
काठमाडौं । हिमाली क्षेत्रमाथि जलवायु परिवर्तनले पार्दै आएको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गराउने उद्देश्यले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । जेठ २, ३ र ४ गते काठमाडौंमा हुने यस तीनदिने संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ तय गरिएको छ । संवादमा जलवायु परिवर्तनसम्बन्धी पाँचवटा प्रमुख विषयमा आधारित १२ वटा सत्र र तीनवटा प्लेनरी कार्यक्रम सञ्चालन हुनेछन् । परराष्ट्र मन्त्रालयका सहसचिव तथा सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, तीन सयजना विदेशी पाहुनालाई निमन्त्रणा पठाइसकिएको छ । उहाँले भन्नुभयो, ‘तयारीका धेरै पक्ष पूरा भइसकेका छन्, यद्यपि केही महत्वपूर्ण कार्यहरू अझै बाँकी छन् । धेरै पाहुनाहरूले निमन्त्रणा स्वीकार गर्न थालिसक्नु भएको छ ।’ प्लेनरी सत्रमा सहभागी देशका प्रतिनिधिहरूलाई आफ्ना विचार राख्न पर्याप्त व्यवस्था गरिएको छ । ‘यो एक-अर्काबाट सिक्ने र सिकाउने अवसर हुनेछ,’ पौडेलले बताउनुभयोे ।
कार्यक्रममा सहभागी हुन ‘सगरमाथा संवाद एप’ मा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । दर्ताका लागि सुरुमा एक गुगल फारम भर्नुपर्ने छ । मिडिया प्रतिनिधिहरूका लागि फारम भर्ने अन्तिम म्याद वैशाख २२ गतेसम्म तय गरिएको छ । फारममा नाम, संस्थाको विवरण, इमेल, प्रेस प्रतिनिधिपत्र तथा आफ्नो फोटो अपलोड गर्नुपर्नेछ । डकुमेण्टहरूको प्रमाणीकरण भएपछि संवाद सचिवालयले एप डाउनलोड गर्न लिंक सम्बन्धित व्यक्तिको इमेलमा पठाउनेछ । हाल एप एप्पल प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध भएको जनाइएको छ भने एन्ड्रोइड प्रयोगकर्ताका लागि अनुमति प्रक्रियामा रहेको छ ।
यस्ता छन् तीन दिनका कार्यक्रम
पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सगरमाथा संवादको मुख्य विषय रहने छ । यसका लागि पाँचवटा थिममा १२ वटा सेसन र तीनवटा प्लेनरी सेसन दुई दिनसम्म सञ्चालन हुनेछन् । पहिलो दिन ‘पर्वतभन्दा पर : पर्वतलाई महासागर जोड्दै’ थिममा रहेर चारवटा सेसन सञ्चालन हुनेछ । हिमनदीहरू संरक्षणको जरुरी, उच्च पहाडी भू-भागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायुअनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् । दोस्रो दिन अर्थात् जेठ ३ गते दोस्रो थिम ‘ग्रीन इकोनोमीमा सशक्त भविष्यः स्वच्छ ऊर्जाको उपयोग र पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुनेछ । हानि नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपाय थिममा हिमालको जोखिम र मूल्यांकन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन विषयमा सेसन सञ्चालन हुनेछ । त्यस्तै, चौथो थिम मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चारवटा सेसन सञ्चालन गरिनेछ ।
क्षेत्रीय तथा विश्वव्यापी साझेदारी भनेर पाँचौँ थिममा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गर्नेछन् । तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागीहरूलाई सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो १ बजे कार्यक्रम समापन हुने बताइएको छ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबीच गरिने सगरमाथा संवादको ब्यानरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच