
सुर्खेत । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ । अदालतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । वि.सं. २०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न रुकुम चौरजहारी पुग्नुभएको थियो । गाउँलेहरूले उहाँसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो ।
नवराज विकसहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको छ । ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा सफाइ पाएसँगै उनी पुर्पक्ष मुक्त भएका छन् । अन्य २३ जना प्रतिवादीहरू भने जातीय विभेदसँगै ज्यान मार्ने र कर्तव्य ज्यान मुद्दामा पनि दोषी ठहर भएका थिए । उच्च अदालतले उनीहरूलाई जातीय विभेद मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ गते सुनाएको जन्मकैदको फैसला सदर गरेको हो ।
जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले बताउनुभयो । ‘रुकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो, त्यो सदर भएको छ,’ उहाँले भन्नुभयो, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको छ ।’
घटनामा आठ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका वडाअध्यक्ष डम्बरबहादुर मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गर्नुभएको थियो । ०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
नवराजसँगै जानुभएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिनुभएको थियो । उहाँहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच