पनि अप्रिय घटना म सहन गर्न सक्दिन ? तिम्रो जीवन मेरो लागि बहुमुल्य छ । अब घर जाउ । आइन्दा तिमीसँग कहिल्यै भेट गर्नेछैन ।’ यतिभन्दै गर्दा उसका आँखा सजल भएर आए । फरियाँको फेरले आँसु पुछ्दै ऊ आफ्नो घरको बाटो लागी ।
म उसलाई पर्खिएर बसिरहें । तर, ऊ फर्केर आइन । मैले धेरै खोजी गरें उसको । तर, ऊ कहाँ गई ? कता हरूाई ? मैले कहिल्यै थाहापत्तो पाउन सकिन ।
आज आएर उसको अनुहारको सम्झना सम्म पनि मानस पटलको कुनै कुनामा छैन ! एकान्तको यो क्षणमा आफूसँग आफैं प्रश्न गर्दछु, के साँच्चिकै उसको अस्तित्व थियो ? या वर्षौंसम्म हेरेका सयौं नेपाली, हिन्दी र इंग्लिस सिनेमाको प्रभावको कारण छ्यासमिस भएर जन्मिएको एउटा कल्पनामात्र हो यो ?
लोलाएको मेरो दृष्टि पुनः हल्लिँदै गरेको पल्लो घरको झ्यालको पहेलो पर्दामा पुगेर अडियो । त्यस्तै बेला पल्लो घरको झ्यालको पहेलो पर्दा खुल्यो । पर्दा खुलेसँगै झ्यालका दुवै पलेटा पनि खुले । पहेलो पर्दाबाट मुन्टोबाहिरू निकालेकी एउटी चुलबुले युवती पल्लो घरको युवकलाई इशारा गरेर बोलाउँदै थिई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच