काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको प्रचार–प्रसार तथा प्रकाशन विभाग र टीम आईटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनीयरिङ एण्ड साइन्स कलेजको सभाकक्षमा वैशाख १३ गते आयोजित कार्यक्रममा ‘पार्टीको प्रचार–प्रसारमा एआईको प्रयोग : वर्तमान र भविष्य’ शीर्षकमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ इन्जिनीयर अस्गर अलि र एसोसिएट प्रोफेसर डा. इन्जिनीयर समीर खरेलले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिनुभयाे । इन्जिनीयर अलीले ‘हाल नेकपा एमालेले प्रयोग गरिरहेको आईटी र एआईसम्बन्धी जानकारी’ र इन्जिनीयर खरेलले ‘इम्पावरिङ पोलिटिकल लिडरशिप विथ साइबरसेक्युरेटी एण्ड एआई : टुल्स फर ट्रष्ट, इफिसेन्सी एण्ड इन्फ्लुयन्स’ शीर्षकमा प्रशिक्षण दिएको बागमती प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष समेत रहेका विभाग प्रमुख सरोजमोहन लामाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार प्रशिक्षकद्वय अली र खरेलले हातहातमा स्मार्ट फोन पुगिसकेको वर्तमान अवस्थामा त्यसको स्मार्ट प्रयोग गर्नुपर्नेमा जोड दिनुभयाे । फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप, एक्स, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालमार्फत विभिन्न सूचना सुरक्षित र प्रभावकारी ढङ्गले कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा उनीहरूले सहभागीलाई जानकारी दिनुभयाे । यस्तै, उहाँहरूले सूचना प्रविधिको उच्चतम विकास भएको अहिलेको युगमा सामाजिक सञ्जालबाट प्राप्त गरिने भ्रामक, मिथ्या र कपोलकल्पित सूचना, समाचार र भिडिओलाई चिन्ने र त्यस्ता सूचनाहरूको शिकार हुनबाट बच्ने विधिहरूबारे पनि जानकारी दिनुभएकाे छ ।
एमालेको एप्लिकेशन कति सुरक्षित ?
प्रशिक्षण कार्यक्रममा प्रशिक्षक अस्गर अलीले हाल नेकपा एमालेले प्रयोग गरिरहेको मोबाइल एप्लिकेशन ‘सीपीएन (यूएमएल)’ र वेबसाइट सुरक्षित रहेको भन्दै ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नुभयाे। बहुआयामिक एप र वेबबाट पार्टीका नेता, कार्यकर्ता र साधारण सदस्यहरूले समेत व्यापक फाइदा लिनसक्ने उहाँको भनाइ थियो । अलीका अनुसार पार्टीले लिएको नीति, सञ्चालन गरिरहेका गतिविधि, नेतृत्वका विचार, सङ्गठित सदस्यताको विवरण हेर्न, प्रत्येक सङ्गठित सदस्यले आफ्नो विवरण आफैंले भर्न पाउनेलगायत विभिन्न सुविधा एप्समा रहेका छन् । त्यसको व्यापक रूपमा प्रयोग गरी पार्टीलाई जनतामाझ पुर्याउन उहाँले सुझाव दिनुभयाे ।
अबका दिनमा नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्न नसके पार्टीलाई घाटा हुने र त्यसको असर आगामी आम निर्वाचनमा समेत पर्नसक्ने चेतावनी उहाँले दिनुभएकाे छ । ‘अब एप्स प्रयोग गर्ने, पार्टीका आधिकारिक स्रोतहरू पहिचान गर्ने, पार्टीका विविध गतिविधि शेयर गर्नेतिर सबै लाग्नुपर्छ,’ उहाँले भन्रुभयाे, ‘सबैभन्दा महत्वपूर्ण कुरा त हामीले आफ्ना कुरा अरुले लेखिदेलान् कि भनेर भर पर्न छाडिदिउँ, आफैं लेख्ने गरौँ ।’ उहाँले चुनावका बेला अन्य देशका नेताहरूले सामाजिक सञ्जालको उपयोगितालाई आत्मसात् गरिरहेका सान्दर्भिक उदाहरणहरू समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
अर्का इन्जिनीयर डा. खरेलले साइबर सुरक्षाका विषयमा प्रशिक्षण दिँदै एआईको प्रयोगबाट सञ्चालन भइरहेका विभिन्न च्याटबट र एआई टुल्सको रचनात्मक उपयोग गरेर पार्टीले भरपुर फाइदा उठाउन सक्ने बताउनु भयाे । ‘राजनीतिमा डाटाहरूको सही उपयोग गरेर वैज्ञानिक ढङ्गले परिस्थितिको विश्लेषण गर्न सकिने अवस्था छ,’ उहाँले भन्रुभयाे, ‘त्यसका लागि सूचना प्रविधिमा प्रयोग हुने उपकरणहरूका बारे जान्नु र सदुपयोग गर्नु आवश्यक छ ।’ उनले सामाजिक सञ्जालको प्रयोगले साइबर अपराध भइरहेको हुँदा प्रयोगकर्ताले बलियो पासवर्ड राख्नु, गोपनीयतालाई ख्याल गर्नु, सामग्री शेयर गर्नुअघि सही सूचना पत्ता लगाउनु, विषयवस्तु चिनेर मात्र लिंकहरूमा क्लिक गर्नु नै सूचना प्रविधिको उपयुक्त उपयोग भएको उहाँको भनाइ थियो ।
मनमोहन अधिकारीको तस्बिरमा माल्यार्पण
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डितले प्रजातान्त्रिक योद्धा मनमोहन अधिकारीको तस्बिरमा माल्यार्पण गरी सुरू गरिएको प्रशिक्षण कार्यक्रममा युनिभर्सल इन्जिनीयरिङ एण्ड साइन्स कलेजका संस्थापक तथा बागमती प्रदेश सम्पर्क कमिटीका सदस्य आरसी कँडेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
बागमती प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष एवम् प्रचारप्रसार तथा प्रकाशन विभाग र आईटी टीमका प्रमुख सरोज मोहन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य सरस्वती बस्नेत, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीलगायत अतिथि हुनुहुन्थ्याे ।
कार्यक्रममा बागमती प्रदेश सम्पर्क कमिटीका साथै मातहतका दशवटै जिल्ला सम्पर्क मञ्चका पदाधिकारीहरूको सहभागिता थियो । विभागीय सचिव वेद राना मगरले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच