
पाल्पा । स्थानीय सरकारको बजेट निर्माणमा अझै पनि महिला जनप्रतिनिधिको सहभागिता हुन सकेको छैन। बजेट निर्माणमा ज्ञानको कमीका कारण स्थानीय तहमा उनीहरुको सहभागीता न्यून रहेको हाे ।
नगरको बजेट निर्माणमा सहभागिता बढाउन यहाँका महिला जनप्रतिनिधिहरुले भने बजेट निर्माण गर्न सिक्न थालेका छन् । उनीहरुले योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणका विषयमा सिक्न थालेका हुन् ।
द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत उनीहरुलाई बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइरहेको छ । नगरका महिला कार्यपालिका सदस्य, वडा महिला सदस्य, दलित महिला सदस्यहरुले आगामी बर्षको बजेट निर्माण गर्ने गरी सिक्न प्रयास गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अझै पनि अधिकांस महिला जनप्रतिनिधिहरुलाई बजेट निर्माणको ज्ञान छैन, जसले गर्दा उहाँहरुको सहभागिता बढाउन सकिएको छैन । आउने बजेटमा उहाँको सहभागिता गराउन अहिले प्रशिक्षण दिइएको हो ।”
महिलाहरुको बजेट निर्माणमा सहभागिता हुन सके मात्र नगरमा विनियोजन गर्ने बजेट महिलामैत्री बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । नगर प्र्रमुख श्रेष्ठले भन्नुभयो“ हामीले हरेक बजेट महिलामैत्री बनाउने प्रयास त गर्यौं तर महिला जनप्रतिनिधिहरुले पनि यसो गरौं, यसरी जाऔं, यस्तो खालको बजेट बनाउऔं भन्नुभयो भने मात्र बजेटलाई अझ महिलामैत्री बनाउन सकिन्थ्यो कि ?”
महिला,अपाङ्ग, सिमान्तकृत, समावेशीकरणलाई प्राथमिकतामा राखेर बजेट निर्माणको लागि दिएको प्रशिक्षण प्रभावकारी बन्ने नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सविता परियारले बजेट निर्माणका आधारहरुको बारेमा प्रशिक्षित गर्नुभएको छ । हरेक योजना समावेशी, अपाङ्ग तथा महिलामैत्री भएमात्र विकास निर्माणमा समान सहभागिता तथा समान प्रतिनिधित्व हुने उहाँले जोड दिनुभयो । प्रशिक्षक परियारले टोल बस्तीमा आउने योजना छनौट, आएका योजनाहरुको प्राथमिकरणदेखी गुरु योजनासम्मका चरणका प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराउनुभएको छ ।
तानसेन नगरपालिकाको समन्वयमा, दलित महिला केन्द्र नेपालको प्राविधिक सहयोगमा द एसिया फाउण्डेसनले तानसेनका महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालनका विषयमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
निर्वाचित महिला जनप्रतिनिधिको मागमा आधारित रहेर, महिलाहरुको नेतृत्व विकास, योजना तर्जुमा, वडा महिला सदस्यहरुको काम कर्तव्य, अधिकार, भूमिका, दायित्व, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बारेमा अभिमुखीकरण गर्दै आएको द एसिया फाउण्डेसनका प्रदेश संयोजक चुरामणी पोखरेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच