
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नौ नेताहरूले बुधबार एक सार्वजनिक आहृवान गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने बेला भएकाले निषेधको राजनीति परित्याग गर्दै प्रजातान्त्रिक एवं देशभक्त राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन नेतृत्वदायी भूमिकाका लागि कांग्रेस नेतृत्वसँग आग्रह गरेका छन् । यद्यपि उनीहरूले राजाको नाम भने कतै उल्लेख गरेका छैनन् ।
नेपाली कांग्रेसले समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै आवश्यक परे पार्टीको महासमिति वैठक वोलाएर निर्णय लिनसमेत ती नौ नेताहरूले माग गरेका छन् । उनीहरूले जारी गरेको सामूहिक वक्तव्यमा भनिएको छ, ‘राष्ट्रमाथि मडारिएको संकटको बादल र त्यसको चुनौतीको जटिल अवस्थामा देशका सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय एकताको आधारमा राष्ट्र, राष्ट्रिय अखण्डता र नेपाली जनताको सर्वोपरी हितलाई ख्याल गर्दै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको छ ।’
सामूहिक वक्तव्य जारी गर्नेमा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वशिक्षामन्त्री कुलबहादुर गुरूङ, पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, पूर्वमन्त्री विपीन कोइराला, कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, पूर्व प्रमुख सचेतक विनयध्यज चन्द, पूर्वमन्त्री दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री रामचन्द्र अधिकारी, पूर्वराज्यमन्त्री सुरेन्द्र हमाल र कांग्रेस नेता लोकेश ढकाल हुनुहुन्छ । गुरुङ पहिलो संविधानसभामा ज्येष्ठ नागरिकका हैसियतले सभाध्यक्ष हुनुहुन्थ्यो । उहाँकै नेतृत्वको सभाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको घोषणा गरेको हो ।
उनीहरूले देशमा निराशा र दुरावस्थाको कारण राजनीतिक दलहरू नै रहेको ठहर पनि गरेका छन् । उनीहरूले वक्तव्यमा भनेका छन्, ‘बढ्दो धार्मिक, सांस्कृतिक एवं सामाजिक विकृति र विसंगतिहरूले हाम्रो आपसी सामाजिक एवं धार्मिक सहिष्णुता र सद्भावको वातावरणलाई विथोल्ने काम भइरहेको छ । देश यस्तो चरम निराशा र दुरावस्थामा पुग्नुको प्रमुख जिम्मेवार लामो समयदेखि सत्ता शक्तिमा रजगज गरेर वसेका राजनीतिक दल र यसको नेतृत्व हो भन्ने हाम्रो ठहर छ ।’
उनीहरूले पार्टीको तर्फबाट आत्मालोचना गर्दै कांग्रेसले अप्ठ्यारो घडीमा नेतृत्वदायी भूमिका खेल्न चुकेको जिकिर गरेका छन् । ‘नेपाली कांग्रेस विगत लामो समयदेखि सिद्धान्त र विचारको राजनीति छोडेर केवल सत्ता र शक्तिका लागि अप्राकृतिक गठवन्धन एवं सम्झौताको राजनीति गर्दै आए पछि यसले विगतको जस्तो राष्ट्रिय राजनीतिमा त्यो ऐतिहासिक गौरवशाली नेतृत्वदायी भूमिका निर्वाह गर्न चुक्दै आएको छ,’ उनीहरूले भनेका छन् ।
उनीहरूले विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने बेला भएको ठहर गर्दै निषेधको राजनीति परित्याग गरेर प्रजातान्त्रिक एवं देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन पनि कांग्रेस नेतृत्वसँग माग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच