
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब ‘अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ’ (आइएनएलए)को रूपमा आधिकारिक कार्यान्वयनमा आएको हो । संस्थाले मिति २०२५ अप्रिल २८ देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको हो ।
सन् २०२३ मा अमेरिकामा स्थापना गरिएको संघले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि, अहिले विश्वभर फैलिएका सर्जकलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको छ । संघले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब ५२ जना गीतकारहरूको संयुक्त गीति संग्रह ‘नेपाली मूलप्रतिको फूल’, र आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त सम्मान पहिलोपटक वरिष्ठ गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।
संघले आफ्नो पहिलो साधारणसभामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको छ । ‘नेपाली भाषा र साहित्य हाम्रो मौलिक पहिचान हो, जुन नागरिकता होइन, आत्मासँग गाँसिएको अमूल्य सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन हरेक नेपाली भाषीको कर्तव्य हो’, संस्थाका संस्थापक अध्यक्ष हरि उप्रेतिले भन्नुभयो ।
उहाँले विश्वभर रहेका नेपाली सर्जकहरूलाई एकै थलोमा आबद्ध भई भाषिक र सांस्कृतिक एकताको सशक्त अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । संस्थाको अध्यक्षमा हरि उप्रेती रहनुभएको छ भने उपाध्यक्षमा शेखर ढुंगाना, महासचिवमा रम खड्का र मिडिया प्रवक्तामा अर्जुन प्रधान रहनुभएको छ । ‘यो संस्था अब विश्वभर रहेका नेपाली गीतकारहरूको साझा संस्था बनाउँदै भाषा-साहित्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा अग्रसर हुनेछ । आधिकारिक घोषणा नेपाली गीत-साहित्यमा एक ऐतिहासिक मोड हो । यो अभियानले नेपाली भाषाको विश्वव्यापी सशक्तिकरणमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ’, संस्थाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच