
राजनीतिक पार्टीहरूमा बेलाबेलामा विभाजनको अवस्था निम्तिइरहेको हुन्छ भने फेरि एकताका प्रयास भइरहेका हुन्छन् । कहिले एउटै पार्टीबाट फुटेकाहरू पुनः एकीकरणमा आउँछन् भने कहिलेकाहिँ दुई भिन्न पार्टीहरूबीच एकता हुने गरेको पाइन्छ । इतिहासमा यस्ता अनेकौं पटकका विभाजन र एकता देखिएका छन् । कहिलेकाहिँ पार्टी एकीकरण होइन कार्यगत एकतामात्र पनि हुनेगर्छ । पछिल्लो चरणमा राजसंस्था पक्षधरहरू एकताको सन्देश दिँदै एउटै मञ्चमा उभिन पुगेका छन् । राजावादीहरूको दरिलो एकता र सबल नेतृत्व रहने हो भने वास्तवमा गणतन्त्र पक्षधरका लागि त्यो ठूलो चुनौती बन्नसक्थ्यो तर राजावादीहरू आफैंमा त्यति सबल छैनन् ।
पहिलो कुरा आफैंमा सबल नहुनु र दोस्रो त्यसमा पनि अनेकौं स्वार्थ समूहमा विभाजित हुनुले राजावादीहरूको एकता सशक्त हुनेमा विश्वस्त बन्न सकिँदैन । नेपालमा पहिल्लोपटक प्रजातन्त्र आएपछि पूर्वपञ्चहरू सुरुका दिनहरूमा पार्टी खोल्नसक्ने अवस्थामै थिएनन् । पञ्चायतका उपल्लो स्तरमा रहेका नेताहरू नै पहिलो आमनिर्वाचनका बेला आ-आफ्ना गृहजिल्लामै जान सकेनन् । उनीहरूका विरुद्ध स्थानीयले अवरोध गरेका थिए । बिस्तारै प्रजातन्त्र सबैका लागि हो, सबैले सबैका विचारको कदर गर्नुपर्छ भन्ने मान्यता विकास हुँदै गएपछि पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।
त्यस बेलादेखि विभाजन भएर दुईवटा पार्टीका रूपमा रहेको र त्यही रूपमा अभ्यास गर्दै आएकाले यसले साढे तीन दशक पार गरेर हालसम्म आइपुग्दा राम्ररी विकसित बन्न सकिरहेको छैन । दुईवटा पार्टी, दुईवटा चुनाव चिहृन र फरक–फरक झण्डा लिएर जनतासामु जाने गरेकाले निर्वाचनमा उल्लेख्य स्थानमा विजय हासिल गर्न सकिरहेका छैनन् । यी पार्टीहरूमा केही नेताहरू प्रतिभाशाली छन् तर तिनका बीचको समन्वय र समझदारी कायम हुन नसकेकाले जनतामा जरा गाडेर स्थापित बन्न सकेका छैनन् । तथापि यी पार्टीहरूका विचारले नेपाली जनतामा गाढा प्रभाव भने पार्ने गरेको छ ।
हाल राजावादीहरू आन्दोलनमा छन् । हिन्दु धर्मसापेक्ष राष्ट्र र संवैधानिक राजतन्त्रको नाराका साथ उनीहरू अगाडि आइरहेका छन् । एकातिर उनीहरूका यस्ता नाराले गर्दा, अर्कोतिर गणतन्त्रवादी पार्टी र नेताहरूको कार्यशैलीले निराश भएका नागरिकले राजवादीहरूलाई समर्थन गरेर सडकमा आएकाले तीनकुने प्रदर्शन अनपेक्षित हुनपुगेको थियो । राजातन्त्रवादीहरूले एकताका लागि बलियो मियो पाइरहेका छैनन् । सबैजना आ-आफ्नो डम्फु बजाएर नेता बन्ने होडमा लागेकाले उनीहरूबीचको एकता पत्यारलाग्दो मान्न सकिँदैन । गतिलो नेता नपाएकाले पञ्चायतको अन्त्यमा राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुभएका वयोवृद्ध नेता नवराज सुवेदीलाई आन्दोलनको कमाण्डर बनाएर राजावादीहरू अगाडि बढेकाले यही विवादको विषय बन्न पुगेको छ ।
आन्दोलनको नेतृत्व कसले लिने भन्ने स्वार्थ यिनका बीचमा देखापर्यो । दुर्गा प्रसार्इंले आफूले नेतृत्व लिएर आन्दोलनको सुरुवात गरेको तर जस भने अरूले लिए भनेर पत्रकार सम्मेलन गर्नुभएको थियो । कमल थापाको चाहना आफ्नो नेतृत्व होस् भन्नेछ भने राजेन्द्र लिङ्देनको चाहना पनि यही प्रकारको छ । सुरुमा नेतृत्वको होडबाजी देखिए पनि हाल एकताको प्रयास उनीहरूबीच भएको देखिन्छ । अहिलै उनीहरूको एकताले गणतन्त्रलाई ठूलो हानी गरिहाल्ला भन्ने छैन, तैपनि विपक्षी कमजोर छ भनेर ढुक्कले बस्नु हुँदैन भन्ने मान्यताका आधारमा गणतन्त्रवादी नेताहरूले आफ्नाबीचमा तयारी गर्नुपर्छ भन्ने सन्देश राजावादीहरूको एकताले दिएको छ ।
हुन त यस्ता एकता र विभाजन भइरहन्छन्, विभाजन हुन सानो कारण भए पुग्छ । आफ्नै दाजुभाइका बीचमा त पुख्र्यौली सम्पत्तिमा झगडा हुन्छ, भिन्न भएर बस्छन् भने पार्टीहरूमा त विभिन्न फरक स्थान समुदाय र विचार बोकेका मानिस रहेका हुन्छन् । तिनका बीच मतमतान्तर हुनु अस्वाभाविक होइन । त्यस्तो भएकै छ । हाल अस्तित्वमा रहेका सबैजसो पार्टीहरूमा विभाजन, एकता, पुनःविभाजन भइरहेकोे इतिहास सबैका सामु छँदैछ । तराईवादी दलहरूमा यस्ता घटनाको पुनरावृत्ति अरूमा भन्दा बढी भएको छ । हाल अग्रस्थानमा भएका ठूला पार्टीहरूले यस्तो नियति भोगेका छन् । तिनीहरूमा विभाजनका घटना भएका र जोडबलबाट एकता कायम भएका छन् ।
नेपाली कांग्रेस होस् वा नेकपा एमाले नै किन नहोस् सबैमा यस्तो भएको छ तर यी ठूला दलहरूले भने पुनः एकता गरेर आ-आफ्ना दलहरूलाई मजबुत बनाउन सफलता प्राप्त गरेका छन् । नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी र एमालेबाट माले एकीकृत समाजवादी नामका साना पार्टीहरू अलग भएका भए तापनि त्यसले पार्टीलाई खास फरक पारेको छैन । यस्तो नियति छोटो समयमै माओवादी केन्द्रले पनि भोग्यो । विभाजनपछि एकतामा केही व्यक्तिहरू आए तर मोहन वैद्य, नेत्रविक्रम चन्दहरू अहिलेसम्म अलग छन्् । विद्रोहबाट आएको पार्टी शान्ति प्रक्रियामा आउनासाथ जसरी सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो त्यसरी आफ्नो अस्तित्व जोगाएर ठूलो पार्टी बनिरहन सकेन । अहिले राजावादीहरूको यो एकता पार्टी एकता होइन यो आन्दोलनका लागि भएको मोर्चाबन्दी वा कार्यगत एकतामात्र हो । यसबाट गणतन्त्रवादी दलहरू झस्किनुपर्ने अवस्था त छैन तैपनि प्रतिक्रियावादी शक्ति संगठित भएको अर्थमा यसलाई लिनुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच