
काठमाडौं । एमनेस्टी इन्टरनेसनलले संक्रमणकालीन न्यायलाई अघि बढाउँदा दण्डहीनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी भएको जनाएको छ । मंगलबार काठमाडौंमा विश्व मानव अधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले संक्रमणकालीन न्यायलाई अघि बढाउनका लागि महत्वपूर्ण कदम चालिएको भए पनि उक्त कदममा दण्डहीनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी रहेको जनाएको हो । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी पारित गरिएको विधेयकमा अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाने गरी अपराधहरूको परिभाषा गरिएको एम्नेस्टीले जनाएको छ । त्यस्तै, गम्भीर अपराधहरूमा घटी सजायको व्यवस्था र युद्धकालीन अपराधहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई अभियोजनबाट जोगाउने खालका जवाफदेहितासम्बन्धी गम्भीर कमजोरीहरू रहेको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिनुभयो ।
त्यस्तै, महिला र बालकालिकाविरुद्धको हिंसा, विभेदजस्ता कार्यले निरन्तरता पाएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रतिवेदनमा ‘ट्रम्प प्रभाव’ले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाउँदै गर्दा विश्वव्यापी रूपमा नै मानव अधिकार संकट पैदा हुने एम्नेस्टी इन्टरनेसनलको चेतावनी रहेको छ । १५० देशको मानव अधिकार अवस्थामा गरिएको आफ्नो मूल्यांकनका आधारमा सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवद्र्धनका लागि भएको दशकौँदेखिको मेहनतपूर्ण प्रयासलाई मेटाउने कार्य भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो
एमनेस्टीले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ । मानव अधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख छ । यसको असर नेपालमा पनि परेको जनाएको छ । ‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो, ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा देखाप¥यो ।’
उहाँका अनुसार प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएका छन् । पत्रकारमाथि कुटपिट र धम्की बढेको छ । दण्डहीनता कायम छ । महिला र बालबालिकामाथि हिंसा जारी छ । जातीय हिंसा रोकिएको छैन । थुनुवाको अधिकार उल्लंघन भएको छ । प्राकृतिक विपत् बाढी पहिरो पीडितले न्यूनतम राहतसमेत पाउन नसकेको अवस्था छ ।
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानव अधिकार संकटमा पर्ने चेतावनी
एम्नेस्टी इन्टरनेसनलले डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको दाबी गरेको छ । विश्वका विभिन्न मुलुकका मानव अधिकारको अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवद्र्धनका लागि भएको दशकौँदेखिको मिहिनेतपूर्ण प्रयासलाई मेटाउँदै र सम्पूर्ण मानव जगत्लाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तर्घुलित भएको एउटा क्रूर नयाँ युगतर्फ धकेल्दै ‘ट्रम्प प्रभाव’ले सन् २०२४ भरि विश्वका अन्य नेताहरूद्वारा भएको क्षतिलाई अझ जटिल बनाइदिएको उल्लेख गरेको छ । एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारलले वर्षैपिच्छे आफूहरूले मानव अधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारेमा चेतावनी दिँदै आएको उल्लेख गर्नुभएको छ । ‘प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्य गर्दा यो संसारका धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदांग पारिदिएको छ,’ उहाँले भन्नुभयो । थोरैको हितका लागि संसारभरि अधिनायकवादी कानुन र अभ्यासमा वृद्धि भइरहेको यस ऐतिहासिक मोडमा सरकार र नागरिक समाजले मानवतालाई सुरक्षित स्थानतर्फ फर्काउनका लागि गम्भीरताका साथ काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
‘आफ्नो दोस्रो कार्यकालको सय दिन पूरा हुँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी मानव अधिकारप्रति चरम घृणा देखाउनुभएको छ । हाम्रो संसारलाई अझ बढी सुरक्षित र न्यायपूर्ण बनाउनका लागि तर्जुमा गरिएका अमेरिकी तथा अन्तर्राष्ट्रिय संस्था र पहलहरूलाई उहाँको सरकारले छिटोभन्दा छिटो र जानाजान यस्तो निशाना बनाएको छ,’ महासचिव आग्नेस कालामारले भन्नुभयो ।
बहुपक्षीयता, शरण, जातीय तथा लैगिंक न्याय, विश्वव्यापी स्वास्थ्य र जीवनरक्षक जलवायु कार्यजस्ता अवधारणामाथि उनले गरेको व्यापक आक्रमणले यी सिद्धान्त र संस्थाहरूले पहिल्यैदेखि भोगिरहेका विशाल क्षतिलाई झन् गम्भीर बनाइरहेको जिकिर गर्दै उहाँले अन्य अधिकारविरोधी नेता तथा आन्दोलनहरूलाई समेत यस्तो आक्रमणमा सामेल हुन हौसला प्रदान गरिरहेको प्रष्ट पार्नुभयो । ‘तर, हामी प्रष्ट हुनुपर्छ, यो विकृति राष्ट्रपति ट्रम्पका कार्यहरूभन्दा धेरै गहिरो छ । हामीले वर्षौँदेखि संसारका विभिन्न देशमा विनाशको यन्त्रका रूपमा स्वेच्छाले स्वतन्त्र काम गरिरहेका आकांक्षी र निर्वाचित नेताहरूबाट फैलाइएको अधिनायकवादी अभ्यासहरूको विस्तार क्रमिक फैलिँदै गइरहेको देखेका छौँ’, उहाँले भन्नुभयो, ‘जसै यी नेताहरूले हामीलाई अशान्ति र क्रूरताको नयाँ युगतर्फ तानिरहेका छन्, यस्तो समयमा स्वतन्त्रता र समानतामा विश्वास गर्ने हामी सबैले अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मानव अधिकारमाथि चुलिँदै गएको चरम आक्रमणलाई सामना गर्न आफूलाई दृढ र कठोर बनाउनैपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच