
नयाँदिल्ली । वैभव सूर्यवंशी पुरुष ट्वान्टी-२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बन्नुभएको छ । १४ वर्ष ३२ दिनमा सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गर्नुभएको हो । उहाँको शतकसँगै इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । देब्रे हाते ब्याटर सूर्यवंशीले ३८ बलमा १०१ रन बनाएपछि राजस्थानले २१० रनको लक्ष्य १५.५ ओभरमै २१२ रन बनाई पूरा गरेको थियो । प्लेयर अफ द म्याच सूर्यवंशीले ११ छक्का र ७ चौका प्रहार गर्नुभयो ।
एक साताअघि लखनउ सुपर जायन्ट्सको खेलबाट आइपिएलमा ‘डेब्यु’ गर्नुभएका सूर्यवंशीले जयपुरमा तुफानी इनिङ्स खेल्नुभयो । आइपिएल इतिहासमा पनि यो दोस्रो सबैभन्दा कम बल खेलेर बनेको शतक हो । क्रिस गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेल्दै ३० बलमै शतक पूरा गर्नुभएको थियो ।
वैभवभन्दा अघि आइपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी युसुफ पठान हुनुहुन्थ्यो । सन् २०१० मा पठानले ३७ बलमा शतक प्रहार गर्नुभएको थियो । सूर्यवंशीविरुद्ध ६ बलरले बलिङ गरेका थिए । यीमध्ये चारजना भारतीय तथा दुईजना अफगान राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडी थिए । सूर्यवंशीको कम उमेरमा नै भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाउने सम्भावना छँदैछ । कम उमेरमा सफल हुने भारतीय खेलाडीमध्ये उहाँको स्थान कहाँ भन्ने चासो धेरैको बढ्न थालेको छ ।
भारतीय क्रिकेटका आदर्श सचिन तेन्दुलकरले १६औँ वर्षमा सन् १९८९ मा पाकिस्तानसँगको खेलमार्फत् अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको थियो । विकेट किपर ब्याट्सम्यान पार्थिव पटेल पनि १७ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश पाउन सफल हुनुभएको थियो । अहिलेका नाम चलेका मनिन्दर सिंहले पनि सन् १९८० को दशकमा भारतीय टोलीलाई धेरै सफलता दिलाउनुभएको थियो । हभरजन सिंह, लक्ष्मण रमन शुक्ल र शुभमन गिल कम उमेरमा नै सनसनी फैलाउने अन्य भारतीय खेलाडी हुनुहुन्छ ।
खेलपछि उहाँले विपक्षी बलरभन्दा पनि बल हेरेर खेलेको बताउनुभयो । ‘पछिल्लो पाँच/छ महिनादेखि यस्तै प्रदर्शनलाई मिहिनेत गरेको थिएँ । शतकको सपना हुँदा खुसी छु । म विपक्षी बलरभन्दा पनि बल हेरेर खेल्न मन पराउँछु,’ उहाँले भन्नुभयो । आइपिएलमा उहाँको यो मात्रै तेस्रो इनिङ थियो । नियमित कप्तान सञ्जु स्यामन चोटका कारण यस सिजन खेल्न नसक्ने भएपछि अघिल्लो सातामात्रै लखनउविरुद्ध जयपुरमा डेब्यु गर्नुभएको थियो । उहाँले डेब्यु खेलको पहिलो बलमा नै शार्दुल ठाकुरलाई छक्का हान्दै छनक देखाउनुभएको थियो ।
वैभवको क्रिकेट यात्रा
वैभव सूर्यवंशीको जन्म सन् २०११ मार्च २७ मा बिहारको ताजपुर गाउँमा भएको थियो । उहाँ जन्मेको पाँच दिनपछि भारतले एकदिवसीय विश्वकप २०११ को फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । मध्यम परिवारमा जन्मिनुभएका उहाँले चार वर्षकै उमेरमा क्रिकेट यात्रा थाल्नुभएको थियो । छोरा क्रिकेट खेल्न थालेपछि सञ्जीवले घरछेउमै सानो मैदान र अभ्यास गर्ने नेट बनाइदिनुभयो । छोरा नौ वर्षको भएपछि नजिकैको समस्तीपुर शहरको एकेडेमीमा भर्ना गरिदिनुभयो । छोरालाई क्रिकेटर नै बनाउन उहाँका बुबाले मोतीपुरमा रहेको खेत नै बेच्नुभएको थियो ।
वैभवले १२ वर्षको हुँदा विनोद मकांड ट्रफी (यू-१९) प्रतियोगितामा पाँच खेलमा चार सय रन बनाउनुभएको थियो । त्यसपछि उहाँ बिहार हुँदै भारत ‘बी’ को यू–१९ टोलीमा २०२३ मा पर्नुभएको थियो । नोभेम्बरमा चार टोली (भारत ए, बी, बंगलादेश र इंग्ल्याण्ड यू-१९) विरुद्ध सिरिजमा भारत ‘बी’ मा स्थान बनाउनुभएको थियो । आइसिसी यू–१९ विश्वकप २०२४ अघि भारतको टोली छनोटका रूपमा हेरिएको उक्त सिरिजमा उहाँ इंग्ल्याण्डविरुद्ध ५३ र ४१, बंगलादेशविरुद्ध ० र फाइनलमा भारत ‘ए’ विरुद्ध ८ रनमा आउट हुनुभएको थियो ।
त्यसपछि बिहारको यू-२३ हुँदै रणजी ट्रफी टोलीमा पर्नुभयो । १२ वर्ष २८४ दिनमा उहाँले रणजी ट्रफीमा मुम्बईविरुद्ध २०२४ जनवरी ५ मा डेब्यु गर्दै १९ र १२ रन जोड्नुभएको थियो । सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध युथ टेस्टको पहिलो खेलमा चेन्नईविरुद्ध ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रन बनाउनुभएको थियो । नोभेम्बर २४ र २५ मा साउदी अरेवियामा भएको मेगा अक्सनमा सूर्यवंशीले आफ्नो नाम न्यूनतम ३० लाख भारुमा दर्ता गराउनुभएको थियो । उहाँलाई किन्न दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो । अक्सनअघि नै राजस्थानले आफ्नो एकेडेमी नागपुरमा वैभवलाई बोलाएर हेरेको थियो ।
दिल्लीले उहाँको नाम अक्सनमा आउँदा २५ कोटामा १८ र राजस्थानले १६ खेलाडी किनेका थिए । राजस्थानसँग खर्च गर्न पाउने रकम चार करोड र दिल्लीसँग दुई करोड ७५ लाख थियो । करोडमा मूल्य पुगेपछि अन्य खेलाडी किन्न पैसा नपुग्ने हुँदा दिल्लीले छाडेपछि राजस्थानले एक करोड १० लाखमा उहाँलाई टोलीमा अनुबन्ध गरेको थियो । अक्सनमा उहाँले पाएको मूल्यलाई लिएर राम्रो चर्चा भएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच