आवश्यकता, चेतना र प्राण-वायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो । यो यन्त्रको आवश्यकता उपभोग्य, उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो । आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो-चिसो स्पर्शद्वारा पत्ता लगाउँछ । अनि यो यन्त्र सञ्चालन गर्ने ड्राइभर हो-प्राणवायु, जसलाई आध्यात्मिक दर्शन गीता आदिमा भनिएको छ । आत्मा यसको स्थितिको बारेमा यसरी वर्णन गरिएको छ ।
न जायते मिचते वा कुदा चित
नायम् भुत्वा भाविता ना नभूय ।।
अजो नीत्यः शश्वतोडयम् पुराणे
नहन्यते हन्यमाने शरीरे ।।
तथा
वासाँसी जीर्णानि यथा विहाय
नवानि गृहातिं नरो पराणि ।।
तथा शरीरणि विहाय जीर्ण
न न्यानि संयाति नवानि देही ।।
मानव सृष्टिमा सर्वोत्कृष्ट सृष्टिका रूपमा स्थापित भएको छ । यसमा अलग राय छैन । यसको वास्तविकता आध्यात्मिक दर्शनमा बताएजस्तो हो या नास्तिक दर्शनमा बताए जस्तो हो । सत्य तथ्य वैज्ञानिक र प्रत्यक्ष प्रमाण कतै र कुनै पनि छैन । आ-आफ्नो विश्वासमा आधारित छ । अर्को कुरा-प्रकृतिद्वारा सम्पूर्ण रूपमा व्यवस्थित यो मानवरूपी प्राणी समाजविना उत्पत्ति जन्म जीवन-जीवन विकास नहुने-मृत्युपछि मात्र समाजबाट मुक्त हुने भएकाले मानवलाई सामाजिक प्राणी भनिएको छ र यसको समूहलाई समाज ।
२०१५ सालको आमनिर्वाचनमा दुईतिहाइ बहुमत नेपाली कांग्रेसको आयो । बीपी कोइरालाको नेतृत्वमा सरकार निर्माण भयो । यो सरकारले जातीय, वर्गीय, धार्मिक आदि र आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा विकसित भेदभाव, भिन्नता अन्त गरी समता, एकता, स्वतन्त्रताको शक्ति, सम्पत्तिको विकास, सन्तुलित समताको वितरणले अभाव, दबाबमुक्त समाजवादी समाजउन्मुख अगाडि बढाउने नीति अगाडि सारेको थियो ।
‘सम्बन्धरूपी सूत्र-जाल समाज’ भन्ने समाजशास्त्रीहरूको मत छ । आधार नभइकन आधेय सम्भव छैन । सूत्र (धागो) नभइकन जाली बन्दैन । सूत्र (धागो) के हो ? आवश्यकता र चेतनाका तन्तु (धागो) समाज निर्माणका आधार हुन् । आधार आवश्यकता र चेतनाका तन्तु हुन् भने आधेय समाज हो । आवश्यकता, चेतना जन्म, जीवन, जीवन विकास र सामाजिक सम्बन्धमा आधार हुन् । यिनको अभावमा प्राणवायु पनि रहँदैन, मानव शरीर जड हुन्छ र सामाजिक सूत्रजालबाट पनि ऊ छुट्दछ । सम्पूर्ण मानव अर्थात् समाजको गति र स्थिति यही हो-समान छ । अर्को हुनै सक्दैन । मानव विज्ञान पूर्णरूपमा एकताको छ । विज्ञान भिन्न हुन सक्दैन, समान हुन्छ र मानव विज्ञान पनि समान छ । एउटा फ्याक्ट्रीबाट एउटै मोडलमा निस्केको गाडी भिन्न नभए झैँ मानव पनि भिन्न छैन, समान छ ।
समता मानव समाजको विज्ञान हो । पृथिवीको कुनै कुनामा किन नजन्मोस् किन नबढोस्, आकार प्रकार अंग-प्रत्यंग काम-कर्म आदि सबै समान छ । जन्म-मृत्यु सबैमा छ । समता सामाजिक विज्ञान हो । समाज समताको वैज्ञानिक सिद्ध सूत्रमा नै आधारित छ भने समाजमा यति ठूलो भिन्नता किन ? यो भिन्नता समाज विज्ञानद्वारा विभाजित भिन्नता होइन । यो सब भिन्नता मानव विज्ञान होइन, मनोवाद विचारमा आधारित भिन्नता हो । मानवकृत कृत्रिम अवैज्ञानिक आधारमा आधारित विकसित भिन्नता हुन्छ । धनी, गरिब, जात, विजात, धर्मी, विधर्मी, हिन्दु, इस्लाम, कृश्चियन वाद र वादी, गान्धी, माक्र्स, पुँजी आदि वाद र वादी, ब्राहृमण, क्षत्रीय, वैश्य, शुद्र जात-जाति इत्यादि कुनै प्राकृतिक र वैज्ञानिक होइनन्, विज्ञानमा आधारित छैनन् । व्यक्तिको मनोवाद, विचार, दर्शनका उपज हुन् । सही मनोवाद, विचार, दर्शनलाई मनोविज्ञान मानिएको छ । यो विज्ञान होइन, विज्ञान भए सबैमा एकता हुनु नै भिन्नता छ ।
समाजमा विद्यमान जातीय, वर्गीय, धार्मिक आदि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रहेका विषमताहरूको अन्तले एकताका साथै समानले स्वतन्त्रता पनि समाजमा आउँछ । समता, एकता, स्वतन्त्रताको संगठित समाजमा शक्ति र सम्पत्तिको विकास हुन्छ । अनि अभाव र दबाबमुक्त समाजको सिर्जना हुन्छ । अभाव, दबाबमुक्त, एकता, समता र स्वतन्त्रता भएको समाज नै समाजवादी समाज हो । अभाव, दबाबमुक्त, एकता, समता र स्वतन्त्रताको विचार नै समाजवादी विचार हो ।
२००७ सालको सशस्त्र क्रान्तिद्वारा सामन्ती, जनविरोधी राणाशासनको अन्त र आधुनिक युगमा नेपालको प्रवेशपछि दूरदर्शी चिन्तक बीपी कोइरालाले सुवर्णजी, गणेशमानजी र अन्य साथीहरूसँग छलफल, विचारविमर्श गरी नेपाललाई समाजवादी सिद्धान्त, उद्देश्यको बाटोबाट अगाडि बढाउने निर्णय गर्नुभएको थियो । २०१२ सालको नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनमा सुवर्णजीद्वारा यो प्रस्ताव राखिएको थियो र छलफलपछि सर्वसम्मतिले पारित भएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा दुईतिहाइ बहुमत नेपाली कांग्रेसको आयो । बीपी कोइरालाको नेतृत्वमा सरकार निर्माण भयो । यो सरकारले जातीय, वर्गीय, धार्मिक आदि र आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा विकसित भेदभाव, भिन्नता अन्त गरी समता, एकता, स्वतन्त्रताको शक्ति, सम्पत्तिको विकास, सन्तुलित समताको वितरणले अभाव, दबाबमुक्त समाजवादी समाजउन्मुख अगाडि देश र समाजलाई बढाउने क्रान्तिकारी नीति, कार्यक्रम अगाडि सारेको थियो । केही कार्यान्वयन पनि भइसकेका थिए । प्रधानमन्त्री बीपी कोइरालाले नेपाल र नेपालीलाई मध्यमखाले अर्थतन्त्रबाट अघि बढाउँछु भनेर घोषणा गर्नुभएको थियो । सिंगापुर, मलेशिया र दक्षिण कोरिया आदि देशहरू स्रोतसाधनका दृष्टिले नेपालभन्दा पछाडि भए तापनि शक्ति र सम्पत्तिको विकासले अहिले कहाँ पुगेका छन् । नेपाल कहाँ छ ? कुन संकटमा छ ? अझै राजनीतिक निहित स्वार्थका कारण कहाँ पुग्ने हो ?
नेपाल र नेपालीको दुर्भाग्य बीपी कोइराला र उहाँको सरकारले काम गर्न पाएन । १८ महिना पुग्दानपुग्दै सामन्ती राजा महेन्द्रले सैन्यशक्ति प्रयोग गरी जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी पार्टीहरूमाथि प्रतिबन्ध लगाए । सबलाई जेल हाले । प्र्रजातन्त्रको स्थापना, प्रजातान्त्रिक समाजवादी बाटोबाट देशलाई अगाडि बढाउने अठोट २०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ बहुमतको बीपी कोइरालाको नेतृत्वमा गठित नेपाली कांग्रेसको सरकारले अगाडि सारेका क्रान्तिकारी समाजवादउन्मुख देशलाई विकासमा अघि बढाउने नीति कार्यक्रम यी सबको क्रमबद्ध विकास रोकिएको थियो । जनताका अधिकार खोसिएका थिए । देश पुनः पछि फर्केको थियो । सुवर्ण शमशेरजी कलकत्ता गएको समय परेकाले उहाँ जेल पर्नुभएको थिएन । जेल पर्नबाट बचेका नेता कार्यकर्ता भारतको पटनामा जम्मा भई सम्मेलन गरे । सम्मेलनले प्रजातन्त्र पुनस्र्थापनाको माग राखेर सुवार्णजीको नेतृत्वमा सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो ।
प्रजातन्त्रको स्थापना, प्रजातान्त्रिक समाजवादी बाटोबाट देशलाई अगाडि बढाउने अठोट २०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ बहुमतको बीपी कोइरालाको नेतृत्वमा गठित नेपाली कांग्रेसको सरकारले अगाडि सारेका क्रान्तिकारी समाजवादउन्मुख देशलाई विकासमा अघि बढाउने नीति कार्यक्रम यी सबको क्रमबद्ध विकास रोकिएको थियो । जनताका अधिकार खोसिए र देश पुनः पछि फर्कियो ।
२०१८ को अन्ततिर नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गरेको थियो । देशका विभिन्न भागमा स्वतन्त्रताका संग्रामी पुगेका थिए । आन्दोनको सुरुवातमात्र भएको थियो, भारत र चीनबीच युद्ध सुरु भयो । चीनका परराष्ट्र मन्त्रीको वक्तव्य आयो, ‘नेपालमाथिको आक्रमण चीनमाथि भएको सम्झिनेछ’ । नेपाली कांग्रेसले गम्भिरताका साथ सोचेर यही बाहनामा नेपाललाई पनि चीनले तिब्बत बनाउन सक्छ भन्ने ठानी क्रान्ति स्थगित गर्यो ।
नेपाली कांग्रेसका नेता बीपी कोइरालाले नेपाली कांग्रेसको माध्यमले नेपाललाई समाजवादी बाटोबाट अगाडि बढाई नेपाली समाजको सामाजिक न्यायमा आधारित सम्पन्न र शक्तिशाली नेपाल निर्माण गर्न सुरु गर्नुभएको थियो । राजा महेन्द्रको एकाधिकारवादी तानाशाही पञ्चायती शासनले यो वैज्ञानिक समाज विज्ञानमा आधारित विकासको बाटोबाट अघि बढ्ने क्रमभंग गरेको थियो ।
२०४६ मा गणेशमानजीको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भयो । अनि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित राजा, वाम र कांग्रेस सम्मिलित सरकारले एक वर्षभित्र संविधान निर्माण गर्यो र २०४८ मा आमनिर्वाचन गराएको थियो । यो निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आएकोले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । यो सरकारले वर्षाैं पहिले नेपाली कांग्रेसले नै अघि सारेको वैज्ञानिक समाजवादको बाटो विकसित समय-परिस्थिति अनुसार नीति कार्यक्रम निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने थियो, सो भएन । २०६२/०६३ को जनआन्दोलनपछि प्राप्त नेपालको संविधानको भावनाअनुसार कुनै पनि पार्टी चल्न नसकि आज देशमा विभिन्न आन्दोलनहरू भइरहेको छ, जस्तै : शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन आदि ।
देश र जनतालाई केही फाइदा भएको छैन, हानिमात्र भएको छ । न देशमा पुँजीवादी व्यवस्था आउन सक्यो, न समाजवादी । दलाल पुँजीपति, दलाल पुँजीवादले मुलुक र जनता संकटमा छन् । देशको विकास हुनसकेन । विदशीले बनाइदिएका अर्बाैं मूल्यका उद्योगहरू सिन्कीको मूल्यमा बिक्री गरी हजारौं मजदुरी गरेर जीविकोपार्जन गरेका नागरिकहरू रोजीरोटीविहीन भए । फाइदा कमिसन खानेलाई मात्र भयो होला, अरू कसैलाई भएन । वैज्ञानिक मानवीय सिद्धान्तमा आधारित व्यवस्थाको माध्यमबाट देश र जनतालाई शक्ति, सम्पत्ति सम्पन्न बनाउन संघर्षशील पार्टीहरू गलत बाटोमा हिँडिरहेका छन् । अतः राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि नेपाली जनतामा आर्थिक क्रान्ति आउन अनिवार्य छ । देशभित्रका राजनीतिक शक्तिहरूबीच सकारात्मक सहकार्य भई संस्कृति निर्माण र समाजवादी यात्रा तयको लागि बीपीको विचारले आज पनि प्रेरित गरिरहेको छ । सोबाटो नबिराई अगाडि बढेमात्र लोकतन्त्र जस्ता दिवसको सार्थकता भई राष्ट्रको हित हुनेछ । (शास्त्री पूर्वमन्त्री तथा समाजवादी चिन्तक हुनुहुन्छ ।)







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा