
नेपाल र नेपालीका अवस्थामा यो लोक भनाइ सोरै आना सही साबित हुन्छ । एउटा कोही आउँछ राम्रो काम गर्छ तर उसपछि धन्नुकारी आइ नै हाल्छ र फेरि पहिले जस्तो अवस्था थियो । त्यसोभन्दा दुःखकर अवस्थामा पुग्छ देश । हुन त आफैं नमरी स्वर्ग देखिँदैन पनि भनिन्छ । पृथ्वीनारायण शाहले राम्रो काम गरे उनकै उत्तराधिकारी रणबहादुर शाह अर्धविक्षिप्त, विलासी स्त्रैण निक्ल्यो । राजराजेश्वरी र बहादुर शाहका कारण मुलुक निर्माणको अभियानले सार्थकता प्रदर्शन गरे पनि त्यसपछिका थापा पाण्डे आदिका खेल र महत्वाकांक्षाले १०४ वर्ष देश पारिवारिक प्रशासनका तुर्लुङमा परेको इतिहास प्रसिद्धै छ ।
विसं १९९३ देखि आरम्भ भएको जनताका चेष्टाले विसं १९९७ मा आएर घोर निराशा बेहोर्नुपर्ने अवस्था आयो तर मान्छे आउँछ जान्छ तर सभ्यता निर्माण र चेतनाको ज्योति अर्का पुस्ताले समातेर अघि बढ्छ भनेको जस्तै भयो । देशले नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालको परिणामदायी क्रान्ति पाएर विश्वबिरादरीका पंक्तिमा ढिलै भए पनि देश उभिन पुगेको थियो । सात आठ वर्ष अनेकौं झालेमाले गठन र विघटनका चक्रचालपछि बल्ल २०१५ सालको चुनाव भयो । जनताले क्रान्तिकारी दललाई दुईतिहाइ मत पनि दिए तर दरबार अनि भारतीय आँखा लागेर १८ महिनामै त्यो पद्धतिलाई समूल उच्छेद गराए परम्परित र नवकुलीनतन्त्रका पूजारी मिलेर ।
बहुलवादका पक्षमा बोल्दा भ्रष्टको पक्षपोषण हुने, नेता भनाउँदाको घिनलाग्दो चरित्रका कारणले अनुत्साह र घृणा वर्षन लागेका कुरालाई लिएर तित्राले झैँ चाहिँदा-नचाहिँदा कुरा गरेर सधैं अरूलाई होच्याउने, हियाउने र ठीकबेठीक उखानतुक्काको वाग्धारा चलाएर शासन चल्दैन ।
२०१७ सालबाट देश फेरि निर्दलीय नामको एक दल एक व्यक्तिका सिकञ्जामा परेर निसासिन थाल्यो । ३२ वर्षे कालरात्रि पार गर्न २०३६ का घटना पनि मुलुक र मुलुकवासीले नबेहोरी सुख पाएनन् । पञ्चायतले बिगारेको संस्कार, शिक्षा, अनुशासन आदि कुरामा बानी परेका थोत्रा बुख्याँचा अहिले फेरि टाउको उठाएर मैदानमा देखिन थालेका छन् । यसमा तीनवटा कुरा मूल रूपमा जिम्मेवार देखिन्छन् । पहिलो हो लामो बन्द समाजका कुराले पारेको प्रभावको धङ्धङी ।
दोस्रो हो बहुदलीय प्रजातान्त्रिक संघीय गणतन्त्र अनुकूल विधिव्यवहार बिर्सेर जनतालाई दास ठान्ने र शासनमा पुगेका नै नयाँ राजा बनेर आचरण र व्यवहार प्रदर्शन गर्दा जनतालाई एउटा राजा पाल्दा पुग्ने ठाउँमा पाचासौं हजार छोटे राजा पाल्नुपर्ने अनुभूति हुनु । तेस्रो हो अवसरको वितरण र रोजगारी सिर्जनाभन्दा सामन्त शैलीमा रमाउने जनताका मतबाट आएकाहरूको चरित्र र पढेका युवालाई विदेश जान बाध्य पारेजस्तो गरी पढेका युवाशक्तिलाई व्यवस्था नगर्ने सरकारी नालायक प्रवृत्ति ।
नाच्न नजान्ने आँगन टेढो
प्रजातन्त्र भनेको अवसरको समानता हो भन्ने कुरो बिर्सेर सत्ताधारीका पत्नीपुत्रले सत्तारोहण गर्ने सोपान बनाउने दलीय चरित्रका कारणले अहिलेका शासकलाई निरोसँग तुलना गर्न पुगेका छन् जनता । शिक्षकका आँखामा आँसु र अन्धकारपूर्ण जीवन बोकेर सडकमा आउँदा देशको व्यवस्थापनमा बसेको सर्वाधिकार सम्पन्न व्यक्तिका मुखबाट तिनलाई होच्याउने, हियाउने किसिमका वाक्बाण सञ्चारमाध्यमबाट सुन्नु पर्दा कसलाई दुःख लाग्दैन ? सार्वजनिक जीवनका मान्छेको आचरण न सांसदले ख्याल गरे, न मन्त्रीले न त प्रधानमन्त्री र सभापतिहरूले नै । आफ्ना, आफन्तको सातखुन माफी दिने र सगरमाथा जत्रा आर्थिक भ्रष्टाचारलाई पनि थाम्थुम गर्ने शासकीय शैलीका कारणले जनतामा भन्दा देशका युवा वर्गमा निराशा छाएको छ ।
बहुलवादका पक्षमा बोल्दा भ्रष्टको पक्षपोषण हुने, नेता भनाउँदाको घिनलाग्दो चरित्रका कारणले अनुत्साह र घृणा वर्षन लागेका कुरालाई लिएर तित्राले झैं चाहिँदा नचाहिँदा कुरा गरेर सधैं अरूलाई होच्याउने, हियाउने र ठीकबेठीक उखानतुक्काको वाग्धारा चलाएर शासन चल्दैन । त्यस्ताले मनोरञ्जन केन्द्र खोलेर कमाउन थाले भइगयो नि मतदातालाई किनेर, धम्क्याएर अनेकौं जालझेल गरेर किन सत्तामा आउनुपरेको ? भनेर ढाक्रेले पनि कुरा काट्दासम्म लज्जाबोध छैन । प्रजातन्त्रका निमित्त जनतामा गएर आएका आज जनतादेखि डराएर सेना र प्रहरीका घेराभित्र बसेर आफूलाई राम ठान्ने चरित्र पटक्क नसुहाएको देखे सबैले ।
नेताहरूमा लोली मिलाएर सत्ता भोग्ने लालसामात्र रहेको देखेर रूखका डालीमा बसेको लाटोकोसेरो पनि हाँस्छ होला । यही बहुदलीय प्रजातान्त्रिक गणतन्त्रात्मक आचरण ? सर्वोच्चले आदेश दिँदा पनि सरकार कुम्भकर्णे निद्रामा सुतेको सुतेकै छ । प्रजातन्त्रमा समानता, स्वतन्त्रता, विधिको सर्वोच्चता, जनताप्रतिको जिम्मेवारी र जनता नै देशका असल प्रभु हुन् भन्ने मानिन्छ । हालको देशका सबैभन्दा ठूला दल मिलेर बनेको सरकार पनि काग कराउँदैछ पिना सुक्दैछका नीतिमा मस्त निदाएको छ । याद राखुन् सर्वोच्चको आदेशलाई अटेर गरी गुरु र देश चलाउने सरकार दोषी ठहरिनु नपरोस् ।
यिनका चालढाल हेर्दा अब संसद्मा उठ्नका लागि पनि शैक्षिक योग्यता तोक्नुपर्ने अवस्था आएको छ । अनपढ प्रधानमन्त्रीले पढालेखा शिक्षामन्त्री फालेर अनपढ शिक्षामन्त्री ल्याएका छन् । यो भनेको ‘सधवाले विधवालाई ढोग्दा तँ पनि म जस्तै भएस्’ भनेजस्तै भएन र प्रधानमन्त्रीज्यू ? अर्थशास्त्रीय सिद्धान्तका विज्ञलाई परित्याग गरेर अर्थको ‘अ’ पनि नजानेका अर्थमन्त्री पटक-पटक बनाइन्छन् भने विश्वविद्यालय किन चाहियो ? भनेर आफ्ना झोले र पछौटेलाई नै विश्वविद्यालय भर्ने काम पनि गरेका छन् । भ्याटिगन दरबारले राजनीति गर्ने मध्ययुगीन नीति जस्तै देश र जनताभन्दा, देशका नियमकानुनभन्दा दलीयचरित्रलाई प्राथमिकता दिने प्रवृत्तिका कारणले तमाम विकृति बढेका देखिन्छन् ।
आवासीय चिकित्सकलाई सरकारले आफैंले तोकेको तलबमान उपलब्ध नगराएर सडकमा आउन विवश पारेको छ । मन्त्री प्रधानमन्त्री कसका बाख्रा चराउन जान्छन्, काम गर्न भ्याउँदैनन् ? नभ्याएको, नचाहेको नजानेको आदि मध्ये के हो ? किनभने राम्रो मान्छेले नराम्रा कुरालाई राम्ररी उपयोग गर्दछ । नराम्रा मान्छेले राम्रा कुरालाई पनि नराम्रो बनाउँछ । यसरी हेर्दा अहिलेका पात्रमा नै खराबी छ भनेर हामी सबैले बोल्ने बेला आयो ।
अभागी चाँदो कर्करी खाँदो
नेपाली जनताले विगत २० वर्षदेखि तीनजना उच्चनाम भएका तर समाजमा महाबद्नामको अनुहार हेरेर आँखाका डिलसम्म आँसु काडेर विदेश जाने युवा र घरखेत गरेर सन्तानलाई विदेश पठाउने काम गर्न विवश बन्नुपरेको छ । गरिबको सहारा ठानिएको सहकारी जेबी राई, रवि लामिछाने र दुर्गा प्रसाईं जस्तालाई झ्वाम पार्ने अवसर दिने पनि यिनै तीनजना ‘नाम उँच मुख-कान बुच’ हुन् । आज पनि यिनै ‘तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’का शैलीमा अपराध लुकाउने र अपराधी भगाउने काममा लागेका लगेकै छन् । नेपाली जनताले पनि यी देश र जनताका अपराधी यसैगरी मस्ती गर्ने हुन् भने श्रीलंका या बंगलादेशका जनताको शैली अपनाउन ढिला गर्नु नहुने भइसकेको अनुभव गरिन्छ ।
प्रजातन्त्र भनेको व्यक्ति-व्यक्तिले समग्र समुदायलाई उन्नत गराउन प्रयास गरिने पद्धति पनि हो । कानुनका नजरमा सबै समान हुनुपर्ने हो तर यहाँ त स्मगलरको वैकुण्ठ बनाउने काम गरे कांग्रेस-कम्युनिष्ट दुवैले । दुवैतिर विद्वान् सच्चरित्रवान् मान्छेको कमी छैन तर केही चतुर चलाख ठग र लुटाहा मनोवृत्तिका मान्छेका आफन्तलेमात्र मौका पाएका छन् । पिछडिएको समुदाय, अशक्त, अपांग र राष्ट्रका लागि आवश्यक प्रविधि र सोच समझ प्रदर्शन गर्ने गराउनेले भरिनुपर्ने राष्ट्रियसभालाई दलनायकका पत्नी, पुत्र, दाजुभाइ र सालासाली झोले झाम्टेले भरिएको देखिन्छ । त्यसमा पनि आफ्नो हात जगन्नाथ गर्न तीन टाउके कहिल्यै पछि परेका छैनन् ।
राप्रपाका सभापति राजेन्द्र लिङ्देनको सबै अट्ने राजनीतिक प्रस्ताव टुँडिखेलमा जादु देखाउने जादुगरको कलेजो फोक्सो प्रदर्शन जस्तै भएको छ । कांग्रेस र कम्युनिष्ट नेपालका ढुंगामाटालाई अड्याउने रसायन बनिसकेका छन् । तर, यी दुईवटै पार्टी प्रवृत्तिका कारणले जनता विकर्षित हुन लागेका छन् ।
अहिले त खशेपुलाई नै समग्र नेपालका त्रिदेव भनेर घोषण गरे अन्यथा हुँदैन । यही हो त प्रजातान्त्रिक संघात्मक गणतन्त्र ? हुन त अमेरिकाली जनताले पनि प्रजातन्त्र र मानवअधिकारलाई डोनाल्ड ट्रम्प र एलेन मस्कका हातको माखो बनाउनदिएका छन् । त्यहाँ अदालत बलियो छ तर अदालत बोलेको देखिँदैन । नेत्न्याहु, पुटिन शिशुपाल र दुर्योधनका मित्रतामा रहेका देखिन्छन् । हमास कालले कुत्कुत्याएको उत्ताउलो भएर देखिँदा विश्वको राजनीति फेरि भयानक क्रुरहरूका मुठीभित्र त जाँदै छैन भन्ने शंका उत्पन्न भएको छ । जेलेन्स्कीले ट्रम्पलाई मुखतोड जवाफ दिएर तन्नेरी स्वभाव त देखाए तर रसासँगको युद्ध बाख्रो र चितुवाको युद्ध जस्तो देखियो ।
नेपालमा पनि राप्रपाका सभापति राजेन्द्र लिङ्देनको सबै अट्ने राजनीतिक प्रस्ताव टुँडिखेलमा जादु देखाउने जादुगरको कलेजो फोक्सो प्रदर्शन जस्तै भएको छ । कांग्रेस र कम्युनिष्ट नेपालका ढुंगामाटालाई अड्याउने रसायन बनिसकेका छन् । तर, यी दुईवटै पार्टीमा विवेकभन्दा सनक, ढोङ, दम्भ, असिहिष्णुता, आफ्नो र अर्को मानेर पर्गेल्ने, आफ्नालाई जे पनि दिने सहने अर्कालाई निचोरेर मार्ने सिध्याउने प्रवृत्तिका नेतृत्वका कारणले जनता विकर्षित हुनलागेका छन् । ‘यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोतिकिम्’ ? आठ कक्षा असफल नायक जिनतिन एसएलसीको चिरकटो हात पारेको शिक्षाको उच्च पदाधिकारी हाय रे विधिको विधान हाम्रो संविधान ।
साधुलाई शूली र चोरलाई चौतारो दिन त हामीसँग संसारले सिकोस् । सामान्य मान्छेको जीवन संस्कृतिसँग प्रजातान्त्रिक शासन प्रशासन र त्यसका विधिनियमका संस्कार संस्कृति मिले भनेमात्र कुनै पनि समाज र राज्यका शासकीय प्रणालीलाई प्रजातन्त्र भन्न सकिन्छ । अहिले हामीकहाँ सामान्य मान्छे र शासन पद्धति या विधिनियमको द्वन्द्व भएको हुनाले यो प्रजातन्त्र होइन । यसलाई प्रजातन्त्र भन्नु र भैंसीलाई हात्ती भन्नु एउटै कुरो हो । गैरसंवैधानिक किसिमले नियुक्त भएका सावधिके पदाधिकारी म्याद सिध्याएर फैसला गर्ने साइत हेर्ने न्यायालयको प्रवृत्ति पनि हाम्रो प्रजातान्त्रिक संघात्मक गणतन्त्रसँग ठ्याम्मै मिलेको देखिन्छ ।
न्यायकर्मी पनि जनता र विधिमाथि अन्याय भएको चाहिँ देख्दैनन् । अति भएपछि बोल्नेले मानहानी गरेको मात्रै देख्छन् ताजुब छ यस्ता पनि कानुनची ठानिन्छन् । देश र जनतालाई कानुनदिने काम हो संसद्को तर त्यही कानुन माग्दा प्रधानमन्त्री आफ्ना भरौटेलाई पठाएर गुरु कुटाउँछन् । यस्ता कुरालाई समर्थन गर्छन् देशको सबैभन्दा ठूलो लगभग शताब्दी प्रजातन्त्रका लागि संघर्ष गरेको इतिहास भएको पार्टीका सभापति पदका लोभमा परेर । यस्तो झालेमाले रङको प्रजातन्त्र शायदै पृथ्वीकै इतिहासमा हामीलेबाहेक अरू कसैले देखेको होला । अपराधको पृष्ठभूमि भएकाहरू पटक-पटक प्रधानमन्त्री, सभामुख, किनुवा प्रमाणपत्रधारी शिक्षामन्त्री जयहोस् नेपाली जनता र नेपाल देशको ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच