
विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा कोशीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनको जित दर्ता गरेको हो । मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा ५६ रनमा सबै विकेट गुमाएको थियो ।
नेपाल पुलिस क्लबको ब्याटिङमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गर्नुभएका रोहन विकले ६, अविनाश कर्णले नौ, शंकर रानाले पाँच, दीपक डुम्रेले एक, अमित श्रेष्ठले नौ तथा अरुण ऐरी खाता नखोली आउट हुनुभयो । ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन ।
कोशीको बलिङमा डेब्यु गर्नुभएका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले पाँच विकेट लिनुभएको थियो । नौ ओभर बलिङ गर्दै तीन मेडन गरेर १५ रनमात्र खर्चिनुभएका कामत प्लेयर अफ द म्याच घोषित हुनुभयो । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले तीन विकेट लिने क्रममा उहाँले नौ ओभरमा दुई मेडन गर्दै १६ रनमात्र खर्चिनुभयो । भुपाल लुईंटेलले एक विकेट लिँदा पुलिसले एक विकेट रन आउटमार्फत् गुमायो ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले २९.३ ओभरमा ९३ रनमा सबै विकेट गुमाएको थियो ।
कोशीको ब्याटिङमा ओपनर रूपक बरालले सर्वाधिक २१ रन बनाउनुभयो भने मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाउनुभयो ।
नेपाल पुलिस क्लबको बलिङमा पेसर सुनिल दौल्यालले पाँच विकेट लिनुभयो । उहाँले आठ ओभरमा २५ रन खर्चिनुभएको थियो । विपिन खत्री र चित्र विष्टले समान दुई विकेट लिनुभयो ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा आज (बुधबार) कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ । आज कोशीले आसामलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ । आसामले कोशीलाई पराजित गरेको खण्डमा बिहीबार हुने आसाम र नेपाल पुलिस क्लबविरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ । समूह ‘ए’ को विजेताका रूपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम छन् ।
प्रतियोगिताको विजेता टोलीले चार लाख नगद रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीले दुई लाख नगद रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई चार हजार नगद रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच