
प्राइम मिनिस्टर संसदीय प्रणालीमा जहाजको क्याप्टेन हो, धेरै अख्तियारी र धेरै निर्णायक शक्ति बोकेर हिँडेको हुन्छ, जहाजलाई कतातिर लैजाने भन्ने निर्णय पनि उसैको हातमा हुन्छ । अहिले विकल्पको बारेमा न सोचेका छौँ, न चिन्तन गरेका छौँ तर अहिलेको यही अवस्थाको निरन्तरताको निम्ति र सरकारले डेलिभरी गरेन भने हामी सधैँभर यसरी नै सोचिरहन्छौँ भन्ने हुँदैन
सरकारको काम गराइबारे निरन्तर आलोचना गर्दै आउनुभएका नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले सरकारको विकल्प नभए पनि काम गराइको शैली परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । विगत तीन महिनादेखि देशका विभिन्न गाउँ, शहरमा पुगेर फर्किनुभएका महामन्त्री थापाले नागरिकको असन्तुष्टि चिर्न अहिलेको काम गराइले नपुग्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा महामन्त्री थापाले सरकारले आफ्नो कार्यशैली बदल्न नसके सरकारको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने बताउनु भयो । सरकारको टाउको एमालेको भएपनि शरीर काँग्रेसको भएकाले जसको ठूलो शरीर छ त्यसैलाई चोट धेरै लाग्ने आफूहरुले बुझेको बताउनु भयो । धेरै क्षति व्यहोरेर राजनैतिक समझदारी टिकाउन नसकिने बताउनु भयो । तर काँग्रेसले अहिले नै यसबारे केही नसोको उहाँको भनाइ छ । सरकारको काम गराइको आलोचना गर्दा गठबन्धन नै परिवर्तन गर्न लाग्यो भनेर नबुझ्न आग्रह गर्नुभयो । महामन्त्री थापाले लिडर अफ डे र गभर्मेण्ट अफ द डे प्रधानमन्त्री हुने र आफू नै जहाजको क्याप्टेन हो भन्नेकुरा बिर्सन नहुने बताउनु भयो । प्रस्तुत छः न्युज एजेन्सी नेपालले महामन्त्री थापासँग गरेको कुराकानीको सम्पादित अंश ।
केही महिना यता देश दौडाहमा हुनुहन्छ, कस्तो छ देश-दुनियाँको खबर, के भन्छन् जनता ?
म पार्टीको कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरुमा ठूलो उत्साह देखेको छु, ऊर्जा पनि छ उत्सव जस्तो छ । नाचगान छ,जुलुस भेला छ । तर म यतिमै सिमित भएर आएको भए उत्सव रौनक छ, जताततै भन्ने भाव बोकेर आउँथे होला । तर मैले बाहिर यस्तो देखेपनि भित्र पत्रपत्र खोेलेर हेर्दा अरु पनि धेरै कुरा छन् र मैले बुझ्ने प्रयास गर्नपर्छ भनेर सचेततापूर्वक म गएको ठाउँमा मैले रात बिताएँ । पार्टीको तल्लो तहमा काम गर्ने र पार्टी बाहिरका साथीहरुसँग पनि अन्तरक्रिया गरेँ । शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरु, निजी क्षेत्रका साथीहरुलगायत विभिन्न पेशाका साथीहरुसँग कुरा गरेँ र यसबाट मैले साझा देखेको कुरा एकै ठाउँमा राखेर हेरेँ । म पहिला पहिला समाजमा निराशा छ भन्थेँ तर यसबाट मैले निराशा छ भन्न छोडेँ । समाजमा असन्तुष्टि, बेचैनी हो भन्ने पुष्टि भयो । निराशा र असन्तुष्टिमा फरक छ । निराशा भनेको आशा मरिसकेको, अब केही पनि हुँदैन भनेर हातखुट्टा छोडेको । तर असन्तुष्टि भनेको कस्तो किसिमको भाव हो भने त्यो छटपटाहट, व्याकुलता । जे भइरहेको छ त्यसबाट सन्तुष्ट नभएको किनकी त्यो भन्दा राम्रो हुनुपर्थ्याे भन्ने ठानेको र यो भन्दा राम्रो हुन सक्थ्यो भन्ने उसलाई लागेको, मैले यो पाएको छु । यो भन्दा अझै राम्रो गर्न सकिन्थ्या किन भएन ? भन्ने खालको छ, यसलाई राजनीतिक नेतृत्वले, प्रशासनिक नेतृत्वले नकारात्मक रुपमा नलिएर यो नै ऊर्जा बन्न सक्छ भन्ने ठान्यौ भने यो मौका पनि हो फेरि । असन्तुष्टिलाई एकदम छिटो सन्तुष्टिमा बदल्न सकिन्छ । त्यसैले म चाहीँ मिश्रित भाव बोकेर आएको छु । म उत्सव, रौनक मात्रै देखेर आएको छैन त्यहाँ भित्र भएको बैचैनी, व्याकुलता, असन्तुष्टि पनि देखेर आएको छु । काठमाडौंमा बसेर सबैतिर निराशा छ भनेर भन्ने कोशिस गरिरहेको छ त्यस्तो होइन । थुप्रो कुराहरुको बदलाव भइरहेको छ तर राष्ट्रियस्तरमा भइरहेका घटनाहरु तथा त्यसको भाष्यका कारणले गर्दा सिर्जित भएको एउटा भाव छ यसलाई चिर्न सकिन्छ भन्ने एउटा खालको यो मिश्रित भाव बोकेर म फर्किएर आएको छु ।
दुई ठूला दलको सरकार हुँदा पनि निराशा किन, उही प्रवृत्ति किन दोहोरिएको ?
मैले अलि अगाडिको एउटा प्रसंग स्मरण गराउँछु । प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी सत्ता साझेदारीमा यात्रा गर्दै थियौँ । मैले संसदमा उभिएर उहाँलाई भनेको थिएँ कि प्राइम मिनिस्टर भनेको संसदीय प्रणालीमा जहाजको क्याप्टेन हो । सबैलाई बुझाउनुपर्छ सबैको आफ्नो भुमिका हुन्छ तर यति धेरै अख्तियारी र यति धेरै निर्णायक शक्ति हुन्छ जहाजलाई कतातिर लैजाने भन्ने उसैले निर्णय गर्छ । तपाईं के सोच्नुहुन्छ, प्राथमिकत के हो ? तपाईंको ध्यान के हो ? यसमा निर्भर गर्छ । तपाईंलाई सुभेक्षा पनि र खबरदारी पनि छ भनेको म सम्झिन्छु । त्यसको केही समयपछि संसदमै उभिएर उहाँलाई भनेँ, तपाई कति धेरै फुर्सद हो ? कतिपय कार्यक्रमको निम्तो आउँदा म भ्याउँदिन भनेर म गइनँ । तर मैले नभ्याएको कार्यक्रममा तपाई प्रमुख अतिथि भएर जानुभएको छ वा तपाई प्रमुख अतिथि भएको कार्यक्रम मैले भ्याइनँ । कति धेरै फुर्सद हो ? मैले किन सम्झाएको भने अहिले मात्रै होइन त्यतिबेला पनि सत्तासाझेदारी दलको एउटा जिम्मेवारीमा थिएँ । म प्रधानमन्त्रीसँग नजिक पनि थिएँ, मद्दत पनि गरिरहेको थिएँ मेरो कर्तव्य पनि थियो । तर हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरोस् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उस्ले अरुकुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीहरुमा छटपटी भैरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन । जे मन लाग्छ बोलेको छ, कता हिँडेको हो थाहा छैन । वर्षौंसम्म समय उपलब्ध छ भनेको जस्तो ठानेको छ ।
आफैँ सत्ता साझेदार दलको नेतृत्वदायी भुमिकामा रहेको व्यक्ति, अझ सरकार सञ्चालनको लागि सघाउन बनेको संयन्त्रको सदस्य, यस्तो आलोचना गर्न सुहाउछ ?
मैले बेलाबेलामा राख्ने प्रश्नहरु सरकार असफल बनाउँ यसलाई न्याकौँ भनेर होइन । हिजो प्रचण्डको सरकार सफल बनाउन खोजियो तर बिँड तात्यो ताप्के तातेन के गर्ने ? ठ्याक्कै अहिले पनि त्यस्तै भइरहेको छ । हामीमा जुन छटपटाहट छ तर जिम्मेवारी बोकेकाहरुमा त्यो स्तरको छटपटाहट छ कि छैन भनेर प्रष्ट गरेको । त्यसकारण मेरो ठाउँबाट गर्नै पर्ने प्रश्न गरेको हो भन्ने लाग्छ । बाहिरबाट एक ठाउँमा छ यस्तो प्रश्न गर्दा असहज लागिरहेको पनि होला । यो कुरा मैले किन भनेको भने समय फेर्ने हो भने म नेकपा एमालेसँगको सत्ता साझेदारीमा छु प्रधानमन्त्री फेरिनु भएको छ । तपाईंले उठाउनुभएको प्रवृत्तिको कुरासँग जोडेर भनेको तर अहिलेको सन्दर्भमा उठाएको होइन । जतिखेर जिम्मेवारीमा छौँ त्यतिबेला पूरा गर्न चाहन्छौँ । म अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सफल होस् भन्ने चाहन्छु । र म यो सरकारलाई सफल बनाउन मेरो ठाउँबाट हरसम्भव प्रयास गरिरहेको छु र गर्छु ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनि अरु नेताहरुको सार्वजनिक अभिव्यक्तिले राजनैतिक वृत्तमा दोधार र अलमल देखाएको छ, सरकारमा बसेर सरकारको बिरोध जस्तो ?
नेपाली काँग्रेस पार्टीले बाइ च्वाइस नै राजनीतिक समझदारीमा साझेदारीमा प्रवेश गरेका हौँ । पछिल्लो समयमा काँग्रेसले आर्जन गरेको प्रतिष्ठा भनेको कुनैपनि सत्ता साझेदारीको मार्गमा प्रवेश गरिसकेपछि काँग्रेसले बेइमानी गर्दैन, उबाट त्यस्तो बेइमान हुँदैन भन्ने हो । कम्तीमा प्रतिष्ठा गुमाउन चाहँदैनौँ । त्यसको मूल्यमा कहिलेकहीँ चुकाउनुपर्ने अवस्था पनि आउला तर पनि हामी सचेत छौँ । हाम्रो कारणले सरकार तलमाथि हुँदैन भन्ने कुरामा हामी सचेत छौँ । तर हामी के कुरामा चिन्तित छौँ भने सरकार टिक्यो तर बिकेन भने त सबैभन्दा ठूलो मूल्य हामीले चुकाउनुपर्ने हुन्छ । काँग्रेसका अहिलेको साथीहरुको चिन्ता भनेको सरकार टिकोस् र टिकाउन लाग्छौँ । तपाईंले अलि कन्फ्युजनको कुरा गर्नुभयो यसले पनि सुनिएको होला कि गगन थापा, महामन्त्री विश्वप्रकाश शर्माहरु सरकारप्रतिको धारणा के हो ? के उनीहरु सरकार टिकाउन चाहँदैनन् ? पटक्कै होइन, पार्टीले गरेको समझदारी वा निर्णयभन्दा तलमाथि छँदैछैनौं । हामीलाई मन्त्री हुनुपनि छैन सरकारको दैनिकी खेलमा पर्नु पनि छैन । हामी सरकार सफल बनाउनु छ भने त्यो खेलमा लाग्ने कुरै भएन । तर यो सरकारको भ्यालु पनि बढ्नु पनि पर्यो भन्नेकुरा हो । सरकारप्रति विश्वसनीयत बढ्नु पर्यो । किनभने ठूलो शरीर त हाम्रो छ नि । हामीले यत्रो सरकार बोकेर हिँडेका छौँ । टाउको जसको भएपनि शरीर त हाम्रो हो नि, लड्यो भने बढी घाउ त हामीले खान्छौँ नि । त्यसैले यो सकारको विश्वसनीयता बढोस्, सरकारको रेटिङ बढोस् धन्यवाद दिने शुभेक्षा दिने मान्छेको संख्या बढोस् भन्ने चिन्ता हो हाम्रो । फ्याक्टमा बढिरहेको छैन । अब यसलाई ढाकछपोप गरेर लुकाएर राख्ने कि, के गर्ने भनेर चिन्तन गर्न चाहन्छौँ । जस्ले गर्दा परिणाममा सरकार टिकोस् पनि बिकोस् पनि । र यसको फाइदा नेपाली काँग्रेसलाई पनि होस् भन्ने हाम्रो चिन्ता यसमा हो ।
यो सरकार गठन हुनुअघि जे-जे समस्या थिए सत सबै ज्युँका त्युँ छन् घटेका छैनन्, अझ थपिएका छन्, यस्तो अवस्थामा काँग्रसको जिम्मेवारी के, प्रधानमन्त्री मात्रै, एमाले मात्रै जिम्मेवार हुनुपर्ने हो र ?
आज यहाँ देखिएका थुप्रै समस्याहरु यो सकराले सिर्जना गरेको होइन । तर उ के भनेर आएको हो भने यो भन्दा अगाडिको सरकारले, परिवन्धले, नेतृत्वले हाम्रा शैलीले जेजे कारणले सिर्जना भएका समस्याहरु हल गर्ने जोखिम उठाउँछु, तागत पनि राख्छु त्यसको परीक्षण होस् भनेर आएको सरकार हो नि त यो । त्यसैले हामीले पनि ज्यान फालेर सहयोग गरेको हो । यो विषयमा केही महिना शंकाको सुविधा पनि पाएकै हो प्रारम्भमा । प्रारम्भमा जसले असन्तुष्टि व्यक्त गर्नुभयो त्यतिखेर त्यो सानो थियो आग्रहको साथमा थियो किनभने त्यो भर्खर शुरु भएको थियो । त्यो बेलामा सबैले शंकाको सुविधा दिएको हो । हामीले पनि तात्तिएको पनि हो । जस्तो उदाहरणका लागि तपाईंले शिक्षक कर्मचारी आदिको उदाहरण दिनुभयो, हामीले ठिक समयमा ठिक निर्णय लिएर काम गर्न सकिरहेको भए अहिले यिनै साथीहरुले के भनिरहेका हुन्थे भने मेरो वर्षौंदेखिको समस्याहरु थिए यो सरकार आएपछि यसले मेरो समस्या सुन्यो, बुझ्यो र अगाडि बढायो भन्ने अवस्था हुन्थ्यो, यिनै विधेयकहरुको सन्दर्भमा ।
म अहिले पनि सम्झिन्छु कि पार्टीको नेताहरुको बैठकमा मैले प्रश्ताव लिएर गएको कतिवटा विधेयक बनाउनु पर्छ ? कति दिनभित्र बनाउ सकिन्छ ? कुन तरिकाले बनाउन सकिन्छ भनेर छलफल गरेको कुराहर म सम्झन्छु । शुरुमा त्यतातिर हाम्रो ध्यान पनि पुग्यो नेतृत्वको पनि । सबैले के महशुस गरेको अवस्था भयो भने हामी एउटा ठूलो राजनीतिक जिम्मेवारी बोकेर वाचा गरेर आएका छौँ भन्ने भयो । अलि पछाडी सुविस्ताको महशुस गर्न थाल्यो, हामीसँग बहुमत छ कसले हल्लाउँछ र भन्या जस्तो भयो । अर्को कुरा धेरै पत्र नकेलाउँ तपाईंले भने जस्तो ठिक कुरा भन्नुभयो नि एउटा सामान्य रुपमा गर्नुपर्ने नेतृत्वमा गर्नुपर्ने निर्णयहरु समयमै नगर्दाखेरि त दर्जनौ प्रश्नहरु आए नि त, समस्याहरु आए । यहाँ भएका प्रश्नहरुको त उत्तर दिएर प्रश्न घटाउनुपर्ने ठाउँमा हामी कुनै मन्त्रालयको वा कुनै संस्थाको नेतृत्वको लागि निर्णय गरेर अनावश्यक प्रश्नहरुको भारी बोक्न पुग्या छौँ । अहिले गर्नुपर्ने निर्णय नगरेर प्रश्नको भरी बोक्नुपर्ने अवस्थामा पुगेका छौँ । हाम्रो लिडरसिपसँगको असन्तुष्टि भन्नुस् वा तनाव बढेको यिनै कुराहरुले हो । तर यो काम हामीले गर्ने होइन, कस्ले गर्ने भन्दा लिडर अफ डे, गभर्मेन्ट अफ द डेले गर्छ, प्रधानमन्त्री भनेको ताप्के हो, मन्त्रिपरिषद्को नेतृत्व उसले गर्छ । यस्ता कुराहरु समयमा नगर्दा समग्र गठबन्धनमाथि नै वा हामीप्रति नै विश्वासको ठूलो प्रश्न आएको छ भन्नेकुरा नबुझिदिँदा समस्या आयो । हामी कस्तो अफ्ठ्यारोमा छौँ, तपाईंले अघि भन्नुभएको जस्तो अब मैले भनिरहेको कुरा कतिलाई लाग्न सक्छ कि आफँै जिम्मेवारीमा बस्ने अनि आफैँ प्रश्न गर्ने, हामीसँगै रिस उठ्छ । हामी जिम्मेवारीमा छौँ गराउन खोजिरहेका छौँ, भइरहेको छैन । अब के भन्ने त ? जिम्मा लिन पनि सकिँदैन किनभने हामी आफैँले गर्ने होइन । गुनासो नगरौँ प्रश्न नगरौँ भन्यो भने पनि हामी के गरिरहेका छौँ भनेर बताउनुपर्ने पनि भयो । हामी अनावश्यक समस्यामा परिरहेका छौँ ।
नेपाली काँग्रेसको आन्तरिक राजनीतिले गर्दा सरकारलाई काम गर्न अफ्ठ्याराे परेको त होइन ?
मलाई यस्तो लाग्छ, जस्तो नेपाली काँग्रेस पार्टीसँग गठबन्धन गर्ने सबै दलले के कुरा बुझ्दाखेरि दललाई सजिलो हुन्छ भने काँग्रेसको आफ्नै खालको बनावट छ, संरचना छ । यहाँ भित्र संख्याको मात्रै कुरा पनि हुँदैन । योसँग काम गर्न केही कुरामा सहज पनि छ र केही कुरामा ध्यान पनि पुर्याउनु पर्छ । अहिले म र अर्को महामन्त्री दुवै जना हाम्रो सभापतिलाई मद्दत गरिरहेका पनि छौँ र मद्दत पुर्याउन पनि चाहन्छौँ, सभापतिसँगको सम्बन्धलाई थप सहज बनाउन चाहन्छौँ । हिजो प्रचण्डजी सरकार हुँदै गर्दा नेपाली काँग्रेससँगको सम्बन्ध काँग्रेसलाई डिल गर्दाखेरि केही अप्ठ्याराहरु थिए किनकी हाम्रो भित्रको सम्बन्ध सहज थिएन, उहाँले भन्नुहुन्थ्यो काँग्रेसका को-कोसँग डिल गरौँ भनेर । अहिले फरक छ, एमालेको नेतृत्वलाई सहज छ वास्तवमा । काँग्रेसभित्रको शक्ति सन्तुलन संर्घषको कुराले गर्दा जहाँसम्म हाम्रो कुरा छ, अहिले सरकार सञ्चालन गर्नेले केही पनि अप्ठ्यारो महशुस गर्नु पर्दैन, हिजो यस्तो थिएन । हाम्रो कुरा कसरी बुझिदिनु पर्यो भने गभर्मेन्ट्सको कुरा, डेलिभरीका कुरा भयो, सार्वजनिक वृत्तमा सरकारको प्रशंसा गर्न पायौँ भने हामी भन्दा ठूलो प्रचारक अरु कोही पनि हुँदैन ।
काँग्रेसमा यस्ता खालका परिस्थिति छन् कि मैले ठिक निर्णय गरेँ भने मेरो पार्टीले भन्दा पनि काँग्रेसको मान्छेले प्रशंसा गर्छ । तपाईलाई म स्मरण गराऔँ, केही समय अगाडि सरकारले गति लिँदै गर्दा हामीले सरकारको प्रशंसा गर्दा के आलोचना खेपिरहेका थियौँ भने तपाईहरु एमालेसँग भोलि प्रतिष्पर्धा गर्नुपर्छ भन्नेकुरा बिर्सिराख्नुभएको छ, तपाईंहरु केपी ओली भन्दा पनि ठूलो चाहीँ केपी ओलीको प्रशंसक हुनुभयो भन्ने खालका कतिपय ठाउँमा आरोप लाग्यो तर त्यसले केही पनि फरक पारेन । अहिले पनि हामी त्यही गर्न चाहन्छौँ, सरकार सञ्चालन गर्ने मान्छेको यदि धेरै प्रशंसा गर्न पाइयोस् कामको व्याख्या गर्न पाइयोस् भन्ने छ । हामीले बनाएको शैली नै यही हो । यो पार्टीभित्रको डाइनामिक्स बुझिदिनु पर्छ, यो नबुझिदिँदा षड्यन्त्र पो गर्यो कि । अस्तिसम्म मेरोबारेमा राम्रो भन्थ्यो अहिले किन नराम्रो भन्न थाल्यो ? कहीँ कतै साँठगाँठ पो भयो कि ? यसरी भन्ने अवस्था बन्दो रहेछ । हिजो प्रचण्डलाई पनि त्यो लाग्यो । अहिलेको प्रधानमन्त्रीलाई पनि त्यो कुरा लाग्न सक्छ । हामी कसरी सोच्छौँ भन्नेकुरा नबुझिदिँदा पनि त्यो समस्या भयो भन्ने ठान्छु ।
तपाईंहरु सबैभन्दा ठूलो दल, यो सरकारले डेलिभरि दिएन भने अर्को डेलिभरि दिनसक्ने सरकार किन नबनाउने, जनतालाई सहजता दिन नसक्ने निष्कर्ष हो भने सरकारको विकल्प सोच्न सकिँदैन ?
तपाईंसँग कुरा गरिरहेको यो क्षणसम्म व्यक्तिगत रुपमा पनि र पार्टीको संस्थागत हिसावमा पनि हामी एमालेसँग गरेको समझदारीको विकल्प खोज्नुपर्छ भन्ने कुराको प्रारम्भिक चरणमा पनि छैनौँ । मैले अघि पनि भनेँ कि गरेको राजनीतिक समझदारीप्रति इमान्दार हुने र त्यसलाई कार्यान्वयन गर्ने जुन हामीले प्रतिष्ठा आर्जन गरेका छौँ, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौँ । अहिले त्यस्तो खालको विकल्पको बारेमा न सोचेका छौँ, न चिन्तन गरेका छौँ न हामीबीचमा कुनै छलफल नै गरेका छौँ । तर अहिलेको यही अवस्थाको निरन्तरताको निम्ति के हुनैपर्छ भन्नेकुरा हो भने सरकारले डेलिभरी गरेन भने हामी सधैँभर यसरी नै सोचिरहन्छौँ भन्ने त हुँदैन । र हामी त्यस्तो खालको कुनैपनि अवस्था नआओस् भन्ने चाहन्छौँ । यो बेलामा हाम्रो तपाईंले जति प्रश्न उठाउनु भयो त्यसमा सोचेका पनि छैनौँ सोच्ने अवस्था पनि नआओस् भन्ने हामी चाहन्छौँ । हाम्रो अहिलेको एउटै शर्त भनेको नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारले केही जोखिम उठाउनु पर्यो सुशासनको सन्दर्भमा, आर्थिक क्षेत्रमा ल्याउने सुधारका सन्दर्भमा, मानिसहरुमा भएको बेचैनीलाई कम गर्ने बाटोतफै उद्यत छ भन्ने उसलाई महशुस गराउनु पर्यो आफ्ना एक्शनहरुबाट । अहिलेलाई यत्तिनै खोजेको हो ।
सरकारमा काँग्रेसले पठाएको प्रतिनिधिहरुको कारण काम गर्न नसकेको होकि, त्यसरी पनि त हेर्नुपर्ला नि होइन, यदि सघाउने, डेलिभरि दिने शर्तमा ?
त्यो हो भने उहाँले खुला भन्नुपर्यो । जसरी हामी भनिरहेका छौँ कि हामीलाई तपाईंले काम गरेको चित्त बुझेको छैन, गति पनि चित्त बुझेको छैन । कतिपय निर्णय चित्त बुझेको छैन । शुरुमा यसले लय पक्रेको थियो तर त्यसलाई निरन्तरता दिन सकेन । अझै पनि समय छ सम्हाल्न सक्ने ठाउँ छ । तर जे गरिरहेको छ परिणाम आउँदैन तरिका बदल्नुपर्यो भनेर भनिरहेका छौँ । हाम्रो बारेमा त्यस्तो केही कुरा छ भने भन्नुपर्यो हामी छलफल गर्न तयार छौँ ।
अब के र कसरी गर्ने ?
बिट मार्ने बेलामा पहिलो प्रश्नसँग जोडेर भन्छु । म अहिले गाउँठाउँ जाँदै गर्दा आज तपाईंसँग प्रश्नोत्तर भएजस्तै साथीहरुसँग कुराकानी हुन्छ । भएन भन्नुहुन्छ, म सुन्छु आफ्नो कुराहरु भन्छु । अन्तिममा गएर कसरी टुङ्ग्याउँछौँ भने तपाईले भएन भनेको कुरा मैले सुनेँ, तपाईंको कुरासँग म सहमत छु । तर यसको आजको दिनमा हामीसँग भएको उपलब्ध उपचार र उपयुक्त उपचारको बाटो भनेको अहिले जे भइरहेको छ यसलाई सच्याउनुपर्छ । यसलाई सुधार गर्न लगाउनु पर्छ । सच्चिएन भने के गर्ने भन्नेबाटै त्यो दुविधाका साथ सच्याउने कुरा त्यो सच्चिँदैन । अहिलेका लागि यो सच्याउने हो । काम गर्ने तरिका, शैली, आचरणमा सुधार ल्याउने हो । यसको प्राथमिकतामा सुधार ल्याउने हो । यसमा फोकस गर्ने, यसमै काम गर्ने हो । तर त्यसका लागि शुरुवात कहाँबाट गर्नुपर्यो भने जे भइरहेको छ ठिक भइरहेको छैन यो भन्दा राम्रो हुनसक्छ भन्ने जुन असन्तुष्टि नागरिकको तहमा हामीले कुरा गर्यौँ हामीसँग पनि त्यो असन्तुष्टि छ, असन्तुष्टि नै सुधारका निम्ति प्रारम्भ हो असन्तुष्टि छ भन्ने कुराबाट शुरु गर्नुपर्यो । यही बाट जानुपर्छ भनेर भनेका छौँ अहिलेका लागि यहाँसम्म मात्रै सोच्नुपर्छ भन्ने ठान्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच