धादिङ । नुवाकोटका किसानहरुलाई अहिले स्ट्रबेरी टिप्न र बिक्री बितरण गर्न भ्याइनभ्याइ भएको छ । वैशाख महिना सुरु भए लगत्तै नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रमा किसानहरुले उत्पादन गरेको स्ट्रबेरी टिप्न र बिक्री बितरण गर्न भ्याइनभ्याइ भएको हो ।
उक्त स्थानमा यस वर्ष५० करोडको हाराहारीमा स्ट्रबेरी बिक्री हुने किसानहरुको अनुमान रहेको छ । अहिले स्टाब्रेरी टिप्ने र बजारमा पुर्याउने काम भइरहेको ककनीका २८ वर्षीय किसान छेसाङ तामाङले बताउनुभयो । छेसाङले छ रोपनीमा स्ट्रबेरी खेती गर्नुभएको छ । छेसाङले जस्तै चार सयभन्दा बढी कृषक ६ वर्षदेखि स्ट्रबेरी खेती गर्दै आईरहेको उहाँको भनाई छ ।
ककनीको काठमाडौंतर्फ फर्किएको पूरै भागमा स्ट्रबेरी टिप्ने, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने काम भइरहेको छ ।
ककनीस्थित काउलेकी मंगली तामाङले चारआना जग्गाबाट सुरु गरेको स्ट्रबेरी खेती अहिले एक रोपनीमा बिस्तार गर्नुभएको छ। नौ वर्षदेखि स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा ३० देखि ५० हजारसम्म बचत हुने गरेको छ । कात्तिकदेखि वैशाखसम्म उत्पादन हुने स्ट्रबेरी ककनीको काहुले, हिलेभित्ते र चित्रेमा राम्रो भइरहेको छ ।
उहाँहरूले कम्तीमा एक रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गर्नुभएको छ । वैशाखदेखि असोजम्म पुरानो बिरुवाको पात टिप्ने, नयाँ बिरुवा र जग्गा तयार पार्ने काम हुन्छ ।
विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा स्ट्रबेरीको उत्पादन बढी हुने उनीहरूको भनाइ छ । ककनीमा २०४६ मा जापानी सहयोग नियोग (जाइका) अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही बिरुवा रोपेर परीक्षण थाल्यो । तर, पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती विस्तार भएको हो । अहिले धेरैजसो किसान आफैं बिरुवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ । ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत बजारमा लाने गरेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा एक लाख सात हजारको ४२४ किलो स्ट्रबेरी आयात भएको छ, तर निर्यात शून्य छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन लाख ४९ हजारको एक हजार ९९२ किलो स्ट्रबेरी आयात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात शून्य देखिए पनि ककनीको उत्पादन सिजनमा उत्पादनको २० प्रतिशत स्ट्रबेरी भन्सार छलेर भारत निर्यात हुने गरेको अनुमान छ ।
दिनको सातदेखि आठ हजार किलो स्ट्रबेरी उत्पादन हुन्छ । त्यसका आधारमा नुवाकोटको पकेट क्षेत्रमा ६ महिनामा १४ लाख ४० हजार स्ट्रबेरी उत्पादन हुने अनुमान छ । पहिले स्ट्रबेरीका बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम गरिरहेको लघु उद्यमी संघ नुवाकोटका अध्यक्ष गीता थापाले बताइन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…