
दक्षिण एसियाली सहयोग संगठनका दुई छिमेकीहरू युद्धको अन्तिम तयारीमा छन् । भारत र पाकिस्तानको यो युद्ध तयारीको दृश्य सार्वजनिक हुँदै गर्दा कुनै पनि बेला मिसाइलले गरेको विनाशका खबर सम्प्रेषित हुने अनुमान गर्न कठिनाइ छैन । भारतीय राज्य जम्मुकश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणको प्रतिकार गर्न र त्यसको प्रतिशोध लिन भारतीय सरकार, सेना र सम्पूर्ण राजनीतिक शक्ति गोलबद्ध देखिएका छन् । आतंकवादको समर्थन गरेको भन्ने भनाइलाई पाकिस्तानले तर्कपूर्ण खण्डन् गर्न सकेको छैन । आतंकवादको पक्षपोषण जस्तो देखिनेगरी पाकिस्तानी सेनापतिदेखि त्यहाँका राजनीतिक नेताहरूको मन्तव्य र चुनौती समाचारमा दिनहूँ देखिँदैछ । विस्तारै सन् १९७१ कोे भारत-पाकिस्तान युद्ध र बंगलादेशको निर्माणको नियती दोहोरिने गरी पाकिस्तानको बलुचिस्तानको दृश्यगोचर हुनलागेको छ । दीर्घकालीन युद्ध तयारी गर्नेक्रममा अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत यतिखेर आ-आफ्ना पक्षमा गराउने रणनीति भारत र पाकिस्तानको देखिन्छ ।
दक्षिण एसियाका न्यूक्लियर पावर भारत र पाकिस्तानबीच हुने युद्धको गम्भीर असर नेपाल, बंगलादेश वा श्रीलंका जस्ता छिमेकमा रहेका देशहरूलाई निश्चित रूपमा पर्ने देखिन्छ । तर, दुर्भाग्यबस अरू सबैभन्दा बढी असर पर्ने नेपालको सरकार र प्रतिपक्ष भने आ-आफ्नै डम्फू बजाउन व्यस्त देखिन्छन् । उनीहरूमा छिमेकमा बल्न लागेको युद्धको ज्वालाप्रति कुनै भाव पैदा भएको देखिँदैन । छिमेकीहरूका बीच हुनलागेको युद्धले पार्ने आर्थिक प्रभाव, सामरिक प्रभाव, सांस्कृतिक प्रभाव, अन्तर्राष्ट्रिय सम्बन्धका सन्तुलनमा हुने फेरवदलबारे नेपालको सत्ता र प्रतिपक्षलाई कुनै चासो-चिन्ता छैन । कमसेकम दुवै छिमेकीसँग यो गम्भीर परिस्थितिबारे संवाद गर्ने व्यग्रता पनि देखिएन । कुवाको भ्यागुतोले देख्ने ठाउँ कुवाबाहेक हुनै सक्दैन भन्ने कथनको चरितार्थ नेपाली संसद्मा देखिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले संसद्मा प्रकट गर्नुभएको कथन अतार्किक छैन । दुईतिहाइको अहंकार पालेर बसेको वर्तमान महागठबन्धनभित्र विकसित अहंकारको बेलुन फुटेको उहाँको विश्वास छ । पुष्पकमल दाहालको नेतृत्वमा रहेको गठबन्धनसत्तालाई विस्थापित गरी दश महिना पहिले सुरु भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यको यात्राप्रति दाहालको यो आक्रोश अत्यन्त स्वाभाविक छ । प्रमुख प्रतिपक्षको लोकतान्त्रिक धर्म र संस्कार भनेको नै एकातिरबाट सरकारलाई हर बिन्दुमा सचेत गराउने, अर्कातिरबाट हरेक गौंडामा अड्काउने नै हो । विगत दुई दशकको संसदीय अभ्यासमा पारंगत माओवादीका अध्यक्ष यी दुवै सूत्रहरूको प्रयोग गरिरहनु भएको छ ।
सरकारप्रतिको यो आक्रोश माओवादीको आत्मश्लाघा वा आत्मतुष्टिभित्र नै सीमित हो भन्ने यथार्थतालाई सबैले बुझेका छन् । अहिलेका दिनमा नेपाली कांग्रेस, एमाले वा माओवादीसहितका आजका राजनीतिक मसीहाहरू सबैको राजनीतिक बेलुनमा प्वाल परिसकेको छ र जनताको आक्रोश निरन्तर छताछुल्ल भइरहेको छ । यत्ति हो त्यो जनआक्रोशलाई संगठित गराउनसक्ने शक्तिशाली संयन्त्र निर्माण भएको छैन र निकट भविष्यमा त्यस्तो कुनै संयन्त्र निर्माण हुने संभावना पनि देखिँदैन । यसैकारण सत्तामा रहेका हुन् वा प्रतिपक्षमा बसेका हुन् एकअर्कालाई आरोपित गर्दै राजनीतिक रूपले प्वाल परेको बेलुनमा सवार भएर गठबन्धन रूपी बेलुनको प्वालतर्फ चोरी औंला ठड्याइरहेका छन् ।
वर्तमान गठबन्धनको अवधारणा एक समर्थ र कमसेकम निरन्तर चचहुई नगर्ने सरकार बन्नुपर्छ भन्ने थियो । राष्ट्रिय चरित्र स्थापना गर्ने, कमसेकम अनियन्त्रित र अपारदर्शी आर्थिक व्यवहार अन्त्य गरी राष्ट्रलाई तीव्र विकासतर्फ अग्रसर गराओस् भन्ने थियो । पुराना आर्थिक अपचलनबारे स्पष्ट रूपमा अनुसन्धान गरी सही वा गलत छुट्याउने विश्वसनीय आधार खडा गरोस् भन्ने थियो । सत्तामा पुग्नासाथ आफन्तको पोषणमा नलागोस्, उचित मानिस उचित ठाउँमा अर्थात् योग्यम् योग्यायको अभ्यास गरोस् र राजनीतिक परिवर्तनप्रति जनताको विश्वास बढाओस् भन्ने थियो । अन्तर्राष्ट्रियस्तरमा समेत एक बलियो सरकारले लोकतन्त्रका मूल्यहरूलाई आमरूपमा स्थापित गर्दै नेपालको भविष्य सुनिश्चित गर्ने विश्वास जगाओस् भन्ने चाहना त्यस समय प्रकट भएको हो । संसद्मा तेस्रो र चौथो शक्तिको चाकाचुलीमा देश बन्धक भइरहने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने सोचले पहिलो शक्ति र दोस्रो शक्ति मिलेर संसद्को पाँच वर्षे कार्यकाल पूरा हुनुपर्छ भन्ने सोच अत्यन्त सकारात्मक थियो ।
तर, पुष्पकमल दाहालले भन्नुभए जस्तो शासकीय अहंकारबाट सत्तामा बस्नेहरू यति उन्मत्त भएका छन् कि उनीहरूमा सदाकाल नै सत्तामा रहने विश्वास जाग्रत भएको छ । आजका कुनै पनि मन्त्री वा पदासीनहरूमा घमण्डको पारो त्यतिकै बढेको छ । भोलि जनतामा पुग्नुपर्ने अनिवार्य प्रक्रियाको अन्त्य भएजस्तो उनीहरूको हाउभाउमा अनुभव हुन्छ । त्यो भन्दा पनि ०६३ को परिवर्तनयता भएका ठूला आर्थिक अपचलनका काण्डहरूबारे बोल्नु, तिनलाई पर्गेल्नु र स्वच्छ आर्थिक व्यवहार अनुशीलन गर्नु त परै रहेको छ, उल्टै तिनमा ढाकछोप गर्ने, सत्ताविनिमयको पासा फ्याक्ने काम तीव्र देखिन्छ ।
२० वर्षको अवधिमा सातजना व्यक्तिहरू प्रधानमन्त्री भएका छन् । दोहोरिएर र तेहोरिएर तीनजना देउवा, ओली र दाहालले सत्ता लिनुभएको छ । सबै जनासँग गठबन्धनको पिंजरामा बसेको अनुभव छ । संघीय लोकतान्त्रिक गणतनत्र बाँडी चुँडी अर्थात् लुछाचुँडी अर्थात् लुटपाट चुँडी हो भन्ने सिद्धान्त स्थापित गदै सबै गठबन्धन चल्दै आएका छन् । डा.बाबुराम, माधवकुमार, झलनाथ यसमा अछुतो रहनुभएको थिएन । खिलराजको समयको लक्ष्य केही फरक थियो । यो लहरमा राख्नु उचित हुन्न होला ।
प्रश्न के हो भने वर्तमान गठबन्धनको बेलुन फुटेपछि के पुष्पकमल दाहालबाट हुनसक्ने सम्भावित गठबन्धनको बेलुन भने इस्पाती हुने कुनै सिद्धान्त सुनिश्चित छ ? गठबन्धनका बेलुन फुटाउन माहिर पहिलो अनुहार अरू कसैको थिएन स्वयं माओवादी अध्यक्ष दाहालकै थियो । उहाँ स्थान र साथ परिवर्तन गर्न, उपयोग गर्न माहिर हुनुहुन्छ भन्ने कुरा त ०५२ देखिको सशस्त्र हिंसा र त्यसभित्र मञ्चित खेल अनि ०६३ पछि सत्ताका लागि देखिएका फरक रंगरूपका आवरणहरूको अध्ययन हुन बाँकी रहे पनि सबैका सामु प्रत्यक्ष छ । अहंकारको पारो सबैमा व्यापक छ । सत्तामा आसीनहरूमा त सर्वाधिक हुने नै भयो । हाम्रो आग्रह छ : यतिखेर क्षेत्रीय सन्तुलनमा समेत गम्भीर सन्देह उत्पन्न भएको अवस्थामा नेपाली राजनीतिक नेताहरू कुवाभित्र बसेर कुवाको मात्रै साइज नाप्ने काम बन्द गरुन् । देश र जनताको हित कसरी सुरक्षित हुन्छ तत्काल सामूहिक विमर्श सुरु गरुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच