काठमाडौं । काठमाडौंमा विविध कार्यक्रम गरेर लेखक दिवस मनाइँएको छ । नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा एक विशेष कार्यक्रम गर्दै उक्त दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित हुनुहुन्थ्यो ।
तेस्रो दिवसको रूपमा संघले प्रत्येक दुई वर्षमा प्रदान गरिने राष्ट्रिय लेखक पुरस्कार यस वर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार-२०८२ प्रदान गरेको थियो । आख्यानकार गौतमलाई एक लाख रुपैयाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार-२०८२’ प्रदान गरिएको थियो । पुरस्कारको लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकलाई साहित्यलाई साधना मानेर काम गर्ने आग्रह गर्नुभयो ।
समीक्षक अनुपमा रेग्मीले आख्यानकार गौतमको परिचय र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । नेपाली साहित्यमा प्रखर व्यक्ति मानिने गौतमले आख्यान विधामा संख्यात्मक र गुणात्मक दुवै तवरबाट उत्कृष्ट कृति प्रकाशित गरेर साहित्यमा योगदान दिइरहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघको लोकतन्त्रका लागि लेखेका व्यक्तिलाई सम्मान गर्नु उल्लेखनीय काम रहेको बताउनुभयो । लोकतन्त्रप्रति समर्पित विद्वानहरू नै साहित्यकार रहेको भन्दै उहाँले लेखनमा लगाम लगायो भने यसले व्यक्तिलाई सिर्जनात्मक अरूलाई जागरुक बनाउने काम गर्ने धारणा राख्नुभयो । विगतमा भन्दा देशमा लेखन, कला, साहित्य, राजनीति फिल्म क्षेत्रमा राम्रो हुँदै गएको उहाँले जिकिर गर्नुभयो ।
प्रगतिशील लेखक संघका अध्यक्ष डा.देवी दुलाल क्षेत्रीले लेखक संघले गरेको कामको अन्य संस्थाले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । समाज रूपान्तरणका लागि कलमलाई निरन्तर अगाडि बढाउनुपर्ने भएकोले लेखक संघहरू एकजुट भएर लाग्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।
त्यस्तै साहित्यकार वैरागी काइँलाले नेपालमा साहित्यकार र लेखक सावधानी बान्नुपर्ने अवस्था आएको बताउनुभयो । आफूले मुलुकमा राष्ट्रियता अभाव देखेको र यसलाई प्रभावकरी बनाउन लेखक तथा साहित्यकारको ठूलो भूमिका रहेको उहाँको भनाइ थियो ।
आयोजक संघका अध्यक्ष वियोगी बुढाथोकीले लोकतन्त्र बचाउन लेखकहरू पनि एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । अन्यभन्दा आफू फरक र फराक हुन चाहेकोले संस्थाहरूबीच सहकार्य गर्न जुरी रहेको भन्दै आफूले विशिष्ठ व्यक्तिहरूबाट सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो ।
यही अवसरमा संघले देशका लब्ध-प्रतिष्ठित ३२ लेखक साहित्यकारलाई मानार्थ सम्मान गरेको छ । जसमा साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा.बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमांगराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मीठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेल रहनुभएको थियो ।
राणाकालमा काठमाडौंका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन् छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउँदै आएको हो । संघले भने २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका महासचिव सोझो गाउँलेले जानकारी गराउनुभयो । संघले उपत्यकामा मात्र नभएर जिल्ला र प्रदेशमा पनि लेखक दिवस मनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि